पत्रकारको पारिश्रमिक समस्या जिउँकातिउँ, एउटा निष्कर्षमा पुग्छौं : अध्यक्ष खड्का(भिडियाे)

-



     आरजू विष्ट सल्यानी    
     असार ५ गते २०७९ मा प्रकाशित



पोखरा, ५ असार । न्युनतम पारिश्रमिक निर्धारण समितिकी अध्यक्ष संगीता खड्काले आफ्नो कार्यकालमा पत्रकारको तलब, सेवा सुविधाका बारेमा सबैको साथ र सहयोग लिएर अगाडी बढ्ने प्रतिवद्धता व्यक्त गरेकी छन् ।

म समितिमा बसेर अहिले नै चमत्कार गर्छु भनेर भन्दिन तर पत्रकारका मुद्दाहरुको विषयमा जानकार रहेकोले समस्याहरुको गाँठो फुकाउने काम राष्ट्रिय, प्रदेश र स्थानिय स्तरमा तहगत रुपमा छलफल चलाउँदै जाने प्रतिवद्धता व्यक्त गरेकी छन् ।

समितिले नेपाल पत्रकार महासंघ कास्कीको संयोजनमा आईतबार पोखरामा आयोजना गरेको श्रमजिवी पत्रकार ऐन कार्यान्वयनको अवस्था, चुनौती र भावी रणनीति विषयक प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथि खड्काले भनिन्, हामी मुद्दाका लागि सधैं मुद्दा मात्रै बनाई रहन नदिन सचेत छौं । केहि दिनमै मिडिया मालिकहरुसंग बस्ने र पत्रकारको पारिश्रमिकका बारेमा एउटा निष्कर्ष निकाल्ने बारेमा तयारी गरिरहेको बताईन् ।

पोखरामा दिईएका सुझावहरुलाई अधिकतम रुपमा लागू गराउनको लागि आफु लागिरहेको र यो लडाँईमा सबैको साथ पाउने आशा व्यक्त गरिन् । उनले भनिन, म मेरोतर्फबाट पत्रकारका तलवमान, नियुक्तीपत्र लगायतका समस्याका बारेमा काम गर्छु भनेर लागेको छु यही सकिन भने तपाँईहरु समक्ष आएर सकिन भन्नेछु ।

२७ वर्ष अगाडी बनेको ऐनमा अहिलेसम्म परिवर्तन भएको छैन । पत्रकारको पारिश्रकिमका बारेमा तलबको सिफारिसबाहेक अन्य कार्यहरु गर्न बन्देज लगाएको उनले सुनाईन ।

खड्काले समितिले बुझाएको प्रतिवेदनमा साविकको २४ हजारमा बढाएर ३० हजार पुर्याउन भनिएको थियो तर लार्गू गरिएको छैन भनिन् । सामान्य मजदुरले १२०० बढी दैनिक ज्याला लिने गरेको देखिएको छ, पत्रकारहरुले ३० हजार देखि ४० हजार सम्मको माग गर्नु जायज भएको बताईन ।

खड्काले सरकारलाई पुनः तलबमान बारेमा सिफारिस पठाउने बताईन । तर उनले सरकारले समितिले गरेको सिफारिसलाई कार्यान्यन गर्नमा चुनौती रहेको बताईन । हामीले अर्काको पीर मर्काका बारेमा लेख्छौं तर आफ्नो पीडाका बारेमा न लेख्न न कसैलाई भन्न सकेका छौं । अब सबै मिलेर आवाज उठाउने र अधिकार लिने पक्षमा उभिन आग्रह गरिन् । उनले आफ्नो कार्यकालमा पत्रकारको सेवा सुविधाका लागि डटेर काम गर्ने प्रतिवद्धता व्यक्त गरिन् ।

समितिका पूर्व अध्यक्ष गोविन्द आचार्यले कानुन बनेको २९ वर्ष पुग्दा पनि सरकारले कार्यान्वयनमा चासो नदिएको बताए । प्रत्येक समितिले आआफ्नो सिफारीस सरकारलाई बुझाएका छन् तर त्यसको कार्यान्वयन भएको छैन । एउटा पत्रकारको तलब सरकारी खरदार, मुखियाको जति पनि छैन । उनले भने, सरकारले समिति बनाएर पत्रकारको तलब सिफारीस गर्नेसम्मको अधिकार दिएको छ तर कानुनमा त्याभन्दा अरु अनुगमन, कारबाहि लगायतका कार्य गर्ने बाटो बन्द गरेको बताए ।

आचार्यले यो समस्या लामो समयदेखि रहिरहेकोले अब पत्रकार महासंघ, न्यूनतम पारिश्रमिक निर्धारण समिति, पत्रकार, मिडिया मालिक सबैसंगको सहकार्यबाट निचोडमा पुग्नुको विकल्प नभएको बताए । उनले न्युनतम पारिश्रमिक नदिने मिडियालाई राज्यबाट दिईने कुनै पनि सुविधामा कटौती गर्न सकिने अवस्था कायमै रहेकोले यसमा सबैको हातेमालो आवस्यक भएकोमा जोड दिए ।

कार्यक्रममा उपस्थित पत्रकारहरुले समितिले सिफारिस गरेको तलव नदिएको, रातो प्रेसपास नविकरण र बनाउन समस्या भएका बताए । समितिले अब मिडिया मालिकसंग र कार्यरत पत्रकार मजदुरसंग छुट्टाछुट्टै छलफल गरेर एउटा निचोडमा पुग्न समितिका अध्यक्ष खड्कालाई सुझाव दिए ।

नेपाल पत्रकार महासंघ कास्कीका उपाध्यक्ष रामप्रसाद तिमिल्सिनाले संचालन गरेको कार्यक्रमको अध्यक्षता नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारीको अध्यक्षतामा भएको थियो ।