विदेशी मुद्रा अपचलन अभियोगमा ४ जनाविरुद्ध मुद्दा दायर

-



     सफल आवाज    
     श्रावण २४ गते २०७९ मा प्रकाशित



काठमाडौं, २४ साउन । राजस्व अनुसन्धान विभागले विदेशी विनिमय अपचलनसम्बन्धी विषयमा ६९ लाख ९९ हजार रुपैयाँ बिगो कायम गरी ३ जनाविरुद्ध मुद्दा दायर गरेको छ।

विभागले सोमबार नुवाकोटका नवराज ढुंगाना, फणिन्द्रप्रसाद ढुंगाना, सुवासजंग पाण्डे र प्रज्वल ढुंगानाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हो।

महानगरीय प्रहरी कार्यालय रानीपोखरी, महानगरीय वृत्त बालाजुको संयुक्त टोलीले विशेष सूचनाको आधारमा नवराज ढुंगानालाई ६९ लाख ९९ हजार रुपैयाँसहित पक्राउ गरी प्रहरी प्रतिवेदन साथ थप अनुसन्धानका लागि राजस्व अनुसन्धान विभागमा पठाएको थियो ।

खानतलासी तथा वार्मादी मुचुल्का, प्रहरी प्रतिवेदन, प्रतिवादीहरूको बयान, बुझिएका व्यक्तिहरूले गरिदिएको कागज, कल डिटेल्स रेकर्ड समेतबाट अवैध हुन्डी कारोबार गरेको पुष्टि भएको अभियोगपत्रमा उल्लेख छ।

उक्त नेपाली रकम जापानमा रहेको भनिएका प्रज्वल ढुंगानाले सुवासजंग पाण्डेलाई भने मुताविक सुवासजंग पाण्डेले नवराज र फणिन्द्रलाई बरामद उक्त रकम उपलव्ध गराएको अनुसन्धानबाट खुलेको अभियोगपत्रमा उल्लेख छ ।

अनुसन्धानको क्रममा बरामद गरिएको रकमलाई पुष्टि तथा प्रमाणित गर्ने कागजात पेश गर्न नसकेको, विदेशी विनिमय कारोबार गर्न इजाजतपत्र नलिएको, प्रतिवादीहरूले नेपालमा आउनु पर्ने विदेशी मुद्रा उतै राखी नेपाली रुपैयाँको अवैध कारोबार गरी विदेशी विनिमय नियमित गर्ने ऐन,२०१९ विपरीतको कसूर गरेको भन्दै मुद्दा दर्ता गरिएको हो ।