
काठमाडौं, २६ साउन । पछिल्लो समय साहसिक पर्यटकहरूका लागि गतिलो गन्तव्य बनेको छ ‘द क्लिफ’ । याे पर्वतको कुश्मामा रहेको विश्वकै दोस्रो अग्लो बञ्जी जम्प स्टेशन हो । त्यही द क्लिफमार्फत पर्यटकहरूलाई साहसिक पर्यटनमा होमिनका लागि उत्प्रेरक बनेका छन् सञ्चालक राजु कार्की । सिन्धुपाल्चोकका कार्कीले आफ्नो जन्मथलोदेखि बाग्लुङ/पर्वतसम्मको साहसिक अनुभवलाई पर्यटनमा रुपान्तरण गरेका हुन्।
लामो समय साहसिक पर्यटन क्षेत्रमा काम गरेका कार्कीले आफैं खोलेको कम्पनीको नाम हो द क्लिफ जसको नेपाली अर्थ हुन्छ ठाडो भीर अर्थात् पहरो । उनले विगत दश वर्षदेखि बाग्लुङ/पर्वतको ठाडो भीरलाई साहसिक पर्यटनको गन्तव्य बनाइरहेका छन् । द क्लिफको यो परियोजना अहिले करीब ४२ रोपनी क्षेत्रफलमा फैलिएको छ ।

हाल उपलब्ध विभिन्न सुविधामा विस्तारै नयाँ नयाँ साहसिक खेलहरू अध्ययन गर्ने र सञ्चालनमा ल्याउने सोचमा छन् उनी । यसका लागि जग्गा र लगानी पनि विस्तार गर्दै र द क्लिफलाई एउटा मजबुत ब्राण्डको रुपमा विकास गरेर अगाडि बढ्ने उनको योजना छ । पछिल्लो समय आन्तरिक पर्यटकहरूको बाक्लो उपस्थितिले व्यवसायलाई टेवा दिएकाले युवाहरूका लागि थप योजना ल्याउने उनको विचार छ ।
सिन्धुपाल्चोकमा जन्म, बाग्लुङ/पर्वतमा कर्म
द क्लिफका अध्यक्ष कार्कीको जन्म सिन्धुपाल्चोकको खाडीचौरमा भएको हो । उनले त्यहाँकै शारदादेवी माध्यमिक विद्यालयबाट कक्षा १२ सम्मको अध्ययन पूरा गरे । खाडीचौरमा बाल्यकालदेखि किशोरावस्थासम्म पुग्दै गर्दा उनले कैयौं पटक नजिकैको सुनकोशीमा डुबुल्की मारे । कैयौंपटक नजिकका जंगलका रुखहरूमा फड्के हान्दै अनि सैसला खेल्दै समय बिताए ।
कतिपय भीरहरूमा चिप्लेटी खेल्ने त उनको बालसुलभ क्रियाकलाप नै थियो । कार्की सम्झन्छन्, ‘सुनकोशीमा बेलाबखत पर्यटकहरूले र्याफ्टिङ गरेको पनि देख्थें, बिस्तारै त्यसमै मज्जा लाग्न थालेको थियो ।’
कक्षा १२ को नतिजामा उत्तीर्ण भएपछिउनले नजिकैको सिन्धुपाल्चोकको ‘द लास्ट रिसोर्ट’मा ख्यालख्यालमै रोजगारी पाए । धेरै मेहनत र सोचवचिार नगरी पाएको भए पनि उनी त्यसमै रमाउँदै गए । नेपालकै पहिलो बन्जीजम्प भएको भोटेकोशीको ‘द लास्ट रिसोर्ट’ विदेशीहरूका लागि पनि आकर्षणको केन्द्र थियो । सोही रिसोर्टमा उनले ट्रेनीका रूपमा आफ्नो औपचारिक जागिरे जीवन शुरू गरे ।

उनले शुरूमा रिसोर्टमा तालिम लिए र पछि अरूलाई काम सिकाउन थाले । बन्जी गर्न जानेहरूलाई डोरी बाँधिदिने, स्टेप सिकाउने जस्ता काम शुरूवाती दिनहरूमा गरेको कार्की सम्झन्छन् । कार्कीले शुरूवाती दिनमा सिजनका बेला मासिक ३ हजार ५ सय पारिश्रमिक लिएर काम गरेका थिए । उनले सो रिसोर्टमा करिब ७ वर्ष काम गरे । शुरूवाती दिनका ‘ट्रेनी’ कार्की ७ वर्षपछि ‘इन्स्ट्रक्टर’ बनेर निस्किए ।
उनले रिसोर्टमा बन्जीतर्फको मुख्य जिम्मेवारी नै सम्हालेका थिए । रिसोर्टमै काम गर्दा परिचय भएकी फ्रेन्च नागरिक फ्रोलेससँग उनले विवाह गरे । कार्कीलाई उनको विवाहपछि उनकी सासुआमाको स्वास्थ्यमा समस्या आएपछि उपचार तथा भेटघाटका लागि पत्नीसँग फ्रान्स जानु पर्यो । पतर त्यही फ्रान्स बसाइ नै कार्कीका लागि एउटा अवसर बनिदियो ।
फ्रान्समा कार्कीले करीब ३ वर्ष बिताए । स्वदेशमा रहँदै केही गरौँ भन्ने सोच राख्ने कार्कीलाई फ्रान्सको ३ वर्षे बसाइले एक किसिमको हुटहुटी नै जगाइदियो ।

उनी भन्छन्, ‘फ्रान्स गएपछि मलाई नेपाल निकै नै मिस भयो । नेपालमै त्यति राम्रो अवसर छन् विदेश किन आउँछन् होला जस्तो लाग्थ्यो र नेपालमै केही गर्नुपर्छ भन्ने सोच आउँथ्यो ।’ फ्रान्स बसाइका क्रममा त्यहाँको साहसिक खेल तथा साहसिक पर्यटनको बारेमा उनले अध्ययनहरू गरे । फ्रान्स, स्विजरल्याण्ड लगायतमा रहेको साहसिक खेल तथा पर्यटनहरूलाई उनले नजिकबाट अध्ययन गरपछि नेपालमा आफैं केही काम गर्ने अठोट लिएर उनी फर्किए ।
बिदेशबाट फर्केपछि
पारिवारिक कारणले फ्रान्स पुगेका कार्की ३ वर्षपछि नेपाल फर्किए । विदेशमा साहसिक पर्यटनको प्रशस्त उदाहरण देखेका कार्कीले स्वदेशमा पनि साहसिक पर्यटनलाई अगाडि बढाउने योजना बनाए । उनले त्यतिखेर जोखिम पनि मोले । त्यसका लागि भोटेकोशी आसपास नै तयारी थाले । तर त्यहाँ उनले कसैको पनि साथ पाएनन् । उनले आफैंले काम शुरू गरेको लास्ट रिसोर्टसँग समन्वय गरेर काम शुरू गर्ने सोच राख तर सोचेजस्तो भएन ।

विगत सम्झँदै कार्की भन्छन्, ‘भी आकारको रक क्लाइम्बिङ वा अन्य केही सञ्चालनमा ल्याउने भन्ने सोच थियो । त्यहाँ सफल भएन ।’ सिन्धुपाल्चोकमा आफूले सोचेजस्तो नभएपछि उनी पर्वतको कुष्मातर्फ लागे । कुष्माको अग्लो स्थानबारे उनले पहिले नै सुनेका थिए । त्यहीँ केही काम गर्न सकिन्छ कि भने उनले केही समय अध्ययन गरे ।
कुष्मामा सरकारले बनाएको झोलुङ्गे पुललाई नै आधार बनाएर व्यवसाय सञ्चालन गर्ने उनको सोच थियो । उनले शुरूवातमा त्यहाँबाट बन्जीजम्प र पौडी खेलाउने योजना बुनेका थिए । तर सरकारी जग्गामा काम गर्ने सोचले मूर्तरुप लिन सकेन । ‘प्रक्रियागत झमेला हुने, ढिला हुने जस्ता समस्याले सरकारी जग्गामा पनि नगर्ने निधो गरें,’ उनले भने ।
करीब ७ वर्षअघिको सोचलाई साकार बनाउने पहिलो विन्दु उनलाई यहीँबाट मिल्यो । त्यसपछि उनले एउटा टिम खडा गरे । द क्लिफकै नामबाट आफैं एसियाकै नमूना पुल बनाउन पुल बनाउने र त्यहाँबाट सम्भव भएजत्ति सबै पर्यटकीय गतिविधि सञ्चालन गर्ने सोच बनाएर काम अगाडि बढाए । त्यहाँ करीब ६ वर्ष लगाएर द क्लिफले पुल सञ्चालनमा ल्याउन सफल भयो । पर्वतको कुष्माबाट शुरू भएर बाग्लुङको बलेवासम्मको झोलुङ्गे पुल कम्पनीले केही समयअघि सञ्चालनमा ल्याएको छ ।
‘एसियाकै नमुना पुल बनाउने भनेका थियौं । संघर्ष पनि नमूना नमूना गर्यौँ,’ उनले भने । नेपाल भ्रमण वर्ष २०२१ लाई लक्षित गरेर २०७७ वैशाख १ गतेबाट सञ्चालनमा ल्याउने भनिए पनि कोरोना महामारीका कारण केही समयपछि मात्रै यो सञ्चालनमा ल्याइएको थियो । यसको लम्बाई ५ सय २० मिटर र २२८ मिटर उचाइ छ ।
विश्वकै दोस्रो अग्लो बन्जी
कार्कीले यो पुलबाट नेपाललाई एक ऐतिहासिक बन्जी हबको रूपमा विकसित गराउने अभियानमा केही सफलता पाएका छन् । यो पुलबाट कार्कीले विश्वकै दोस्रो अग्लो बन्जी जम्प गराउँदै आएका छन् । बन्जी पारखीहरूले यस पुलबाट २ सय २८ मिटर माथि उचाइबाट तल खोँचमा बन्जी गर्न सक्छन् भने यही पुलबाट विश्वकै अग्लो स्विङ गराउन पनि कम्पनी सफल भएको छ ।

यसअघि विश्वकै अग्लो बन्जी मकाउबाट हुँदै आएको छ । मकाउपछिको यो विश्वकै अग्लोमध्ये दोस्रोमा पर्ने कार्की दावी गर्छन् । शुरूमा ३२ करोड लगानीमा द क्लिफले यहाँ बन्जी र स्विङ शुरू गरेको थियो । व्यवसाय विस्तारसँगै लगानी पनि अहिले बढ्दै गएको छ । कार्कीका अनुसार अहिले सो क्षेत्रमा करीब ५० करोड रुपैयाँभन्दा बढी लगानीे रहेको छ । व्यवसाय विस्तारका लागि कम्पनीले जग्गा समेत विस्तार गर्दै जाँदा लगानी बढ्न गएको उनको भनाइ बताउँछन् ।
‘मिनी एक्टिभिटिज’मा आकर्षण
बन्जी र स्विङबाट शुरू भएको यो व्यवसाय अहिले ६ वटा ‘मिनी एक्टिभिटिज’मा रुपान्तरित छ । जसमा क्रेजी ब्रिज, गुलेली पिङ, स्काई चेयर, फ्यामिली पिङ, हर्स राइडिङ लगायत छन् ।
कार्कीले द क्लिफमार्फत विश्वकै अग्लो लामो स्काई साइक्लिङ खोलेका छन् । आकासमा डोरीको सहायताले साइक्लिङ गर्ने साहसिक खेल स्काइ साइक्लिङमा खेल्न सकिन्छ । यस्तैे कम्पनीमार्फत नेपालकै पहिलो ‘स्काई क्याफे’ सञ्चालनमा आएको छ जुन विश्वकै उच्च स्थानमा रहेको कार्कीको दावी छ ।

‘स्काई क्याफे’ द क्लिफको नयाँ प्रकृतिको व्यवसाय हो । गत २०७८ फागुन १२ गते आफ्नी पत्नीसहित अर्थमन्त्री जनार्दन शर्मासमेत सो क्याफेमा पुगेका थिए । अर्थमन्त्री शर्मा क्याफेमा पुगिसकेपछि त्यसको चर्चा निकै भएको कार्की बताउँछन् । उनले भने,‘मन्त्रीज्यु नै जानुभएपछि त्यहाँ धेरैको आकर्षणको केन्द्र बनेको छ ।’ यद्यपि अहिले वर्षा सिजन शुरू भएसँगै भने पर्यटक आवागमनको संख्या घटेको छ ।
‘यो समय अफसिजन हो, अहिले त पर्यटकीय गतिविधि घटेको छ,’ उनले भने । हालैमात्र स्काई क्याफेमा प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु देउवा पुगिन् । उच्च तहका अधिकारीहरूको भ्रमणले पनि अहिले केही सहज भएको कार्की बताउँछन् । स्काई क्याफेमा २ हजार ५ सय रुपैयाँ तिरेर जो कोही पनि जान सक्छन् । कार्कीका अनुसार, त्यहाँ १५ मिनेट बस्ने व्यवस्था मिलाइएको छ । त्यहाँ जुस र कफीसहित फूड प्लाटर पाइन्छ भने भिडियो र फोटोको शुल्क पनि सोही प्याकेज अन्तर्गत नै पर्छ ।

सो क्याफे पछिल्लो समय युवा पुस्ताको आकर्षणको केन्द्र बन्दै गएको कार्की बताउँछन् । करीब १ करोड लगानीमा स्काई क्याफे सञ्चालनमा ल्याइएको हो । यसबाहेक कम्पनीले केही दिन अघि मात्रै स्काई ग्लाइडिङ सार्वजनिक गरेका छ । स्काई ग्लाइडिङ स्काई साइकल र जीपलाइनको सम्मिश्रण भएको कार्कीले बताए । नेपालमा पहिलो पटक सार्वजनिक गरिएको स्काई ग्लाइडिङमा उभिएर मज्जा लिन सकिने उनको भनाइ छ ।
विकासमा टेवा
द क्लिफले आफ्नो परियोजना सो क्षेत्रमा सञ्चालन गरेपछि त्यस क्षेत्रको जीवनशैली नै फेरिएको कार्की बताउँछन् । अहिले बलेवा क्षेत्रमा शिक्षा तथा स्वास्थ्य सुविधाको पहुँच बढ्दै गएको उनको भनाइ छ । यस्तै बागलुङ क्षेत्रमा पनि युवाहरू पलायनको दर कम भएको छ भने सो क्षेत्रमा अहिले होमस्टे र होटलहरू पनि निकै खुलिरहेका छन् । ट्याक्सीसमेतले रोजगारी पाएको भन्दै कार्कीले भने, ‘यसले विकास भनेको यस्तो हुने रहेछ है भन्ने देखाएको छ ।’






काठमाडौं, ९ मङ्सिर । साताको चौथो कारोबार दिन बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बढेर…
वासिङ्टन, ९ मङ्सिर । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध जारी सैन्य अभियान सञ्चालन गर्न आगामी जनवरीसम्म…
काठमाडौं, ९ मङ्सिर । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको आयात तथा बिक्री वितरण…
काठमाडौं, ९ मङ्सिर । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चार महिना (कात्तिक मसान्त) सम्ममा… 



