हुलाक टिकटले देशको सभ्यता जोगाएको छ : मन्त्री थापा

-



     सफल आवाज    
     श्रावण ७ गते २०७९ मा प्रकाशित



पाेखरा, ७ साउन । गण्डकी प्रदेश सरकारका कानून, संचार तथा प्रदेश सभा मामिला मन्त्री विन्दु कुमार थापाले हुलाक टिकटले देशको सभ्यता झल्किने बताएका छन् । पश्चिमाञ्चल फिलाटेलिक सोसाइटीले शनिबार पोखरामा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताए ।

‘हुलाक टिकट मार्फत देशको सभ्यता जोगिएको छ । कला, संस्कृतिको संरक्षण गर्दै एतिहासिक महत्वका विषयवस्तुलाई टिकट मार्फत झल्किाउनु आफैमा महत्वपूर्ण काम हो । पश्चिमाञ्चल फिलाटेलिक सोसाइटीले एतिहासिक महत्व बोकेका टिकटहरुलाई संकलन गरी संरक्षण गरेको काम प्रशंसनिय छ ।’, उनले भने।

मन्त्री थापाले हुलाक टिकटहरुको संग्रह गरी पर्यटन क्षेत्रमा समेत टेवा पुग्ने विश्वास लिए । देश विदेशका विभिन्न टिकटहरुलाई संकलन गरी त्यसको महत्व दर्शिने गरी संग्राहलयको निर्माण गर्नुपर्ने र पर्यटक आकर्षणको नयाँ गन्तव्यका रुपमा विकास गर्नुपर्ने आवश्यकतालाई उनले औंल्याए।

पश्चिमाञ्चल फिलाटेलिक समाजले गरेका कामप्रति गण्डकी सरकार समेत साथमा रहेको प्रतिबद्धता मन्त्री थापाको छ । उनले प्रदेश सरकार हातेमालो गरेर अगाडि बढ्न तयार रहेको बताए।

कार्यक्रममा प्रो.डा. याम बहादुर पौडेलले सोसाइटीले विश्वभरको सभ्यतालाई संरक्षण गर्ने दायित्वका साथ अगाडि बढीरहेको देख्दा खुशी लागेको बताए।

जिल्ला प्रशासन कार्यालय कास्कीका साहयक प्रमुख जिल्ला अधिकारी अनिल शाहीले हुलाकका टिकटले देश बोकिरहेको बताए। डा.कुश्माकर न्यौपानेले सतकर्म गरेर जिउनु नै मानवीय धर्म भएको उल्लेख गर्दै तिरस्कार गरिएका चीजहरुलाई जोगाउने कार्य आफैमा महत्वपूर्ण भएको बताए।

क्षेत्रीय हुलाक निर्देशनालयकी साधना श्रेष्ठले टिकटले सामाजिक, सांस्कृति, प्राकृतिक गतिविधिलाई सजीव राख्न काम गरिरहेको अभिव्यक्ति दिइन। प्रो.डा.इन्द्र प्रसाद तिवारीले हुलाकका टिकटमा नै देशको पहिचान छुपेको र संरक्षण गर्ने दायित्व सबैको भएको उल्लेख गरे।

सोसाइटीका सचिव तुलसीराम खड्काले देश तथा विदेशमा छापिएका टिकटहरुको विषयमा जानकारी गराए। कार्यक्रम सोसाइटीका अध्यक्ष रामप्रसाद भट्टराईको अध्यक्षतामा सम्पन्न भएको थियो ।