साढे १८ खर्ब नाघ्यो नेपालको सार्वजनिक ऋण

-



     सफल आवाज    
     श्रावण ४ गते २०७९ मा प्रकाशित



काठमाडौं, ४ साउन । नेपालको सार्वजनिक ऋण साढे १८ खर्ब नाघेको छ ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार गत आर्थिक वर्ष २०७८/७९ को तेस्रो त्रैमासिक अर्थात् चैतसम्म सार्वजनिक ऋण १८ खर्ब ५५ अर्ब ६१ करोड रुपैयाँ पुगेको छ ।

जसमध्ये बाह्य ऋण मात्रै नौ खर्ब ७६ अर्ब ४५ करोड रुपैयाँ छ ।

बाँकी आठ खर्ब ७९ अर्ब १५ करोड रुपैयाँ नेपालले आन्तरिक ऋण लिएको छ ।

समीक्षा अवधिभन्दा अघिल्लो त्रैमासिक अर्थात् पुस मसान्तसम्म नेपालको सार्वजनिक ऋण १७ खर्ब २८ अर्ब ९३ करोड रुपैयाँ थियो ।

तीन महिनाकै अवधिमा सरकारले एक खर्ब २६ अर्ब ६८ करोड रुपैयाँ ऋण उठाएको थियो । उक्त अवधिमा सरकारले २७ अर्ब ४६ करोड रुपैयाँ मात्र बाह्य ऋण उठाएको छ ।

आन्तरिक ऋण भने ९९ अर्ब २१ करोड रुपैयाँ थप भएको छ । समग्रमा दोस्रो त्रैमासिकको तुलनामा तेस्रो त्रैमासिकसम्म नेपालको सार्वजनिक ऋण ७.३३ प्रतिशतले बढेको छ ।

कुल गार्हस्थ्य उत्पादनको अनुपातमा सार्वजनिक ऋणको आकार ३८.२५ प्रतिशत पुगेको छ । जसमध्ये बाह्य ऋणको अनुपात २०.१३ प्रतिशत छ भने आन्तरिक ऋणको अनुपात १८.१२ प्रतिशत रहेको छ ।

दोस्रो त्रैमासिकसम्म कुल गार्हस्थ्य उत्पादनको तुलनामा ऋणको अनुपात ४०.५३ प्रतिशत थियो ।

बाह्य ऋणमध्ये ६१ प्रतिशत ऋण बहुपक्षीय दातृ निकायबाट प्राप्त भएको छ भने ३८.९९ प्रतिशत द्विपक्षीय निकायबाट प्राप्त भएको कार्यालयको तथ्याङ्क छ ।

आन्तरिक ऋणतर्फ ५५.७७ प्रतिशत ऋण विकासपत्र तथा अन्यबाट उठाइएको छ भने ४४.२३ प्रतिशत ट्रेजरी बिल बिक्रीबाट उठाइएको छ ।