नेतृत्वको सामु लम्पसार र जीहजुरी कहिल्यै गरिएन : पाेखरेल

-



     आरजू विष्ट सल्यानी    
     असार १२ गते २०७९ मा प्रकाशित



सरकारी कर्मचारीहरु मध्येमा एक पृथक कार्यशैली, व्यवहार, आचरण र सधैं पारदर्शिताको वकालत गर्दै आएका उनी एक कर्मचारी हुन् । सत्यमा टिक्ने र असत्यलाई दुत्कार्ने साहस सार्वजनिक सेवा र पदाधिकारीको विशेषता हुनुपर्दछ । यसै मान्यता सहित सार्वजनिक सेवामा फरक पहिचान बनाएका ५७ वर्षीय तथा निकट भविष्यमा सरकारी जागीरबाट निवृत्त हुने तरखरमा रहेका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका उपसचिव ईश्वरीप्रसाद पोखरेल एक उदाहरण हुन् । उनीसंग विगतमा सफल आवाजले दुईचार वटा श्रृंखलाका संवाद गरिसकेको सर्वविदितै छ । जागिरबाट निवृत्त हुने क्रममा रहेका पोखरेलसंगको यो संवाद उनको वैयक्तिक जीवनका संघर्ष तथा पेसागत सफलता तथा असफलताका चरणहरुमा केन्द्रित रहेको छ ।

बाल्यकालीन जीवनको स्मरण तथा आत्मसमीक्षा कसरी गर्नु हुन्छ ?

गुल्मीको पहाडी गाउँ, बाहुन परिवारको पोखरेल थरमा जन्मिएँ । मेरो बाल्यकाल तीक्ष्णबुद्धि, प्रतिभाशाली र विशेष मेधावी किसिमको रहेन । पढाइ र सिर्जनशीलता कमजोर रह्यो । संयुक्त ठूलो परिवारको धेरै सन्तानमध्येका बालबालिकाहरुका बीच मेरा बाबा आमाको म साहिँलो छोरा थिएँ । बुबाहरु घोडा चढेर हिड्ने तथा आमाहरु घरमा भएका नोकरचाक्करसंग प्रतिस्पर्धामा काम गर्ने विभेदको वातावरणलाई न्यायिक मानिने, सामन्तवादी संस्कारमा हुर्किएँ ।

तत्कालीन अवस्थामा घरपरिवारको विशेष पेसा वा व्यवसाय केही थिएन । पशुपालन र चल अचल सम्पत्तिको उपयोग थियो । विपन्न समाजको बाहुल्यता भएको जनताको दृष्टिमा आर्थिक आयार्जन र सामाजिक प्रतिष्ठाका हिसाबमा हाम्रो घरलाई सम्पन्नशाली मानिन्थ्यो । यो परिवार राजनीति र सामाजिक अगुवाको रुपमा युवावस्थाका बुबा प्रधानपञ्च समेत निर्वाचित हुनाले सचेत थियो ।

यी सबै आधारमा गरीबीको चपेटामा रहेको नेपाली ग्रामीण समाजमा म आफूलाई पूर्ण विपन्न वर्गमा राख्न सक्दिनँ । यो अर्थमा म आफू केही हुने खाने घरपरिवारको वर्गमा पर्दथेँ भन्ने लाग्दछ । तापनि त्यतिबेलाको खानपान, लवाइ खवाइ र जीवन चर्या आजको आफ्नो जीवनसापेक्षतामा रही समीक्षा गर्दा घरको आर्थिक अवस्था मध्यम पनि होइन, निम्नमध्यम वर्गको घरको बालक मात्र थिएँ भन्न पनि संकोच लाग्दछ । जीवनबारे स्पष्ट शब्दमा भन्दा नहुने र विपन्न समाजमा केही महिना निर्वाध खान पुग्ने परिवारको सदस्य हुँ भन्ने लाग्दछ ।

बाल्यकालीन जीवन सिकाइ कति सफल ? कति विफल ? आत्मसमीक्षा कसरी गर्नु हुन्छ ?

जीवनको भोगाइ के हो ? आर्थिक तथा सामाजिक सम्पन्नता र विपन्नता के हो ? आमाबुबाको माया, घरपरिवारको अभिभावकत्व के हो ? जुनसुकै कारणले सडक छाप वा अभिभावकत्व विहिन बालबालिकाको वास्तविक जीवन अवस्था के हो ? विदेशी भूमिमा रेलवे स्टेशनदेखि महान् महान् आत्माका स्नेहशील व्यक्तित्वको संसर्गको मौकाले देवत्व र दानवीय व्यवहार सबै छोटो समयमा भोग्न पाइयो । तिनै बाल्यकालीन असल अनुभव, व्यवहारिक सिकाइले आजको मान्छे बन्न सकेको हुँ । सत्य, तथ्य र विवेकलाई जीवनमा कहिल्यै बन्धक राखिनँ र राख्ने छैन ।

विद्यार्थी जीवन कति सफल ? कति विफल ?

झण्डै सडकछाप भएको मान्छे, दैव संयोग सबै जोखिम र अप्ठ्यारोबाट बच्दै, सभ्यता, संस्कृति र आध्यात्मिकताको मूल मर्म संस्कृत शिक्षा अध्ययनमा भर्ना हुन पुगियो । आश्रम, गुरुकूल संस्कार तथा योगीजन, साधुसन्त र महापुरुषको संगतमा परियो । जीवनमा कल्पना नै गर्न नसकिने विशाल भारत भूमिका प्रधानमन्त्री, विपक्षी नेतासंग प्रत्यक्ष भेट्न पाइयो । विदेश तथा स्वदेशका केही राजनीतिज्ञ र शिक्षा क्षेत्रका महानायकहरुको बहस सुनियो । असल ज्ञान, आदर्श र चेतनासित धेरै मात्रमा परिचित हुने अवसर नै अवसर मिल्यो, जसलाई पूर्ण सफल जीवन नै मान्दछु ।

दिल्लीको शिक्षा र बनारसका गुरुहरुको आशिर्वादबाट मातभूमिप्रतिको दायित्वमा प्रवीण हुन पुगेँ । संस्कृत शिक्षाबाट प्रशिक्षित हुँदै नेपालको दाङमा फर्किएर नव्यव्याकरण विषयबाट स्नातक भएँ । त्यसपछि औपचारिक विद्यार्थी काल समाप्त भयो । उपल्ला योग्यताका अध्ययन चाहिँ अध्यापन र सरकारी सेवामा प्रवेशबाट अतिरिक्त जोडिएका हुन् । राजनीतिक चेतना र सामाजिक उत्थान जागरणमा प्रवेश हुने, सिक्ने र आफूलाई आजको एक सक्षम नागरिक बनाउने जगका रुपमा विद्यार्थी कालीन जीवन पूर्ण सफल रह्यो भन्ने ठान्दछु ।

शिक्षक, शिक्षा प्रशासक कार्यकालको सार्वजनिक सेवाको जीवन कति सफल भयो ? वा विफल ?

प्रश्नका लागि धन्यवाद, शिक्षक र प्रधानाध्यापक कालमा गरेको योगदान, त्याग तथा समाजसेवा उदाहरणीय रहे र आजसम्म पनि मलाई बल प्रदान गर्ने उत्कृष्ट कार्य हुन् । निजामती सेवामा प्रवेश गरेपछि गरेका पेसागत कार्यको अनुपम मेहनतले जहाँ जहाँ बसेर सेवा गरेँ, त्यहाँ त्यहाँ फरक पहिचान र कार्यदिशा स्थापित गर्न, गराउन सफल हुँदैँ आएँ भन्ने गर्व गर्दछु ।

उदाहरणका लागि : गुल्मी जिल्लाको तीन दिने राष्ट्रिय शैक्षिक संगोष्ठी सम्पन्न र प्रतिवेदन २०५८ प्रकाशन भयो । मेरो नितान्त वैयक्तिक प्रयासमा अवधारणा जन्मेको, कार्यविधि हुर्केको र देशका प्रबुद्ध शिक्षासेवीको समुपस्थितिमा गोष्ठी सम्पन्न भएकोले यो कार्य पेसागत जीवनको सार्वजनिक बहसमा जबर्जस्त प्रवेशको बलियो मापदण्ड बन्यो । कपिलवस्तुमा सरुवा भएपछि (२०६१)नयाँ नेपाल₋लोकतान्त्रिक राज्यसंरचनाका आधारभूत सूत्रहरु, तथा प्रकाशन (२०६३) दोस्रो संस्करणबाट राजनीतिक र प्रशासनिक क्षेत्रमा स्थापित हुन पुगेँ ।

२०६४ श्रावणमा शैक्षिक जनशक्ति विकास केन्द्रको केन्द्रीय भूमिकामा पदस्थापित हुनपुगेँ । शिक्षा तालिम ,प्रशिक्षण तथा नीति निर्माणमा सहभागीे हुँदा स्थानीय तह, जिल्ला र केन्द्र्रसम्मको अनुभव जोड्ने मौका पाएँ । ती सबै पक्ष समायोजन भएका । (२०७०) नेपालको शैक्षिक व्यवस्थापन, संगति विसंगति, (२०६९) नेपाली शैक्षिक प्रणालीका स्वरुपहरु व्यवहारिक विश्लेषण, (२०६९) शिक्षण पेसा र निरीक्षण व्यवस्थापनका चुनौतीहरु, (२०६९) शिक्षा दर्शन र सामाजिक रुपान्तरणका मुद्दा, (२०६९) नेपालको सार्वजनिक प्रशासन व्यवहारिक विश्लेषण पुस्तकहरु २०७० श्रावण २२ मा वैयक्तिक तयार, प्रकाशन गरी सार्वजनिक गर्न सफल भएँ ।

शैक्षिक जनशक्ति विकास केन्द्रबाट प्रकाशित शिक्षक जर्नल तथा शिक्षा विभागका शैक्षिक स्मारिकाहरु विभिन्न वर्षका अंकमा लेखहरु प्रकाशित तथा दैनिक पत्रपत्रिकामा लेखबाट विचार प्रवाह गर्न सफलता पाएँ । यसै बीचमा २०७० पुषमा क्षेत्रीय शिक्षा निर्देशनालय, पोखरामा सरुवा भएँ र त्यहाँ आफ्नै मेहनतमा भूतो न भविष्यतिको रुपमा शैक्षिक जर्नल २०७१ तथा २०७२, २ वार्षिक अङ्क, प्रकाशन गर्न सफल रहेँ ।

पुनः २०७२ फाल्गुणमा शैक्षिक जनशक्ति विकास केन्द्रमा सरुवा भयो । नयाँ दृष्टिकोणका साथ मुलुक निर्माणमा विद्यालयका प्रधानाध्यापकहरुको पेसागत दायित्व सम्बन्धी प्रशिक्षण तथा तालिम पाठ्यक्रम २०७३ जारी गर्न, गराउन भूमिका खेलेँ । प्र. अ. तालिम सहयोगी स्वाध्यायन सामग्री २०७४ पहिलो खण्ड र दोस्रो खण्ड २०७५ पुस्तिका विकास गरी अति प्रभावकारी प्याकेज सार्वजनिक रुपमा कार्यान्वयनमा ल्याउन पनि सफल रहेँ । शिक्षा सेवाको संघर्षशील अभियन्ता, सार्वजनिक क्षेत्रको सुशासन तथा प्रशासनिक विश्लेषक तथा समालोचक एवम् लेखकको हैसियतमा आफूलाई नेपाली बौद्धिक समाजमा स्थापित गर्न,गराउन पूर्ण सफल रहें ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसित सम्बद्ध शिक्षा सेवाका कर्मचारीहरुमाथि गरिएको समायोजन नामको अत्याचार,शोषण र ज्यादतीको विरुद्ध संघर्ष गरेँ । न्यायका लागि एक्लै माइतीघर मण्डलामा धर्ना र प्रहरी हिरासतमा पुगेँ । २०७५ श्रावणदेखि २०७६ पौषसम्म झण्डै डेढ वर्ष काम विहिन र ८३ दिन सडकछापको पिडासित जुधेँ । अन्तिममा सरकारलाई झुकाएर कथित पक्षपाती अप्राकृतिक र असामाजिक निरंकूश समायोजनलाई अस्वीकार्ने कार्यमा पनि पूर्ण सफल भएकै हुँ।

शिक्षा मन्त्रालयको जनशक्ति विकास योजना तथा समन्वय शाखाको जिम्मेवारीलाई कसरी सफल बनाउन लाग्नु भएको छ ?

कक्षाकोठाको शिक्षक, विद्यालय निरीक्षक, तालिम सहजकर्ता, प्रशिक्षक र शिक्षा प्रशासकको अनुभव र शिक्षाविज्ञ र पेसागत क्षमतासहितको सम्पत्ति एकसाथ आर्जन हुनु र ती सबैलाई एकीकृत गरी मन्त्रालयको जिम्मेवारीमा पुग्नु कम सफलताको कुरा होइन ? यी सबै अवसरका साथ मन्त्रालयको जनशक्ति विकास योजना तथा समन्वय शाखाको जिम्मेवारीमा पुगेको अवस्था निश्चय नै चुनौतीपूर्ण छ । मुलुकलाई समृद्ध पार्न र सबल, सक्षम र योजनावद्ध जनशक्ति विकासमा कसरी योगदान गर्न सकिएला ? साँच्चै धेरै चिन्तामा छु ।

यसर्थ एकातिर मन्त्रालयको नेतृत्वमा विद्यालय शिक्षा पेसागत सहयोग व्यवस्थापन कार्यदल, विद्यालयदेखि विश्वविद्यालयसम्मको पाठ्यक्रम, शिक्षण विधि, सिकाइ प्रक्रिया र मूल्याङ्कन मापदण्ड तथा उपलब्धि अध्ययन कार्यदल, शिक्षा प्रणालीमा उपलब्ध शैक्षिक सेवासुविधा, सहयोग तथा छात्रवृत्ति लगायतका विषय अध्ययन कार्यदलबाट जनशक्ति विकासको पक्षमा गम्भीर बहस तथा अध्ययनका कार्य थालिएको छ ।

अर्कोतिर जनशक्ति विकासका सन्दर्भमा शिक्षा क्षेत्रको अवधारणा र भावी मार्ग योजना तयार पार्ने क्रममा उच्च शिक्षाको हकमा विश्वविद्यालय अनुदान आयोग, मध्यमस्तरको प्राविधिक तथा व्यावसायिक शिक्षाको हकमा सिटीइभिटी र विद्यालय तहको शिक्षाको मानवपूँजी विकासको हकमा शिक्षा तथा मानवस्रोत विकास केन्द्रलाई मन्त्रालयले स्पष्ट कार्य जिम्मेवारी सुम्पिएको र ती निकायहरुबाट कार्यारम्भ गरिएको छ । साथै, मन्त्रालयको शाखाबाट राष्ट्रिय जनशक्ति – मानव संसाधन) विकास प्रतिवेदन—२०७८, एवम् राष्ट्रिय जनशक्ति – मानव संसाधन) विकास मापदण्ड तथा कार्यविधि —२०७८ तयार गरी नेतृत्वसमक्ष पेश भएका छन् ।

नेपालका राष्ट्रिय विश्वविद्यालयहरुमा जनशक्ति विकाससम्बन्धी अवस्थाको प्रारम्भिक प्रतिवेदन —२०७८ तयार भई बहसमा छ । यसैगरी विद्यालयदेखि विश्वविद्यालयसम्म उपलब्ध शैक्षिक सेवासुविधा, सहुलियत, सहयोग र छात्रवृत्ति तथा जनशक्ति विकास सम्बन्धमा सबै किसिममा सरोकारवाला( विद्यार्थी, शिक्षक, प्रधानाध्यापक, विद्यालय व्यवस्थापक, प्राचार्य, प्राध्यापक) सम्मका धारणा संकलन गरिएका चार वटा छुट्टाछुट्टै नेपालमा शैक्षिक सेवासुविधा तथा छात्रवृत्ति प्रतिवेदन —२०७८ र एकीकृत प्रतिवेदन —२०७८ विकास भई बहसमा प्रवेश गराइएका छन् ।

यसरी मेरो सार्वजनिक सेवाको २७ वर्षको निरन्तर प्रयासले राज्यको प्रणाली विकासलाई के के नतिजा दियो ? देशले मेरो पेसागत क्षमताबाट के के लाभ लियो ? भविष्यमा अवश्य बहस होला । राज्य, सरकार तथा नेतृत्व छ र ? भन्ने आक्रोश सार्वजनिक रुपमा राख्नेले विभिन्न बाधा, अडचन साँच्चै नभएको र नेतृत्वको पूर्ण सहयोग पाएको, कोचिङ्ग, मेन्टोरिङ्ग र पृष्ठपोषणको मैत्रीभावसाथ निष्पक्ष सहयोग पाएको भए अझ कति धेरै पेसागत र मुलुकको हितमा काम गर्न सकिँन्दो हो भन्ने लाग्दछ ।

यसैले समग्रमा मेरो सार्वजनिक सेवा कार्यकाल सफल र फलदायी रहेको यथेष्ट प्रमाण सार्वजनिक छन् । विफलता चाहिँ कामको नतिजा भजाउन नसक्नु, नेतृत्वको सामू लम्पसार परेर जीहजुरी नगरेर उनीहरुबाट स्याबासको शब्दसम्मको पुरस्कार नपाउनु नै हो ।