‘माटो जोगाऔं’ अभियानका स्वयंसेवक पुनलाई मधेश र प्रदेश १ मा समर्थन

-



     सफल आवाज    
     असार १३ गते २०७९ मा प्रकाशित



इटहरी, १३ असार । सद्गुरुद्वारा पहल गरिएको ‘माटो जोगाऔँ’ अभियानका स्वयंसेवक यमबहादुर चोचाङ्गी पुन (नबिन पुन मगर) ले काठमाडौंबाट सुरु गरेको देशव्यापि दौड आज १५‍‌‌‌‍‍औं दिन इटहरीमा पुगेर माटो जोगाऔं कार्यक्रम आयोजना गरिएकाे छ ।

माटो विनाश बारे जानकारी फैल्याउने र माटो जोगाउन सबै नेपालीमा सन्देश पुर्याउने उद्धेस्यले पुनले सातवटै प्रदेश पुग्नेगरि ३ हजार ५०० कि.मी दूरीको देशव्यापि दौड सुरु गरेका हुन् । धरानमा पूर्व वाणिज्य मन्त्री तथा वर्तमान संघीय सांसद माननीय मीन बहादुर विश्वकर्मा, माटो बैज्ञानिक शुक्रराज श्रेष्ठ तथा प्राध्यापक डा गोपाल भण्डारी लगायतको सहभागितामा माटो जोगाऔं कार्यक्रममा सम्पन्न भएकाे छ । साथै तरहरा साईक्लिङ् क्लबको आयोजनामा धावक नबिन पुन मगरसंगै धरान देखि तरहरा हुदै इटहरीसम्म करिब १८ किलोमीटरको साइकल र्याली सम्पन्न भयाे । बाग्मति प्रदेशबाट सुरु भएको दौड मधेश प्रदेश हुँदै प्रदेश १ पुगेको हो ।

दौडको क्रममा पहिलो माटो जोगाऔं सचेतना कार्यक्रम चितवनमा सञ्चालन भएको थियो । भरतपुर महानगर १० स्थित नारायणी नमूना माद्यमिक विद्यालयमा अभियानका स्वयंसेवक नबिन पुन मगरलाई स्कुलका शिक्षक तथा विद्यार्थीले स्वागत गरेका थिए । सचेतना कार्यक्रमका सहभागीहरुले माटो जोगाउन प्रतिवद्दता जनाउदै प्रधानमन्त्रीलाई माटो जोगाउनका १४५ वटा अनुरोध चिट्ठीहरु लेखे ।

त्यस्तै हेटौंडामा मकवानपुर उद्योग वाणिज्य संघ, हेटौडा राईडर्स, हिमालयन राईडर्स र मकवानपुर जिल्ला साइकल संघको सहकार्यमा माटो जोगाऔं कार्यक्रम सम्पन्न भयो । प्रमुख अतिथि बागमती प्रदेशका मुख्य मन्त्री माननीय राजेन्द्र प्रसाद पाण्डेले कार्यक्रमलाई उद्घाटन गर्दै माटो जोगाऔं अभियानलाई प्रतिवद्दता जनाए। प्राज्ञिक विद्यार्थी परिषद् नेपाल, हेटौंडा नगर इकाई समितिले पनि विश्वव्यापी माटो जोगाऔँ अभियानलाई आत्मसात गर्दै साइकल र्याली एवम् विभिन्न क्षेत्रका विद्वान, विद्यार्थीहरुको उपस्थितिमा गोष्ठी सम्पन्न गर्‍यो ।

त्रिभुवन विश्वविद्यालय व्यवस्थापन विभागका प्रमुख प्रा.डा रामजी गौतम विशिष्ट अतिथि, परिषदका केन्द्रिय सदस्य जागृत सुबेदी लगायत १०० भन्दा बढी व्यक्तित्वहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।

विरगञ्जमा माटो जोगाऔँ सचेतना कार्यक्रम सानो पाइला संस्थाका संस्थापक कञ्चन झाको प्रमुख आतिथ्यतामा घण्टाघरको प्राङ्गणमा सुरु भएको थियो । माउन्ट एडमण्ड माध्यमिक विद्यालय विरगञ्जले पनि मगरको स्वागत र सम्मानमा माटो जोगाऔँ सचेतना कार्यक्रम आयोजना गरेको थियो । जनकपुरमा मोनाष्टिक उच्च मा वि को आयोजनामा प्रमुख अतिथि प्रदेश सांसद राम आशीष यादवले अभियन्ता मगर लगायतको टिमलाई स्वागत गरेका थिए ।