नबिल बैंकको अबको प्राथमिकता ‘बेटर’ त्यसपछि ‘ठूलो’- अध्यक्ष पौड्याल (अन्तर्वार्ता )

-



     सफल आवाज    
     असार ३१ गते २०७९ मा प्रकाशित



काठमाडौं, ३१ असार। नेपालकाे बित्तिय क्षेत्रकाे अग्रणी बैंक नबिल बैंक लिमिटेडले नेपाल बंगलादेश बैंकलाई प्राप्ति (एक्विजीसन) गरेर एकीकृत कारोबार शुरू गरिसकेको छ । बैंकले आफ्नो ३८ औं वार्षिकोत्सवको अवसरमा एकीकृत कारोबार शुरू गरेको हो । बैंकहरूबीच मर्जर नभएको लामो समयपछि नबिल बैंक र नेपाल बंगलादेश बैंकबीचको याे प्राप्ति भएको हो । अर्थात् जनता बैंक र ग्लोबल आईएमई बैंकको मर्जरपछि अरू वाणिज्य बैंकहरूकाे मर्जर नभइरहेकाे अवस्थामा नबिलले एनबीलाइ गरेकाे याे प्राप्तिले बित्तिय बजारमा सकारात्मक सन्देश समेत प्रबाह गरेकाे छ ।

कतिपय बैंकहरूले मर्जरका लागि पटक पटक प्रयास गरेपनि सफल भइरहेको अवस्था थिएन । यस्ताे बेला नबिलले एनबि बैंकलाई प्राप्ति गरेर आफ्नाे कुशलता देखाउदै अन्य बैंकहरूलाइ पनि मर्जरका लागि उत्प्रेरणा तथा दवाव एकसाथ दिएको देखिन्छ । राष्ट्र बैंकको मर्जर नीति अनुसार हाल बैंकहरूबीच धमाधम मर्जरको सहमति भइरहेको र कतिपय बैंकहरूले मर्जर प्रयास गरिरहेको अवस्था रहेकाे छ । यता नबिल बैंकले एनबि बैंकलाई प्राप्ति गरेपछि अब नबिल बैंकको एजेण्डा र भावी यात्रा कस्तो रहला ? यस विषयमा नबिल बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौड्याल सँग सफल आवाजले गरेकाे कुराकानीको सम्पादित अंश:

तपाई अध्यक्ष भएकै समयमा नबिलले एनबि बैंकलाई प्राप्ति गरेको छ, यसलाई कसरी लिनुभएको छ ?
नबिल बैंकले एनबि बैंकलाई प्राप्ति गर्ने सन्दर्भमा दुवै बैंकको उत्तिकै सक्रियता रहेको थियाे । तर पनि नबिलको तर्फबाट बोर्ड अध्यक्षको हिसाबले मर्जरमा मैले भूमिका खेल्न पाएँ । मेरो लागि यो एउटा महत्वपूर्ण घडि हो । आजभन्दा ५ वर्ष अगाडि म नबिलमा आउँदै गर्दा पनि मैले अब मर्जरबारे सोच्नुपर्छ भनेको थिएँ । संयोगले भनौं म नबिलमै रहँदा एनबि बैंकलाई प्राप्ति गरी एकीकृत कारोबार समेत शुरू गर्न सफल भएका छाैं ।

मर्जरका लागि मैले सहजीकरण गर्ने र मोटिभेट गर्ने काम गरें । हाम्रो टिमले एउटा राम्रो सफलता पाएको अवस्था पनि हो यो । मर्जरमा हामी सबैको उत्तिकै भूमिका थियो । हामीले हरेक कामलाई छिटो गर्ने प्रयास गर्‍यौँ । राष्ट्र बैंकले हामीलाई स्वीकृति दिएको भोलिपल्टै हामीले प्राप्तिको काम गर्‍यौँ । यसको मतलव हामीले १०० प्रतिशत समय दिएर मर्जर चाहेर मर्जर गरेका छौँ । सबैको सहयोगले नै यो सम्भव भएको हो । लिडरको लागि पनि यो एउटा स्किल हो । त्यस्तै हामीले मर्जर नीतिलाई जसरी स्वीकार गरेर अगाडि बढ्यौं, अर्को संस्थालाई प्राप्ति गर्‍यौं, यसले राष्ट्रको नीति वा नेपाल राष्ट्र बैंकको नीतिलाई पनि सहयोग गरेका छौं भन्ने लाग्छ । यस मर्जरले अन्य बैंकहरूलाई पनि मर्जरका लागि प्रोत्साहन गर्छ भन्ने मेरो विश्वास छ ।

अब फेरि अर्को साथी खोज्ने सोच छ कि छैन ?
तपाईंले भनेजस्तै फेरि मर्जरका लागि हामी सकारात्मक त छौँ । अहिले नै मर्जरका बिषयमा सोचिएकाे छैन । तर समयले मागेको खण्डमा हामी फेरि नयाँ साथी खोज्ने भन्ने सोचमा अवश्य पुग्नेछाै । तर आजको दिनमा भने यसबारे कुराकानी कसैसँग पनि भएको अवस्था छैन ।

बैंकको अबको यात्रा र एजेण्डा के के छन ?

हाम्रो अबको यात्रा र एजेण्डाबारे हामी प्रष्ट छौँ । सधैं ठूलो बन्छु भन्ने सोचमात्रै हामीमा छैन । हाम्रो उद्देश्य बैंक पहिले बेटर बनाउने र सँगै ठूलो बनाउने हो । अर्थात बैंकको सेवासुविधालाई ग्राहकमैत्री, प्रविधिमैत्री र थप सुरक्षित बनाउने, सेवामा उत्कृष्ट बनाउने पहिलो उद्देश्य रहेकाे छ । त्यसपछि ठूलो वा एक नम्बर बन्छौँ । हामी बेटर बैंकको दिशामा गइसकेका छौँ । बेटर बैंक बन्दै गर्दा ठूलो बैंक हुन पुग्छ भने ठूलो पनि बन्ने हो ।

तपाई जस्ताे अनुभवी बैंकरले नबिलकाे लिड गरिरहदा बैंकलाई अलि फरक बनाउने कुनै प्लान गर्नुभएकाे हाेला नि ?

मैले विगतदेखि भन्दै आइरहेको छु । हाम्राे अहिलेकाे बैंकिङलाइ केही परिवर्तन गर्नु जरूरी छ । अब सस्टेनेबल बैंकिङ र रेस्पोन्सिवल बैंकिङतर्फ नै सबैको ध्यान जानुपर्छ ।सस्टेनएवल बैंकको भर्टिकल चाहिँ हामी (नबिल)ले शुरू गरेका छौँ । अब बैंकिङको भविष्य भनेको यही नै हो । बैंकहरूले सस्टेनेवल बैंकिङतर्फ आफूलाई लैजानु नै पर्छ । त्यसकारण अबको दिनमा हामीले जुन तरिकाले बैंकिङ गरिरहेका छौँ, त्यो तरिकाले हुँदैन अलि फरक बनाउनै पर्छ।

बैंकहरू बढी नाफामुखी मात्र भए सस्टेनेबल बैंकिङतर्फ ध्यानै दिएनन भन्ने गुनासाे सुनिन्छ, के याे साँचाे हाे ?

विभिन्न ग्लोबल क्राइसिसले पनि देखाएको छ कि, बैकहरू सस्टेनेवल र रेन्सोन्सिवल बैंकिङतर्फ गएनन् भने डुब्न सक्छन । बैंकहरूले बित्तिय सेवा दिएसँगै याे उनीहरूकाे बिजनेस पनि भएकाेले नाफामा ध्यान दिनु स्वभाबिक हाे । तपाइले भनेजस्तै धेरै नाफामुखी हुँदा कतिपय बैक,बित्तिय संस्थाहरू डुब्न पुगेको उदाहरणहरू हेरेर सचेत पनि हुनुपर्छ। त्यसैले अबको आवश्यकता सस्टेनेवल र रेन्सोन्सिवल बैंकिङ हो भन्ने लाग्छ।

नबिल बैकले सस्टेनेवल बैंकिङकाे बिषयमा केही प्लानिङ गरेकाे छ त ?

हाम्राे नबिल बैंक टिमलाइ सस्टेनेवल बैंकिङतर्फ अगाडि बढाउने कार्यकाे थालनी गरिसकेका छाैं । सस्टेनेबल बैंकिङ र रेस्पोन्सिवल बैंकिङतर्फ ध्यान दिदैं बैकिङ सेवा दिएका छाैं। हामीले सिस्टमलाई पनि दिगो बनाउने र बैंक आफैं पनि दिगो बन्ने काम यसअन्तर्गत पर्छन् । बैंकको सूचक, सुशासन, व्यवस्थापनलाई सुरक्षित र सही तरिकाले प्रणालीवद्ध गर्नेतर्फ जोड दिएका छाैं । वास्तविक अर्थतन्त्रलाई सहयोग हुने गरी बैंकिङ गर्नेतर्फ जोड दिएका छाै । उत्पादनमुलक क्षेत्रमा कर्जा लगानी लाइ जाेड दिएका छाै। यसले आयातलाई समेत घटाउन सहयोग गर्छ भन्ने लागेकाे छ । दिगो विकास र पर्यावरणमैत्री अवधारणामा बैंकहरू जानुपर्छ भन्ने याेजना अनुरूप नबिल बैक अघि बढिरहेकाे छ ।

एनबि बैंकलाई प्राप्ति गरेपछि नबिल बैंकको अहिले बित्तिय अवस्था कस्तो छ ?
मर्जरपछि नबिल बैंकको चुक्ता पुँजी २२ अर्ब ८३ करोड रुपैयाँ पुगेको छ । यस्तै कुल पुँजी ५६ अर्ब २ करोड रुपैयाँ, कुल निक्षेप ३ खर्ब २८ अर्ब रुपैयाँ पुगेको छ । यस्तै कुल कर्जा ३ खर्ब ८ अर्ब रुपैयाँ पुगेको छ । प्राप्तिपछि नबिल बैंकको शाखा २ सय ६७ वटा र एटीएम मेसिन २ सय ७४ वटा पुगेको छ । यसरी हेर्दा समग्रमा बैंक अहिले थप ठूलो बनेको छ ।