११ आर्थिक विधेयक संसदमा अलपत्र, छिटो पारित गर्न चेम्बरको माग

-



     सफल आवाज    
     श्रावण ४ गते २०७९ मा प्रकाशित



काठमाडौं, ४ साउन । प्रतिनिधि सभामा विभिन्न ११ आर्थिक विधेयकहरू विचाराधीन अवस्थामा रोकिएका छन् ।

अर्थसम्बन्धी ती विधेयकहरू पारित नहुँदा निजी क्षेत्रको समस्याहरू सम्बोधन हुन सकेको छैन ।

यसबीचमा नेपाल चेम्बर अफ कमर्सले विचाराधीन विभिन्न विधेयकहरू पारित गर्न सभामुख अग्निप्रसाद सापकोटासँग माग गरेको छ ।

मंगलवार सभामुखलाई भेटी चेम्बरका प्रतिनिधिले संसद्मा विचाराधीन अर्थसँग सम्बन्धित विधेयक पारित गर्न माग गरेका हुन् ।

चेम्बर अध्यक्ष राजेन्द्र मल्लसहित पदाधिकारीले विधेयकहरू रोकिँदा निजी क्षेत्रसँग सम्बन्धित कतिपय समस्या सम्बोधन हुन नसकेको सभामुख सापकोटासँग गुनासो गरेका थिए ।

भेटमा अध्यक्ष मल्लले व्यवस्थित ढंगले गाँजाको खेती गर्ने वातावरण बनाउन सभामुखलाई आग्रह गरेका थिए ।

गाँजाको व्यवस्थित उत्पादन तथा निर्यात प्रवर्द्धन गर्न सकिए वर्तमान व्यापार घाटा कम गर्न सकिने अध्यक्ष मल्लको भनाइ छ ।

गाँजा खेतीलाई नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयकलाई तत्काल अघि बढाउन पनि अध्यक्ष मल्लले सभामुख सापकोटाको ध्यानाकर्षण गराए ।

संघीय निर्वाचनअघि अर्थतन्त्रसँग जोडिएका सबै विधेयकहरू पारित भए मुलुकको आर्थिक क्षेत्रले निकास पाउने अध्यक्ष मल्लको भनाइ छ ।

चेम्बर पदाधिकारीसँगको भेटका क्रममा सभामुख सापकोटाले रोकिएका विधेयकहरूलाई अघि बढाउन आफूले पहल गर्ने प्रतिबद्धता जनाए ।

सभामुख सापकोटाले भने, ‘केही विधेयकलाई अघि बढाउन सम्बन्धित निकायमा भनिसकेको छु । बजेटसँग सम्बन्धित विधेयकहरू करिब–करिब सकिएको छ । अरू विधेयकलाई पनि अड्काउन हुँदैन भन्नेमा सचेत छु ।’

सभामुखसँगको भेटका क्रममा चेम्बरका पदाधिकारीले केही विधेयकहरू संसदीय समितिमा झण्डै चार वर्षदेखि रोकिएको र यसले आर्थिक क्षेत्रमा नकारात्मक असर गरेको भन्दै सभामुख सापकोटाको ध्यानाकर्षण गराएका थिए ।