अब स्मार्ट लाइसेन्स प्रदेशमै छापिने

-



     सफल आवाज    
     श्रावण २४ गते २०७९ मा प्रकाशित



काठमाडौं, २४ साउन । अब स्मार्ट लाइसेन्स प्रदेशमै छापिने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सबै प्रदेशहरुलाई स्मार्ट सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छाप्न दिन सहमत भएपछि यो काम प्रदेशबाट नै हुने भएको हो ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राईको अध्यक्षतमा सातवटै प्रदेशका यातायात मन्त्रीहरुको यातायातको अन्तरतह समन्वय बैठकमा स्मार्ट लाइसेन्स छपाइका लागि संघ सरकारले मेसिन उपलब्ध गराउने निर्णय भएको छ ।

हाल यातायात व्यवस्था विभागले मात्रै लाइसेन्स छपाइ गर्ने भएका कारण नयाँ तथा नवीकरण गरेका लाखौं सवारीधनीले स्मार्ट लाइसेन्स पाउन वर्षौं कुर्नुपर्ने अवस्था छ ।

यही समस्या समाधानका लागि बैठक आयोजना गरिएको र सबै प्रदेशहरु आफ्नै कार्यालयहरुबाट लाइसेन्स छपाइको व्यवस्थामा लागि तयार भएको यातायात मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार बैठकमा सबै प्रदेशका यातायात मन्त्रीहरु ट्रायल पास भएकै दिनमा परीक्षणकालीन लाइसेन्स जारी गर्न राजी भएका छन् ।