भारतीय पुँजीबजारका उत्कृष्ट अभ्यास अनुकरणीय: सेबोन

-



     सफल आवाज    
     श्रावण ४ गते २०७९ मा प्रकाशित



काठमाडौं, ४ साउन । नेपाल धितोपत्र बोर्ड(सेबोन)को पदाधिकारी टोली भारतीय पुँजीबजारको अध्ययन भ्रमण गरेर फर्किएको छ । टोली भारतीय पुँजी बजारको नियामक निकाय सेक्युरिटीज एण्ड एक्सचेञ्ज बोर्ड अफ इण्डिया (सेबी) को निमन्त्रणामा गत असार २७ गतेदेखिचार दिने अध्ययन भ्रमणमा गएको थियो।

सेबोन अध्यक्ष रमेशकुमार हमालको नेतृत्वमा रहेको टोलीले सेबी, बम्बई स्टक एक्सचेञ्ज(बीएसई), नेशनल इन्स्टिच्युट अफ सेक्युरिटी मार्केट्स(एनआईएसएम) र मल्टी कमोडिटी एक्सचेज अफ इण्डिया(एमसीएक्स) का उच्च पदाधिकारीसँग भेटघाट तथा विभिन्न विषयमा छलफल गरेको सेबोनका सहायक प्रवक्ता तेजप्रसाद देवकोटाले जानकारी दिए । 

भ्रमणका क्रममा सेबी अध्यक्ष माधवी पुरी बुच र बोर्ड अध्यक्ष हमालबीच द्विपक्षीय सहयोग आदानप्रदान सम्बन्धमा छलफल भएको थियो। त्यस क्रममा दुवै अध्यक्षले आगामी दिनमा दीर्घकालीन साझेदारी स्थापित गरी समन्वय र सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे ।

सेबोनले नेपालको पुँजी बजार विकासका लागि विशेषगरी संस्थागत क्षमता अभिवृद्धि, बजार नियमन तथा सुपरिवेक्षणमा स्वचालित अनलाइन सुपरिवेक्षण प्रणाली, नियामकीय सूचना प्रविधि व्यवस्था र वित्तीय साक्षरता अभिवृद्धिका लागि भारतीय पुँजी बजारमा भइरहेका उत्कृष्ट अभ्यासहरु लागू गर्ने सम्बन्धमा सहयोग आदानप्रदान बारे छलफल भएको बताएको छ । 

अध्यक्ष हमालसहितको भ्रमण टोलीले बीएसईका प्रमुख कार्यकारी अधिकृत आशिषकुमार चौहानसहित उच्च पदाधिकारीहरुसँको भेटका क्रममा एक्सचेञ्जले प्रयोग गरिरहेको कारोबार प्रणाली, सुपरिवेक्षणका लागि गरेको व्यवस्था र साइबर जोखिम कम गर्नका लागि गरेको व्यवस्था सम्बन्धमा अवलोकन गरी जानकारी संकलन गरेको थियो । 

सहायक प्रवक्ता देवकोटाका अनुसार भ्रमणका क्रममा नियामक संयन्त्र, नियामक प्रणालीको डिजिटलाइजेशन, एआईमा आधारित निगरानी प्रणाली, लगानीकर्ताको गुनासो सुन्ने संयन्त्र, कारोबार प्रणाली तथा वित्तीय साक्षरताबारे पनि अन्तरक्रियात्मक छलफल भएको थियो ।