प्रधानमन्त्री र अर्थमन्त्रीले आज संसदमा जवाफ दिने

-



     सफल आवाज    
     असार २ गते २०७९ मा प्रकाशित



काठमाडाैं, २ असार । प्रतिनिधिसभामा रक्षा मन्त्रालय, अर्थ मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालयसँग सम्बन्धित विषयमा प्रधानमन्त्री र सम्बन्धित मन्त्रीले जवाफ दिन यही आजका लागि समय निर्धारण गरिएको छ ।

हिजाेको बैठकमा ती मन्त्रालय र निकायकासमेत जवाफ दिइसकिने समय तोकिएकामा राति ९ः३० बजेसम्म चलेको बैठकपछि सभामुख अग्निप्रसाद सापकोटाले उक्त जानकारी गराए।

शोक प्रस्ताव पारित

हिजाेको बैठकले पूर्वमन्त्री मिथिला चौधरीको निधनप्रति शोक प्रस्ताव पारित गरेको थियाे।

सभामुख सापकोटाले प्रस्तुत गरेको उक्त शोक प्रस्तावलाई बैठकको सर्वसम्मतिले पारित गरेको हो । बैठकमा दिवङ्गत चौधरीको निधनप्रति शोक प्रकट गर्दै एक मिनेट मौन धारणसमेत गरिएको थियो ।

नेपाल कम्युनिष्ट पार्टी(संयुक्त)बाट विसं २०७० को संविधानसभा सदस्य निर्वाचनमा समानुपातिक सदस्यमा निर्वाचित, पूर्वजनसङ्ख्या तथा वातावरणमन्त्री, हाल नेकपा(माओवादी केन्द्र)सँग आबद्ध रहेएकी दिवङ्गत चौधरीको ५७ वर्षको उमेरमा गत जेठ २७ गते उपचारका क्रममा भारतको नयाँ दिल्लीमा असामयिक निधन भएको थियो ।

प्रतिनिधिसभाका बैठक आज दिउँसो १ बजेका लागि तोकिएको छ ।