श्रीमतीको महानताले घर बन्यो र डिभोर्सबाट बचियो : उपसचिव पोखरेल

-



     आरजू विष्ट सल्यानी    
     श्रावण २ गते २०७९ मा प्रकाशित



सार्वजनिक पदाधिकारीहरुलाई प्रायः राज्यसंग राम्रो पहुँच भएकाे ब्यक्तिका रूपमा मानिन्छ । कर्मचारीतन्त्रमा सत्ता, शक्ति र राज्यको राजस्वमा आफूखुशी डुबुल्की लगाउने मार्ग पहिल्याउनेहरु पनि धेरै हुन्छन् । स्वार्थ पूर्तिका लागि राजनीति र प्रशासनिक तहमा उचित अनुचित सम्झौता गर्नपर्ने हुन्छ । नेतृत्व तहमा पुग्नेहरुले जे जस्ता पनि सुकर्म र कुकर्म गर्न, गराउन पछाडि पर्नु हुँदैन । आजका कर्मचारीहरु त्यहीँ दिशामा सफल हुनुलाई नै आजका नागरिक समाजले समेत उत्कृष्ट हुन् भन्ने प्रभाव देखिन्दो छ । फलतः मुलुकमा राजनीतिक र प्रशासनिक क्षेत्रमा चरम स्वार्थभाव र भ्रष्टाचार अनियन्त्रित रुपमा बढेको बढ्यै छ ।

विद्यमान अख्तियार दुरुपयोग अनुसन्धान आयोग तथा राज्यका सबै अनुसन्धान निकायहरु समेत राजनीतिक र प्रशासनिक हस्तक्षेपको मिलीमतोमा पूर्ण निकम्मा बने, बनाइए । राज्यमा सरकारी भूमिका नै प्रभावकारी छैन भन्ने सम्मको सार्वजनिक वकालत गर्ने सहास राखेर सरकारी कर्मचारीमा बहाल रह्नु र अडिग हुनु कम चुनौतीको विषय होइन । राज्यको शासन प्रणालीमा अराजकता र लुटतन्त्रको कुशासन प्रशस्त मौलाएको छ । सर्वसाधारण जनताका लागि राज्य, सरकार तथा नेतृत्व नै शुन्य र बेसहारा भएको बेला छ ।

यो बेला सार्वजनिक सेवाका सबै पदाधिकारी वर्गको सम्पत्ति छानविन गरिनुपर्ने आवाज पनि कर्मचारी वृत्तबाट उठाउने हिम्मतिला नागरिक नेपाली समाजमा पनि यदाकदा पाइन्छन् । तिनैमध्येका सरकारी सेवामा बहाल रहेका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका उपसचिव ईश्वरीप्रसाद पोखरेल एक हुन् । आज हामीले उनीसंग उनको व्यवहारिक पक्षलाई यस अंकको संवादमा उठान गरेका छौं ।

आपत्ति छैन भने वैवाहिक जीवन र दाम्पत्य सम्बन्धमा कुराकानी गर्न मिल्छ ? विवाह कसरी भयो ?

के को आपत्ति ? खुल्ला किताब हुँ म । किन नमिल्नु ? विवाहित हुँ । गुल्मी रिमुवा पञ्चायतका तत्कालीन उपप्रधानपञ्च हरिप्रसाद पौडेल तथा हरिकलाका पाँच छोरा र एक छोरी मध्ये पाँचौ नम्बरकी घरायसी नाम लक्ष्मी पौडेल(गंगा)मेरी श्रीमती हुन् । उनका मामा र मेरा फूपाजुले आफ्नै एकमात्र भान्जीसंग लगनगाँठो जोडाउनु भयो । २०४६ असार २५ मा वैदिक रितिपूर्वक मागी विवाह तामझामरहित साधारण तरिकाले भयो । यसरी हाम्रो दाम्पत्य जीवन प्रारम्भ भयो ।

वैवाहिक सम्बन्ध रिमुवाका पौडेल कहाँ नै किन र कसरी जोडियो ?

त्यतिबेला २४-२५ वर्षको युवा थिएँ । विवाह गर्ने र गराउने सबै जनाको आँखामा थिएँ क्यार ! धेरैतिरबाट केटीका कुरा आएको सुन्दथेँ । तर मेरा साहिँला फूपाजु पण्डित ईश्वरीप्रसाद ज्ञवाली ससुराली जानु भएको रहेछ । वहाँले मलाई सुर्खेतबाट आउनासाथ बम्घाको आफ्नो घरमा बोलाएको खबर पाएँ । घर जानासाथ म उतै गएँ र शायद असारको १० गते फूपाजुले रिमुवा, आफ्नी बहिनी कहाँ लैजानु भयो ।

घरपरिवार चलाउन कुलकी केटी र मूलको पानी सबैको रोजाइमा हुन्छ रे । त्यस्ती कन्या सबैले मन पनि पार्दछन् भनिन्छ । सत्य के हो ? भने तत्कालीन समाजको आर्थिक परिवेशमा चल, अचल सम्पत्तिमा अति बलिया र समाजमा उपप्रधानपञ्चको संक्षिप्त रुप उप बाको नामले ख्याति कमाएका पौडेल बुबाकी एकमात्र सुकुमारी छोरी सबै आकांक्षीको आँखामा थिइन् रे । सुनिन्छ, आधुनिक विषय, प्राविधिक सीपको शिक्षादीक्षाले विभूषित र त्यति बेलामा नै एमएस्सी गरेका, प्राविधिक विषयका क्षेत्रका विज्ञहरु पनि रिमुवामा पौडेल बा कहाँ केटी माग्न पुगेका थिए रे । तर ती सबैलाई उछिन्दै देख्नासाथ केटीलाई मेरो आत्माले स्वीकार्यो । यसरी विवाहको सम्बन्धमा पहिलो र अन्तिम कुराकानी र छिनोफानो एकै केटीमा टुंगियो । दैव संयोग भनौँ वा भगवत् कृपा मजस्तो पुरातनवादी शिक्षा प्राप्त र आधुनिक राजनीतिक विद्रोही चेत बाहेक कुनै विशेष गुण, सीप र पेसागत क्षमता नभएको मलाई ती सुकन्याको स्वयंवर जुर्यो ।

तपाईको विद्रोही स्वभाव र मेडमको क्यामिस्ट्री ठ्याक्कै मिल्छ ?

हेर्नुहोस्, विवाह गर्दा विज्ञानसम्मत क्यामिस्ट्री चेकजाँच गरिएको होइन । कुनै चिना चिर्पटो हेराएर, आनीबानी र स्वभाव मिल्छ वा मिल्दैन ? भनी बहस गरेर, गराएर पनि विवाह गरिएको होइन । केटा र केटीको आपसमा चिनाजानी भएर, मन पराएर यही केटी चाहिन्छ, भनेर कुनै जिद्दी गरेर सम्बन्ध जोडिएको पनि होइन । आमाबुबाको इच्छा विपरित भागेर, भगाएर वैवाहिक सम्बन्ध जोडेको पनि होइन ।

पितृ आशिर्वाद तथा कुल देवताको अनुकम्पाले त्यस्ती सुलक्षणा देवीलाई मेरो जीवनमा जोडिदिएको हो । विवाह गरी ल्याइयो र घरमा भित्राइयो । यस अर्थमा हामीलाई सबै किसिमको ऐश्वर्य र वैभवले श्रीमतीको साथले पूर्णता दियो । यो अर्थमा विद्रोही स्वभाव र क्यामिस्ट्रीको मिलनमा कुनै बाधा भएको र अमेल भएको अनुभव छैन । हामी दुवै सादगी जीवनमा खुशी छौँ र क्यामिस्ट्री मिलेकै छ ।

तपाईको अनुभवमा मेडमसंगको वैवाहिक सम्बन्ध तथा प्राप्तिलाई अहो भाग्य भन्नुको अर्थ, कुरा खुलाउन मिल्छ ?

मानिसको भाग्यको खेल पनि विचित्रको हुँदोरहेछ । सबैले मन पराएकी रुप र बनावटले सुन्दरताकी प्रतिमूर्ति नै हुन् मेडम । उनीसंग सम्बन्ध जोड्न चाहेका तर सौभाग्य नपाएका नागरिकहरु पछि बुझ्दै जाँदा धेरै धेरै रहेछन् । ती व्यक्तिहरु आजको दिनमा कोही अमेरिका, बेलायत, जर्मनतिर स्थायी बसाइमा छन् । कोही चाहिँ देशभित्रै ठूला सार्वजनिक पदमा आसीन भएर देशका प्रतिष्ठित शहरमा अनगिन्ती सम्पत्तिका मालिक भएर बसेका छन् । मेरो आफ्नो जीवनभन्दा फरक दृष्टिकोणले कहिलेकाहीँ मेडमका बारेमा कहाँ राजा भोज कहाँ गंगू तेली (रैती) को तुलना ? शास्त्रहरुमा त्यसै भनिएको रहेनछ, नारी त पृथ्वी सरह महानताकी र सहनशीलताकी खानी हुन् । कहिलेकाहिँ सोच्दछु र अनुमान पनि गर्दछु, उनलाई ती अनुहार वा केटी माग्दाका घटना सम्झदा के गर्दी हुन् ? तर जीवनमा मैले कहिल्यै असन्तुष्टि र अभावको गुनासो सुन्न परेन ।

मेडमसंगको वैवाहिक सम्बन्ध जोडिदा राजा भोज र गंगू तेली (रैति)को प्रसङ्ग किन ?

हाम्रो विवाह केटीको स्वतन्त्र कुनै रोजाइमा भएको होइन । परम्परागत दृष्टिमा भाग्य र व्यवहारिकतामा पिताको निर्णयमा मागी विवाह भएको हो । हाम्रो परिवार तथा सम्बन्धसंग कुनै जानकारी नभएकी तर वैवाहिक सम्बन्धमा बाधिँएकी मेडमले सादगी जीवन र साधु चरित्रको मेरो जीवनलाई नै खुशीसाथ स्वीकारिन् ।

ती महान् सुलक्षणा कन्याको ज्योति, ज्ञान र सहनशीलताको दियो मेरो जीवनमा धपक्क बल्यो । बाल्यकालदेखि नै उद्दण्ड तथा विद्यार्थी काल हँुदै जागीरमा प्रवेश भइसक्दासम्म पनि कुनै परिपक्वता थिएन । म साह्रै नै महामुर्ख, बेफ्वाकको थिएँ । परिवार तथा आफन्त सबैका हरेक विषयमा उदासिन र गैरजिम्मेवार व्यक्ति थिएँ । आमा, बुबा, घरपरिवार तथा आफन्त इष्टमित्रसंग कुनै गहिरो लगाव थिएन । साँच्चै भन्दा पूर्ण लापर्वाही स्वभावको महामुर्ख र गैरजिम्मेवार मानिस थिएँ । यसैले राजा भोज र गंगू तेली (रैति) को प्रसङ्ग तुलना गरिएको हो ।

जीवनमा के त्यस्तो बहार आयो कि सुख्खा भईयो ?

जीवनमा धनसंग्रह, परिवारपालन र जिम्मेवारी बहन जस्ता पक्षमा कुनै चासो थिएन । गार्हस्थ्य जीवनमा प्रवेश भएपछि पनि त्यति धेरै रहेन । आज पनि धन वैभव र भौतिकताप्रति त्यति धेरै कुनै ठूलो लालसा छैन । आधुनिक समाजमा यस्ता महापटमुर्ख नागरिकको भौतिक तथा आर्थिक जीवन कस्तो दयनीय हुँदो हो ? हुन्छ होला ? सही नेतृत्वदायी र सहनशील श्रीमती नपाएको भए, शायद मेरो जीवन पाटीको वास वा सडकमा पो पुगिन्थ्यो कि ? चिन्तन गर्न बाध्य हुन्छु ।

घर परिवार छाडेर पुरानो जमानाका मानिसझैँ सधैँ सधैँ जागीरमा अन्यत्र जिल्लामा बस्दा श्रीमतीलाई एक दिन साथ लगेको होइन र जीवनभर घरमा छाडेको हुँ । अरुका श्रीमान् श्रीमतीको बसाइ र सामिप्यताको साथित्वको तुलना गर्दा मेरी श्रीमतीले मलाई छोडेर डिभोर्स गर्नु अन्याय हुँदैनथ्यो । तर यी सबै अवस्थालाई सहज रुपमा झेल्दै, मलाई निर्वाध रुपमा झन्झटबाट मुक्त गरी घरगृहस्थ सफल पार्ने मेडम नै हुन् । उनीसंगको सम्बन्धले हरेक किसिमको निराशता, अभाव र तिक्ततालाई जीवनबाट हटाएर आशाका बहार ल्याउने र जीवनलाई हराभरा र सार्थक बनाउने काम ग¥यो । मेडमसंगको वैवाहिक सम्बन्ध नै मेरो जीवनको हरेक प्रगति र सफलताको कडी हो भन्ने ठान्दछु ।

वैवाहिक सम्बन्धले दिने सुखको भागीदार मेडममात्र कसरी ?

मेरो घर परिवार ठूलो वटवृक्ष जस्तो थियो । बुबाका १० भाइ बुबाहरुका सन्तान, ९ वटी फुपूहरुका सन्तान र इष्टमित्रको फैलावट, मेरा आफ्ना ७ फुपूहरु सबैको आवतजावत हुने घर थियो । हजुर आमासहित बुबा आमाको संयुक्त परिवार थियो । ती सबैको मर्यादा पालना गर्दै, हजुर आमा र आमालाई निरन्तर सेवासुश्रुषा गर्दै भौतिक शरीरको इहलिला रहेसम्म कुनै गुनासो रहेन । आज पनि ८० वर्षका बुबाको पूर्ण हेरचाह गर्ने र सबै घरपरिवारको व्यवस्थापन गर्ने मेडम नै हुन् ।

उनीसंगको सम्बन्धलाई मैले अहोभाग्य ठान्नु अतिरञ्जनको विषय र बढाइ चढाइ ठान्दिनँ । मेडमसंगको संयोजनका कारण नै म फुक्काचाल भएर आज म देशमा चिनिने रुपमा पुग्न र विकसित हुन सकेको निचोडमा छु । मेडमको निष्ठाले एकजना असामाजिक नागरिकको सम्पूर्ण परिवार सम्हालियो । भताभुङ्ग हुन सक्ने घर बस्यो । मेरा सन्तानले असल आमाको अभिभावकत्व पाए । हामी बीचमा एक आपसमा ठ्याकठुक र बेमेलको बाझाबाझको तीतो नमिठोपनको सामना कहिल्यै गर्न परेन । भाग्य र दैवको खेलमा मसंग जोडिएर मेरो लावारिस डुङ्गालाई सफलतामा पुराउने तर त्यसका लागि मसंग कुनै सर्तसन्धिको माग नगर्ने मेडमको गुण अविस्मरणीय छ । यसर्थ म जस्तो बेवारिस तथा वैवाहिक सम्बन्धको अहोभाग्यमानीले मेडमप्रति कुनै कृतज्ञता र आभारभाव व्यक्त नगरेमा पूर्ण कृतघ्नता हुन्छ ।

वैवाहिक सम्बन्धमा श्रीमतीप्रति यति धेरै आभार र कृतज्ञताभाव अति नै भएन र ?

कत्ति पनि लाग्दैन । मेरो विवाह हुँदा म सुर्खेतको कुनै स्कूलमा प्रधानाध्यापक थिएँ । उनी काठमाण्डौमा बसी पाटन संयुक्त क्याम्पसमा आइएस्तरमा अध्ययनरत थिइन । मेरो तलबभत्ता प्रायः चन्दा र सामाजिक कार्यमा जान्थ्यो, यससम्बन्धी विस्तृत विवरण अन्य अन्य संवादहरुमा स्पष्ट खुलाइ सकेको छु । आर्थिक हैसियतमा म कति निरीह र लाचार थिएँ भने विवाह भएपछि पहिलो पटक विदाइ हुँदासमेत मैले कुनै आर्थिक सहयोग मेडमलाई गर्न सकिनँ । केही आर्थिक सहयोग गर्ने कुराको सोच पनि आएन । हामीबीच कुनै सम्बन्ध नजोडिएको जस्तो गरी बिदावारी भएका थियौँ ।

आश्चर्य के भने, उनले कुनै पनि दिन आर्थिक आवश्यकता सुनाइनन् र रहरको माग पनि गरिनन् । माइती घरका दाजुको आश्रयमा विवाहित छोरीले काठमाण्डौको अध्ययन सिद्धाइन् । तर उक्त दुई वर्ष मैले एक रुपैया दिएको होइन । छोटो समयका लागि एकदुई पटक सुर्खेत गएपनि कुनै रहर व्यक्त र अर्थको माग गरिनन् । तीन वर्षपछि २०४९ माघमा मात्र स्थायी रुपमा सुर्खेतमा बस्ने गरी पुगिन् । सुर्खेतको शिक्षा क्याम्पसबाट २०५३ बिएड सकिन् । त्यही बेला मातृवियोगमा परिन् । सबै कठिनाइ र अवस्थामा सधैँ सकारात्मक हुने मेडमप्रति कृतज्ञता अनौठौ होइन ।

सन्तानका लागि श्रीमतीको दायित्व निर्वाहमा धेरै आभारी हुनुपर्छ र ?

त्यतिबेलाको पढाइ अनुसार मेडमलाई जागीरका राम्रा राम्रा अवसर प्राप्त भए । उनले अवसरलाई गुमाएर पनि सन्तानको हितमा समर्पित हुनु आफ्नो कर्तव्य ठानिन यसै बीचमा मैले जागीरको आम्दानी र घरपरिवारको जिम्मेवारी बहनमा असमर्थ हुने निचोडमा विदेश जाने सोचमा पनि धेरै आर्थिक स्रोत गुमाएँ । तर अन्तमा भिषा आएकोमा साहस नगरेर तथा मेडमले तपाई काम गर्न सक्नुहुन्न भनेपछि साइप्रस गइएन ।

शिक्षक पेसाबाट निजामती सेवाको शिक्षा सेवाको विद्यालय निरीक्षक पदमा प्रवेश भई अर्घाखाँचीमा २०५३ पदस्थापन भएँ । दुई सन्तानकी आमा बनेकी मेडमले बालबालिकालाई हुर्काएर अगाडि बढ्ने क्रममा सिमित आय र स्रोतमा के कसरी व्यवस्थापन गरिन होला ? कुनै दिन, केही कुराको माग र असन्तुष्टि जाहेर गरिनन् । उल्टो २०५७ पौषदेखि गुल्मी बलिथुमको पदमबहादुर माविमा शिक्षक पदमा जागीर खान थालेपछि सबै कुराको जिम्मा आफैँ बहन गर्न थालिन । घरपरिवार चलाउन, छोराछोरी पढाउन, हजुर आमा, आमाबुबा र मूल घर सञ्चालन, औषधीमूलो गर्न जे जे गर्न पर्ने गरेर दुख कष्टसाथ आर्थिक व्यवहार चलाइन् । त्यो अनुपम खटाइ र अविस्मरणीय कार्य सदा हृदयमा छ । त्यो मेडमकै रगत पसिना र खटाइको परिणाम हो । यही कारण नै जीवनमा सबैभन्दा कृतज्ञ र आभारी श्रीमतीप्रति हुन पुगेको हुँ ।

सन्तानले के गर्दैछन् ?

सन्तान दुई हुन् । छोरो जेठो र छोरी कान्छी हुन् । छोराले साधारण व्यवस्थापन विषयमा पढ्यो । छोरीले चाहिँ नर्सिङ्ग शिक्षा पढेकी हुन् । छोरीको विवाह भइसकेको र आफ्नो घर व्यवहारमा श्रीमान्संग विदेशमा छिन् । छोराले चाहिँ बिबिए र समाजशास्त्रमा स्नातकोत्तर गरेको छ । कुनै पेसा व्यवसाय वा जागीरको खोजीमा छ वा आर्थिक उपार्जनतिर ध्यान दिदैँ छ, मलाई कुनै जानकारी छैन । शायद उसको लागि आवश्यकता अनुरुपको काम नपाइएको वा जागीर चाहियो भन्ने महसूश नभइरहेको पनि होला ।

कुरा सुन्दा अवगुण नै अवगुण भएको मानिसलाई के हेरेर मेडमले माया गरिरहनु भा होला ?

आजसम्मको अनुभवमा मेरो पहिलो गुण एक नारीव्रता चरित्र हो । दोस्रो मद्यपान, धु्रमपान र कुनै पनि नसा र लतबाट मुक्त रहनु हो । तेस्रो जुवा, तास र बाजीमा खेलिने कुनै पनि पक्षमा नलाग्नु हो । आजका पुरुषमा यी तीन गुण भेटिनु नै छ महिना वर्ष दिनसम्म पनि श्रीमान् श्रीमती भेट नभएर टाढा बस्दा पनि मायाको पोकाले घेरिनु हो भन्ने मलाई लाग्दछ । यत्ति मात्र होइन, मैले तलबभत्ता बुझेर मेडमलाई हातमा दिएको कुनै स्मरण छैन । तर म घरबाट फर्किँदा भाडा छ वा छैन भनी सोध्ने र आवश्यकता भएमा सधैँ सधैँ खर्च दिएर पठाउने श्रीमती कसले पाएको होला ? यी सबै पक्षमा आफै भिडेर मेरो पेसागत सफलता प्राप्तिमा निरन्तर प्रत्यक्ष तथा अप्रत्यक्ष साथ रहेकी मेडमको गुनासो चाहिँ धर्म, संस्कृति र वैदिक कर्मकाण्डीय विधि विधानको आचारविचारलाई पालना नगरेको छ र शुद्ध आचारणमा बसे हुन्थ्यो भन्ने छ ।

पारिवारिक एकतालाई कसरी सुरक्षा गर्दै आउनु भएको छ ?

प्रायः दार्शनिक चेतका मानिसहरुमा अराजकता, मनोमानी र आफूखुशी प्रवृत्तिले घर गरेको हुन्छ । यसर्थ घर, परिवार, आफन्त, सन्तान र जीवन संगीनीसंग समेत अति कम लगाव हुन्छ, वा सौहार्दता हुँदैन भनिन्छ । त्यस्ता घरका परिवारका मानिसहरुको अनुभव दुखद हुने गरेको सुनिन्छ । दार्शनिक खालका व्यक्तिमा एकातिर कुनै पनि पेसागत कार्यमा निरन्तर एकोहोरिने, सामाजिक कार्य र व्यवहारहरुबाट धेरै टाढा हुने विकृत मानसिकताले घर गरेको हुन्छ । अर्कोतिर घर, परिवार तथा गृहस्थी सञ्चालनका लागि आवश्यक पर्ने न्यूनतम आर्थिक जोहो गर्न र सहयोग पुराउनमा समेत पूर्ण उदासिनता हुन्छ भन्ने गुनासो सुन्ने गरिन्छ । सारमा भन्दा दार्शनिक चेतका मानिसहरुबाट घरव्यवहार तथा गृहस्थ सञ्चालन गर्ने दीगो आर्थिक स्रोतसाधन र आयार्जनको जोहो गर्नमा पूर्ण बेवास्ता गर्ने गरिन्छ ।

एक रथका दुई पाङ्ग्र्रा्रको गति र यति नमिलेमा दुर्घटना हुन्छ भनिएझैँ घरपरिवार तथा श्रीमान् र श्रीमतीमा निरन्तर खटपटको अवस्थाले पारिवारिक विखण्डनको समस्याको खतरा रहन्छ भन्नेहरु धेरै पाइन्छन् । श्रीमान् र श्रीमतीमा मेल नहुने दम्पतीको घरमा शान्ति र सुस्थीर वातावरणको अभाव हुन्छ भन्ने धेरै सुनिन्छ । यसको नकारात्मक परिणामले सन्तानप्रतिको सही अभिभावकत्व र भविष्य निर्माणको भूमिका बहनमा आमाबाबुहरु पूर्णतः असफल हुन्छन्, भन्ने गरिन्छ । फलतः घरव्यवहार तथा जीवनका हरेक घडी र मोडमा सबैतिर नै अनुशासनहिनता सिर्जिन्छ र दुर्घटनाहरु धेरै हुन सक्छन् भन्ने चेतावनी पनि निरन्तर सुनिन्छन् ।

जागीरमा प्रवेश भएदेखि जिल्ला र केन्द्रीय निकाय हुँदै मन्त्रालयबाट निवृत्त हुने अवधिमा आइपुग्दासम्म देशमा राज्य, सरकार तथा असल नेतृत्वको अनुभव गर्न पाइएन र अभाव नै अभाव रह्यो । नेतृत्व तहबाट कोचिङ्ग, मेन्टोरिङ्ग, सुपरीवेक्षण र पेसागत सुपरिवेक्षकको अभावमा काम गर्नुप¥यो । कतिपय सन्दर्भमा आफ्नै बलमिचाइको पिडासित जुध्दै पेसागत उन्नयनमा समर्पित हुन आएको तीतो कथा संगालेको भोगाइ छ ।

जीवनभर सिर्जनशील कार्य थाल्दा चारैतिरको बाधा, व्यवधानमा परेका कर्मचारीका रुपमा चित्रित हुने व्यक्तिमा परियो । आफूलाई लागेका र आफ्नै एकल प्रयासमा थालिएका हरेक कार्यलाई जसरी पनि सम्पन्न गर्ने र आइपर्ने समस्या र चुनौतीहरुलाई चिर्दै लक्ष्यमा पुग्ने सहासी कर्मचारीका रुपमा परिचय बनाइयो । प्रायः आफूले हात हालेको पेसागत क्षेत्रको विषयको कामलाई जसरी पनि फत्ते गरि छाड्ने र नतिजामा पुराउने चरित्र निजामती कर्मचारी वृत्तमा धेरै प्रसिद्ध कमाइयो ।

उमेर छँदा र सम्पूर्ण दुख व्यहोर्दा एक्लै सामना गरी मलाई अलपत्र नपारेकी मेडमले बुढ्यौलीमा झन किन असुरक्षित पार्लिन् र ? यसैले मेरो घर, परिवार र गार्हस्थ्य जीवन सुरक्षित र आनन्दित हुनेमा विश्वस्त छु ।