भारतलाई ३६४ मेगावाट बिजुली बेचिरहँदा ६४.४ प्रतिशत नेपाली उद्योग जेनेरेटरको भरमा

-



     सफल आवाज    
     असार ६ गते २०७९ मा प्रकाशित


तस्वीर : गूगल


काठमाडौं, ६ असार । नेपाल उद्योग परिसंघले नेपालका उद्योगहरुको औद्योगिक गतिविधिको अध्ययन गरेर औद्योगिक अवस्थिति प्रतिवेदनको तेस्रो अङ्क सार्वजनिक गरेको छ ।

चालू आर्थिक वर्ष २०७८/७९ को दोस्रो त्रैमासिक अवधिमा उत्पादनमूलक उद्योग र सेवा क्षेत्रका उद्योगको अवस्थाको विस्तृत तथ्यांक प्रतिवेदनमा समेटिएको छ ।

विद्युतको आपूर्तिमा आउने समस्याका कारण अझै पनि ६४.४ प्रतिशत उद्योगले जेनेरेटर प्रयोग गरिरहेको अध्ययनले देखाएको छ ।

नेपाल विद्युत प्राधिकरणले भने ३६४ मेगावाट विद्युत भारतलाई बिक्री गरिरहेको छ ।

प्राधिकरणका अनुसार बिजुली बिक्रीबाट मासिक ७ करोड रुपैयाँ कमाइ भएको छ । तर, नेपालका उद्योग भने विद्युत नपाएर जेनेरटरमा डिजेल हालेर सञ्चालन गर्न बाध्य छन् ।

प्रतिवेदनले उक्त अवधिमा उद्योगहरुले आफ्नो कूल उत्पादन क्षमताको ७१ प्रतिशत उपयोग गरेको देखाएको छ ।

प्रतिवेदनले अघिल्लो आर्थिक वर्ष २०७७/७८ को दोस्रो त्रैमासको तुलनामा चालू आर्थिक वर्ष सोही अवधिमा उद्योगको आय वृद्धिदर २७.१ प्रतिशत बढेको देखाएको छ ।

प्रतिवेदनअनुसार व्यवसायको क्षमता उपयोग सुधारोन्मुख रहेको देखिन्छ ।

अध्ययन भएको अवधिमा उत्पादनमूलक उद्योगले औसतमा ९.४ प्रतिशत (गत वर्षको सोही अवधिमा ८.६ प्रतिशत थियो) र सेवा क्षेत्रका उद्योगले औसतमा ९.१ प्रतिशत ब्याज तिरेका छन् ।

उत्पादनमूलक उद्योगहरुले आफ्नो चालू पूँजीको ४३.८ प्रतिशत बैंक, वित्तीय संस्थाबाट ऋण लिएको अध्ययनले देखाएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा ५४.१ प्रतिशत ऋण लिएका थिए ।