गणपति लघुवित्तको खुद नाफा घट्यो, ईपीएस पनि ओरालो

-



     सफल आवाज    
     श्रावण १७ गते २०७९ मा प्रकाशित



काठमाडौं, १७ साउन । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडको गत आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमाससम्म खुद नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा घटेको छ । कम्पनीले हालै सार्वजनिक गरेको आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफामा कमी आएको हो ।

सार्वजनिक विवरण अनुसार गत आर्थिक वर्षको असार मसान्तसम्ममा उक्त लघुवित्तको खुद नाफा १ करोड ८६ लाख १६ हजार रुपैयाँ रहेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा संस्थाको खुद नाफा ४ करोड ११ लाख ३८ हजार रुपैयाँ रहेको थियो। यसरी हेर्दा गत आर्थिक वर्षमा संस्थाको खुद नाफामा ५४.७५ प्रतिशत अर्थात् २ करोड २५ लाख २२ हजार रुपैयाँले कमी आएको देखिन्छ ।

समीक्षा आवधिमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा दुवै घटेकाले खुद नाफामा पनि कमी आएको विवरणले देखाएको छ । आर्थिक वर्ष २०७८/७९ को असार मसान्तसम्म लघुवित्तको खुद ब्याज आम्दानी ९.१७ प्रतिशत घटेको छ र सञ्चालन आम्दानी ०.५७ प्रतिशत बढेको छ तर सञ्चालन मुनाफा भने ७०.२७ प्रतिशत घटेको छ ।

यो अवधिमा लघुवित्तले चुक्ता पुँजी १८.९९ प्रतिशत बढाउन सफल भएको छ तर कम्पनीको जगेडा कोष १३.६५ प्रतिशतले घटेको विवरणमा उल्लेख छ । यस्तै संस्थाले सापटी ४२.४० प्रतिशत, निक्षेप ३६.५७ प्रतिशत तथा कर्जा ४१.८७ प्रतिशतले वृद्धि गर्न सफल भएको पाइएको छ।

समीक्षा अवधिमा यो संस्थाको प्रति सेयर आम्दानी १२.३८ रुपैयाँमा झरेको छ। यो अवधिमा प्रति सेयर नेटवर्थ १३९.४६ रुपैयाँ रहेको छ साथै मूल्य आम्दानी अनुपात अर्थात् पीई रेसियो ७६.९५ गुणा रहेको विवरणले देखाएको छ।