बैंकरहरुको नजरमा मौद्रिक नीति: के भन्छन् सरोकारवालाहरु?

-



     सफल आवाज    
     श्रावण ६ गते २०७९ मा प्रकाशित



काठमाडौं, ६ साउन । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आज चालु आर्थिक वर्ष २०७९/८०को मौद्रिक नीति सार्वजनिक गरेका छन्। उक्त मौद्रिक नीतिमाथि व्यवसायीलगायत सरोकारवालाहरूले फरक फरक प्रतिक्रिया दिएका छन् ।

अर्थतन्त्र धान्ने निजी क्षेत्रका व्यवसायी विषम परिस्थिति भए पनि मौद्रिक नीति आएकामा खुशी हुन परेको महसुस गर्दैछन् भने बैंकरहरुले भने राष्ट्र बैंकले आउँदो निर्वाचनलाई मध्यनजर गर्दै मौद्रिक नीति जारी गरिएको टिप्पणी गरेका छन् ।

कसिलो नीति ल्याउने संकेत गर्दै आएको केन्द्रीय बैंकले बैंकिङ क्षेत्रमा तरलता अभाव, डलर सञ्चितिमा चाप लगायत समस्याका कारण अर्थतन्त्र धराशायी भएको समयमा मौद्रिक नीतिमा सो संकेत अनुरुपकै व्यवस्था गरेको छ ।

नीतिगत व्यवस्थामा केही कडाई गर्दा अर्थतन्त्रमा तत्कालका लागि चाप पर्ने देखिएको सरोकारवालाहको भनाइ छ। तर कालान्तरमा आर्थिक संकट टार्न यो सहयोगीसिद्ध हुने उनीहरुको अपेक्षा छ।

बैंक सञ्चालकहरूको छाता संगठन नेपाल बैंक तथा वित्तीय परिसंघका वरिष्ठ उपाध्यक्ष एवम् मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहका अनुसार मौद्रिक नीति निर्वाचन लक्षित रहेको छ । अहिलेको आर्थिक परिस्थितिलाई हेरेर मौद्रिक नीति ल्याइएको बताउँदै उनले भने, ‘मौद्रिक नीति निर्वाचन लक्षित आएको महसुस गरेको छु।’

यसैगरी वाणिज्य बैंकहरूको छाता संगठन नेपाल बैंकर्स संघका उपाध्यक्ष सुनिल केसीले विषम परिस्थितिमा आएको भए पनि मौद्रिक नीति राम्रो रहेको विचार व्यक्त गरे । तर उनले उक्त नीतिका कारण बैंकको ब्याजदर बढ्ने हुनाले केही असर पर्ने बताए । ‘तरलता व्यवस्थापन तथा विदेशी मुद्राको व्यवस्थापन गर्ने हिसाबले नीति ल्याइएको छ,’ उनले भने।

यसैगरी विकास बैंकहरूको छाता संगठन डेभलपमेन्ट बैंकर्स एसोसियसन अफ नेपालका अध्यक्ष तथा मुक्तिनाथ विकास बैंकका सीईओ प्रद्युमन पोखरेलका अनुसार सीआरआर ३ प्रतिशतबाट ४ प्रतिशत पुर्याउँदा बैंकहरूबाट अब कम्तीमा ५० अर्ब रुपैयाँ राष्ट्र बैंकमै फर्कनेछ । यस्तै स्थायी तरलता सुविधा अर्थात् एसएसएफको दर १ प्रतिशतले बढाइएकाले यसले बैंकको लागत बढाउने उनको भनाइ छ ।