गत आवमा वाणिज्य बैंकहरूकाे नाफा २३ प्रतिशतले बढ्याे

-



     सफल आवाज    
     श्रावण २२ गते २०७९ मा प्रकाशित



काठमाडौं, २२ साउन । वाणिज्य बैंकहरूको नाफा २३ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । गत आर्थिक वर्षको चौथो त्रैमासिकको सार्वजनिक वित्तीय विवरण अनुसार गत आवमा बैङ्कहरूले अघिल्लो आवको तुलनामा २३.१४ प्रतिसतले नाफा बढाउन सफल भएका हुन् ।

गत आवका वाणिज्य बैङ्कहरूले ७४ अर्ब ८० करोड मुनाफा आर्जन गरेका छन् । गत आवको सुरुवाती देखिनै बैङ्कहरूमा तरलता अभावको बावजुत बैङ्कहरूले आफ्नो मुनाफा बढाउन सफल भएका छन् ।

याे समयमा ३ वाणिज्य बैङ्कको नाफा घट्दा अन्य २३ ओटा बैङ्कहरूले भने बढाएका छन् । कोरोनाको असर बाँकी नै रहेको अवस्था र कर्जा लगानी सोचे जति गर्न नपाएको अवस्थामा पनि बैङ्कहरूको ग्रोथ राम्रो देखिएको हो ।

अघिल्लो आवमा तेस्रो भएको पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैङ्क गत आवमा १ नम्बरको ताज पाउन सफल भएको छ । सरकारी फन्डको परिचालनले गर्दा बजारमा आक्रामक लगानी गर्न सफल राष्ट्रिय वाणिज्य बैङ्कले अन्य निजी बैङ्कहरूलाई उछिनेको हो । अघिल्लो आवमा १ नम्बर बनेको नविल बैङ्क गत आवमा तेस्रो बनेको छ ।

राष्ट्रिय वाणिज्य बैङ्कले ५ अर्ब २१ करोड मुनाफा आर्जन गर्दा निजी क्षेत्रको ग्लोवल आईएमई बैङ्कले ५ अर्ब २० करोड नाफा गर्न सफल भएको छ । त्यस्तै तेस्रो नम्बरमा रहेको नविल बैङ्कले ४ अर्ब ९७ करोड मुनाफा गरेको हो ।

अघिल्लो अवामा पनि चौथो नम्बरमा रहेको नेपाल इन्भेस्टमेन्ट बैङ्क गत आवमा पनि चौथो भएको छ । गत आवमा स्टाडर्ड चाटर्ड, माछापुच्छ्रे, सिटिजन्स, एभरेस्ट, प्रभु, सनराइज, एनसिसि बैङ्कको नाफामा व्यापक वृद्धि भएको छ ।

आव २०७७/७८ मा अन्तिम अवस्थामा रहेको सिभिल बैङ्कले सेन्चुरी बैङ्कलाई उछिनेको छ । २६ वाणिज्य बैङ्कमध्ये अघिल्लो आवमा अरबपति क्लबमा पुग्न नसकेका नेपाल एसविआई, सिभिल र सेन्चुरी सबै गत आवमा अरबपति क्लबमा पुगेका छन् ।