
काठमाडौँ, २३ साउन । वन तथा वातावरणमन्त्री प्रदीप यादवले नेपाललाई प्लाष्टिक प्रदूषण मुक्त बनाउन आफु प्रतिबद्ध रहेको बताएका छन् । दक्षिण एसियाली देशहरुमा रहेका नदी तथा समुद्रलाई प्लाष्टिक प्रदूषण मुक्त बनाउन दक्षिण एसिया सहकारी वातावरण कार्यक्रम (सासेप) ले आज आयोजना गरेको बृहत् कार्यशालामा बोल्दै मन्त्री यादवले नेपाललाई प्लाष्टिकजन्य फोहर र प्रदूषण नियन्त्रण गर्न लागिपरेको बताए ।
“प्लाष्टिकजन्य प्रदूषण अहिलेको सबैभन्दा ठूलो समस्यामध्ये एक हो, यसको समाधान खोज्न हामीले ढिलो गर्नु हुँदैन,” मन्त्री यादवले भने । कार्यक्रममा देश तथा विदेशका सरोकारवाला, परामर्शदाता तथा निकायहरुको सहभागिता रहेको थियो ।
मन्त्री भएपछि छोटो समयमै धेरै कामहरुको सुरुवात गरेको दावी गर्दै उनले ४० माइक्रोन भन्दा कम मोटाईको प्लाष्टिकको प्रतिबन्धलाई कडाईका साथ कार्यान्वयन गर्न आफूले केही दिनअघि मन्त्रालयबाट एउटा सूचना जारी गरेर सम्बन्धित निकायहरुलाई निर्देशन दिएको बताए ।
यसबाहेक उनले प्लाष्टिकजन्य पुष्पगुच्छा तथा माला आयात, बिक्रीवितरण र भण्डारणमा पनि प्रतिबन्ध लगाएको जानकारी दिए । प्रतिबन्धले प्रदूषण न्यूनीकरण गर्नुका साथै देशमा प्राकृतिक फूल उत्पादन गर्ने कृषकहरुलाई प्रोत्साहन गर्ने र व्यापार घाटासमेत कम गर्ने उनको विश्वास थियो । आगामी भदौ १ गतेदेखि प्लाष्टिक प्रदूषण मुक्त बनाउन थप कामहरु पनि हुन गइरहेको उनले बताए ।

यस्तै वीरगञ्जस्थित सिर्सिया नदीमा भइरहेको औद्योगिक र मानवीय प्रदूषणलाई नियन्त्रण गर्नका लागि मन्त्रालय तथा मातहतका निकायबाट महत्वपूर्ण कामहरु भइरहेको बताउँदै उनले भने, “वीरगञ्जको सिर्सिया नदीलाई प्रदूषणमूक्त बनाउन म लागिपरेको छु, मन्त्रालयबाट खटेको एउटा विज्ञहरुको टोलीले त्यहाँ अनुगमन गर्दैछ, अनुगमनको प्रतिवेदन आउनासाथ नदी प्रदूषित गर्ने उद्योगहरुलाई कारबाही गर्ने प्रकिया सुरु हुन्छ ।”
मन्त्री यादवले प्लाष्टिक प्रदूषण मुक्त बनाउन हामी एक्लैले चालेका कदमहरु अपर्याप्त हुन सक्ने भएकाले अन्तर्राष्ट्रिय स्तरबाट सहयोगको पनि आवश्यकता रहेको औंल्याए । कार्यक्रममा मन्त्रालयका सचिव डा. प्रेम नारायण कँडेल, सासेपका महानिर्देशक एमडी मसुमुर रहमान तथा विश्व वैंकका प्रतिनिधिलगायतको सहभागिता रहेको थियो ।






काठमाडौं, ९ मङ्सिर । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चार महिना (कात्तिक मसान्त) सम्ममा…
प्योङयाङ, ९ मङ्सिर । उत्तर कोरियाले स्विट्जरल्यान्डको कूटनीतिक कार्यालय प्रमुख सिल्भेन एस्टियरलाई ४८ घण्टाभित्र देश…
जियुक्वान (चीन), ९ मङ्सिर । चीनले पहिलो पटक विदेशी अन्तरिक्ष यात्रीलाई समेत सहभागी गराउँदै बुधबार दुई…
वासिङ्टन, ९ मङ्सिर । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले चीन र युरोपेली सङ्घ (इयु) सहित… 



