पहिलो फिल्मबाट निकालिएका राजेश, जो बने ‘महानायक’

-



     बिनय के.सी.    
     असाेज १७ गते २०७७ मा प्रकाशित



‘नेपाली चलचित्र क्षेत्रलाई नै मतलब नगर्ने व्यक्तिले पनि चलचित्र क्षेत्रको एक नाम चिन्छ । त्यो नाम हो– राजेश हमाल ।’ यो कुरालाई धेरैले स्वीकारेका छन् । चलचित्र क्षेत्रकै व्यक्तिहरुले पनि यस कुरालाई नकार्न सकेका छैनन् । हुन पनि हो, गाउँदेखि शहरसम्म राजेशले आफ्नो पहिचान स्थापित गरेका छन् । उनले गाउँका व्यथादेखि शहरका कथासम्म आफ्नो अभिनयमार्फत् दर्शकसमक्ष पस्किएका छन् ।

आफ्नो चलचित्र यात्रामा राजेश गरिव बने, किसान बने, मजदुर बने । त्यो मात्रै होइन, कुनै चलचित्रमा उनी धनाढ्य शहरिया पनि बने । उनी आफूले चलचित्रमार्फत् हरेक वर्गका व्यक्तिहरुको जिवनी बुझ्ने अवसर पाएकोमा आफूलाई गर्व गर्छन् । उनले भन्ने गरेका छन्, ‘मलाई गाउँदेखि शहरसम्म रुचाइयो । किनभने मैले कुनै न कुनै तवरबाट उहाँहरुको कथा भनेको थिए ।’

के करिअरको सुरुवात गर्ने समय राजेशले यो सफलता सोचेका थिए होलान् त ?

राजेश आफूले कहिल्यै सफलताको विषयमा नसोचेको बताउँछन् । उनी भन्छन्, ‘मैले करिअर सुरुवात गर्दा चलचित्र नै धेरै बन्दैनन् थिए । एक चलचित्र गरेँ, अब अर्को चलचित्र बन्ला कि नबन्ला भन्ने थियो । त्यो अवस्थामा मैले करिअर सुरु गरेको हुँ ।’

राजेश हमाल त्यो बेला चलचित्र क्षेत्रमा प्रवेश गरेका हुन्, जुन समय नेपाली चलचित्र क्षेत्रको अवस्था साच्चिकै नाजुक थियो । चलचित्र क्षेत्रमा काम गरेर जीवन चलाउन सक्ने कुरामा शंका नै थियो ।

त्यहीँ अवस्थामा राजेशले चलचित्र क्षेत्रमा काम गर्ने सपना बुने । सपना साकार गर्न लागिपरे । परिवारको इच्छा विपरित गएर राजेशले चलचित्र क्षेत्रमा काम गर्ने निधो गरेका थिए ।

पढाईमा अब्बल राजेशले ‘भए पास नभए अभ्यास’ सोचेर नै चलचित्र क्षेत्रमा पाइला सुरु गरेका थिए । राजेश भन्छन्, ‘मेरो उमेर पनि त्यति भएको थिएन । केही वर्ष चलचित्र क्षेत्रमा प्रयास गर्छु, भएन भने रहर पूरा गरेर अर्को क्षेत्र सुरु गर्छु भन्ने सोचेर नै चलचित्र क्षेत्रमा लागेँ ।’

पहिलो फिल्मबाट नै आउट !

राजेशले पहिलो चलचित्रका रुपमा दीपक रायमाझीको चलचित्रमा काम गर्ने पक्का भयो । उक्त चलचित्रमा राजेशको जोडी थिइन्, कृष्टि मैनाली । तर, उक्त चलचित्रमा राजेशले काम गर्न पाएनन् । कृष्टिसँग प्रेममा रहेको आरोपमा उनलाई चलचित्रबाट निकालिएको थियो । राजेशलाई पहिलो गाँसमा नै ढुंगा पर्‍यो ।

चलचित्रबाट निकालिएको विषयमा राजेश भन्छन्, ‘त्यो बेला प्रेमका कारण चलचित्रबाट निकालिएको भन्ने हल्ला चल्यो । तर, मलाई आफैँ गर्न सक्दिनँ भनेर छाडोस् भन्ने मनसायले क्लोजअप खिच्दा पनि धेरै लाइट दिने गर्नुहुन्थ्यो । मेरो आँखाबाट आशु आउँथ्यो । अनि राजेशले गर्न सक्दैन भनेर निकाल्दिनुभयो ।’

राजेश कृष्टि र आफूबीच त्यो समय कुनै प्रेम सम्बन्ध नै नरेहको दावी गर्छन् । ‘हाम्रो प्रेम थियो भने त्यसपछि पनि भेट्थ्यौँ होला’, राजेश भन्छन्, ‘चलचित्रबाट बाहिरिएपछि हामी कहिल्यै भेटेनौँ, बोलेनौँ ।’

डेब्यु फिल्मबाट नै चर्चाको शिखरमा

राजेशलाई निकालिएको उक्त चलचित्रमा राजेशको केही दृष्यहरु कैद भएका थिए । सायद राजेशले ती दृष्यहरुमा राम्रो काम देखाए होला, त्यसैले जुन टिमले उनलाई पहिलो चलचित्रबाट निकाल्यो सोही टिमले राजेशलाई अर्को चलचित्र अफर गर्‍यो- ‘युगदेखि युगसम्म’ । दीपक रायमाझीले निर्देशन गरेको यस चलचित्रमा राजेशले कृष्टि मैनालीसँगै स्कृन सेयर गरेका थिए ।

जब राजेशको डेब्यु चलचित्र रिलिज भयो । त्यसपछि राजेशको निकै चर्चा भयो । राजेशको कपाल, लुक्स, एक्सन, डाइलग बोल्ने शैली सबैको तारिफ भयो । कतिपयले त राजेशलाई बलिउड स्टारहरुसँग तुलना गरे ।

पहिलो चलचित्रबाट नै राजेशले यस्तो चर्चा कमाए कि, उनी नेपालको पहिलो स्टारडम जमाउने अभिनेता बने ।

पहिलो चलचित्रमा नै राम्रो काम देखाएका राजेशलाई अब चलचित्रको खाँचो हुने भएन । उनले दोस्रो चलचित्रको रुपमा प्रकाश थापाको निर्देशनमा बनेको चलचित्र ‘अधिकार’मा काम गरे । यस चलचित्रले पनि उनलाई थप चर्चा दियो । ‘कसम, भाउजू, देउकी, देउता’ लगायतका चलचित्रमा काम गरेपछि राजेश स्थापित अभिनेता भइसकेका थिए ।

आफ्नो चलचित्रको सुरुवाती ग्राफलाई लिएर पनि राजेश खुसी छन् । उनी भन्छन्, ‘एक चलचित्र पायो, अर्को चलचित्र कहाँबाट आउँला भन्ने त्यो समयमा मैले त निरन्तर चलचित्रमा काम गर्ने अवसर पाए । त्यो त मेरो लागि सौभाग्य थियो ।’

अनि लाग्न थाल्यो आरोप

राजेशको स्टारडक यस्तो थियो कि, राजेशको टाउको बिक्थ्यो । पोस्टरमा राजेशको टाउको राखेको भरमा चलचित्रले बम्पर व्यापार गर्थ्यो । त्यसैले निर्माता, निर्देशकहरु राजेशलाई आफ्नो चलचित्रमा अभिनय गराउन महिनौ कुर्न तयार हुन्थे । त्यहीँ समय राजेशलाई एउटा आरोप लाग्यो- ‘राजेशले संख्यामा ध्यान दिए । क्वालिटीका चलचित्रमा काम गरेनन् ।’

तर, राजेश आफूले चाहेर नराम्रो र धेरै चलचित्रमा काम नगरेको दावी गर्छन् । उनी भन्छन्, ‘मैले भनिहालेँ, म यस्तो समय चलचित्र क्षेत्रमा आएको थिए कि त्यो समय चलचित्र नै बन्छ बन्दैन भन्ने पक्का थिएन । त्यो समय मैले यो चलचित्र गर्दिन, त्यो चलचित्र गर्दिन भनेको भए आज चलचित्र क्षेत्र यहाँ आइपुग्ने थिएन ।’

चलचित्र क्षेत्रलाई चलायमान बनाउन, चलचित्र क्षेत्रमा आबद्ध सम्पूर्ण कलाकार तथा प्रविधिकलाई काम दिन पनि धेरै चलचित्रमा काम गरेको राजेश स्पष्ट पार्छन् । ‘मैले एक चलचित्रमा साइन गरे भने त्यहाँ धेरै जाना कलाकारहरुले काम पाउनु हुन्थ्यो । धेरै प्राविधिक रोजगार हुन्थे’, राजेश भन्छन्, ‘हो, उहाँहरुको जिविकोपार्जनको लागि पनि मैले काम गरेँ ।’

‘कलाकार तथा प्राविधिकलाई सोचेर नराम्रो चलचित्रमा पनि किन काम गर्नुभयो ?’, हाम्रो प्रश्न तेर्सियो ।

राजेश आफूले कुनै पनि चलचित्र नराम्रो नै छ भन्ने पत्तो पाएर काम नगरेको बताउँछन् । ‘जो जसले पनि चलचित्रको अफर गर्नुहुन्थ्यो सबैले राम्रै बनाउँछु भन्नुहुन्थ्यो । विश्वासले काम गर्दा कतिपय चलचित्र नराम्रो भए होला’, राजेश निर्माता-निर्देशकतर्फ लक्षित देखिए ।

राजेश अभिनित धेरै चलचित्र फ्लाप छन् । तर, राजेश यस कुरालाई मान्न तयार छैनन् । करिअरमा सफल भएकै कारण धेरै निर्माता-निर्देशक आफ्नो पछि लाग्ने गरेको राजेश बताउँछन् ।

सधै विवादित ‘महानायक’ उपाधि

राजेशको नामो अगाडि ‘महानायक’ उपाधी जोड्ने गरिन्छ । तर, यो उपाधि सबै विवादित रह्यो । जबदेखि राजेशलाई महानायक भन्न सुरु गरियो, त्यही समयदेखि नै यस उपाधि विवादित बनेको थियो ।

धेरैले राजेशले महानायक बन्न लायक कुनै काम नगरेको आरोप लगाए । तर, राजेश कहिल्यै विवादको पछि लागेनन् । विवाद गर्नेहरु विवाद गर्दै रहे, राजेश आफ्नो लयमा बगिरहे ।

उपाधी कोही कसैले दिने भन्दा पनि दर्शकले नै दिने राजेशको बुझाई छ । दर्शकले ‘महानायक’ सम्बोधन गर्दा राजेश निकै खुसी हुन्छन् । राजेश भन्छन्, ‘मलाई कोही कसैले दिएको पधावीभन्दा पनि दर्शकले दिएको पधावी स्विकार्य छ । उहाँहरुले मलाई सम्मान तथा माया गरेर महानायक भन्नुहुन्छ । यसमा खुसी नै छु ।’

राजेशको ‘महानायक’ विवाद कोरोनाका कारण सुस्ताएको चलचित्र बजारमा पनि निकै चर्कियो । राजेशको महानायक उपाधिमाथि केही चलचित्रकर्मीहरुले नै प्रश्न उठाए । तर, उनीहरु दर्शकको निशानामा परे । उनीहरुमाथि दर्शक खनिए ।

अन्तत: राजेशले नै आफ्नो शुभचिन्तकहरुलाई संयमित हुन आग्रह गरेपछि विवाद केही साम्य भएको थियो ।

चलचित्र क्षेत्रमा कमब्याकको पर्खाइ

लामो समय चलचित्र क्षेत्रमा एकछत्र राज गरेका राजेश हमाल पछिल्लो समय चलचित्र क्षेत्रमा खासै सक्रिय छैनन् । पछिल्लो केही चलचित्रहरुले आशातित सफलता नपाएपछि राजेशले चलचित्र क्षेत्रबाट केही विश्राम लिएका छन् ।

राजेशलाई पर्दामा दर्शकले निकै खोजिरहेका छन् । राजेशलाई चलचित्रमा फर्किन आग्रह गर्नेहरुको संख्या कम छैन । त्यसैले, राजेश पनि पुनः चलचित्र क्षेत्रमा कमब्याकको सोचमा छन् ।

राजेश भन्छन्, ‘मैले आफ्नो जिन्दगीको लामो उमेर बिताएको यस क्षेत्रबाट टाढा भएर त म बस्नै सक्दिन । त्योमाथि दर्शकहरु मप्रति निकै आशावादी हुनुहुन्छ । उहाँहरुकै लागि भएपनि पक्कै चलचित्र क्षेत्रमा कमब्याक गर्नेछु ।’

राजेशले चलचित्र ‘प्रेम गीत ३’मा काम गर्ने चर्चा चलेको थियो । तर, राजेशले उक्त चलचित्रबाट पनि हात झिके । खबर छ कि,राजेश चाडैं एक धमकेदार चलचित्रबाट चलचित्र क्षेत्रमा कमब्याक गर्दैछन् ।