गुणस्तरहीन खाद्यवस्तु उत्पादन गर्ने ११५ कम्पनीमाथि मुद्दा दायर

-



     सफल आवाज    
     श्रावण १९ गते २०७९ मा प्रकाशित



काठमाडौं, १९ साउन । खाद्य ऐन, २०२३ विपरीत अखाद्य वस्तु उत्पादन गर्ने १ सय १५ उत्पादक कम्पनी कानुनी कारबाहीमा पर्ने भएका छन् । खाद्यान्नमा लेबल नभएका, न्यूनगुणस्तर भएका, ऐन नियमविपरीत, दूषित, अनुज्ञापत्र नलिएका र कोलिफर्म मिसिएका खाद्य तथा पेयपदार्थ उत्पादन गरेका ती कम्पनीलाई खाद्य ऐन, २०२३ बमोजिम कानुनी कारबाही गरिने भएको हो ।

कारबाहीमा पर्ने कम्पनीमा दालमोठ, मासु, तरकारी, मिक्स मसला तथा अन्य मसलाजन्य पदार्थ, पाउरोटी, दही, दाना, प्रशोधित पिउने पानी, चाउचाउ, चिया, मुसुरोको दाल, घ्यू, आयातित तोरीको तेल, गाईवस्तुको दाना, चाउमिन, मह, बेकरी, गहुँको पीठो, चामल, पेडा, सूर्यमुखी तेल, पोष्टा दाना, क्यारामेल सस, कुखुराको दाना, बिस्कुट, ममः, भेज सस, पुष्टकारी, भेनेगर र गुँदपाक लगायत रहेका छन् ।

उनीहरुमाथि अखाद्य वस्तु उत्पादन गरी बिक्री वितरण गरेको अभियोगमा कानूनी कारबाही गरिने खाद्यप्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको छ ।

२०२३ बनेको यो ऐनले सर्वसाधारण जनताको स्वास्थ्य तथा सुविधा कायम राख्न खाद्य पदार्थमा कुनै अवाञ्छनीय मिसावट रोक्न वा खाद्य पदार्थमा रहेको स्वभाविक कुनै गुण वा उपयोगिता घटाउन वा झिक्न नपाउने व्यवस्था गरेको छ ।

यस्ता अवाञ्छित र कानून विपरीतका काम गर्ने विभिन्न संस्थामाथि विभागले आर्थिक वर्ष २०७७/७८ मा १ सय ओटा मुद्दा दर्ता गरेको थियो भने गत आर्थिक वर्षभरी विभागले ११५ कम्पनीलाई सम्बन्धित जिल्ला प्रशासन कार्यालय एवं जिल्ला अदालतमा खाद्य ऐन, २०२३ अनुसार कानुनी कारबाहीको माग गर्दे मुद्दा दायर गरेको छ ।

विभागका प्रवक्ता मोहनकृष्ण महर्जनका अनुसार अभियोग प्रमाणित भएमा दूषित खाद्य पदार्थ उत्पादन तथा बिक्री वितरण गर्ने कम्पनीलाई खाद्य ऐनले पाँच वर्षसम्म कैद वा रु ५० हजारसम्म जरिवाना वा दुवै सजाय हुनसक्ने व्यवस्था गरेको छ ।