मुख्यमन्त्री पाण्डेले गरे चेपाङ किशोरी छात्रावासकाे समुद्घाटन

-



     सफल आवाज    
     असार २६ गते २०७९ मा प्रकाशित



धादिङ, २६ असार । चेपाङ किशोरीलाई सहज शिक्षाको पहुँचका लागि बास बस्न निर्माण गरिएको छात्रावास भवनको उद्घाटन गरिएको छ । गजुरी गाउँपालिका–१ हाँगेटारमा निर्माण भएको सो छात्रावासको बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले आइतबार उद्घाटन गरेका हुन । छात्रावासमा ३६ जना बस्न सक्ने क्षमता रहेको छ ।

कार्यक्रममा मुख्यमन्त्री पाण्डेले छात्रावासमा रहने किशोरीको लागि बागमती प्रदेश सरकारको तर्फबाट २० वटा कम्प्युटर सहयोग गर्ने बताए । छात्रावास भवनको उचित रेखदेखका लागि उनले गजुरी गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठलाई भवन हस्तान्तरण गरे । गजुरी गाउँपालिका र नेपाल चेपाङ सङ्घ धादिङको समन्वयमा छात्रावास निर्माण गरिएको हो । छात्रावासमा गरिब चेपाङ समुदायका किशोरी यहाँ बसेर पढ्नेछन् ।

कार्यक्रममा गजुरी गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठले चेपाङ किशोरीको पढाइमा सहयोग गर्ने भन्दै छात्रावासको सही प्रयोग तथा व्यवस्थापनको लागि विकास साझेदारसँग समन्वय तथा सहकार्य गर्ने बताए । जिसस धादिङका उपप्रमुख कुलमान विक, प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्साल, गजुरी गाउँपालिका उपाध्यक्ष शर्मिला बिसुराल, बेनीघाट रोराङका उपाध्यक्ष टापबहादुर श्रेष्ठ लगायतको सहभागिता थियो । साढे चार रोपनी क्षेत्रफलमा छात्रावास भवन, भान्सा तथा डाइनिङ भवन, पुस्तकालय तथा पढाइ भवन, पालेघरसहितको भवन २ करोड ३३ लाख २२ हजारको लागतमा निर्माण सम्पन्न भएको हो ।