
काठमाडौं, २६ साउन । बीमा समितिले नेपालमै पुनर्बीमा कम्पनीको (ब्रोकर) स्थापना गर्नका नीतिगत बाटो खुलाएको केही समयपछि ब्रोकर कम्पनी खुल्न थालेका छन् ।
समितिले गत बैशाखदेखि कम्पनीहरूलाई लाइसेन्स दिन थालेको हो । समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले प्रक्रिया पुर्याएर लाइसेन्सको माग गर्दै आवेदन दिएका कम्पनीलाई लाइसेन्स दिएको जानकारी दिए ।
समितिका अनुसार पुनर्बीमा दलालको लाइसेन्स माग गर्दै समितिमा १ दर्जनभन्दा बढी कम्पनीले आवेदन दिएका थिए ।ती मध्ये समितिले १० वटा कम्पनीलाई लाइसेन्स दिएको हो । केही वर्ष पहिलेदेखि नेपालमा पनि पुनर्बीमा ब्रोकर स्थापनाको माग हुँदै आएको थियो ।
नेपालको बीमा बजार सानो भएका कारण पुनर्बीमा ब्रोकरको आवश्यकता नभएको भन्दै समितिले माग टार्दै आएको थियो । तर पछि समितिले पुनर्बीमा दलाल कम्पनी खोल्नका लागि आवश्यक न्यूनतम पुँजीसमेत तोकेर पुनर्बीमा दलाल सम्बन्धी निर्देशिका जारी गरेको थियो ।
समितिले २०७८ जेठमा पुनर्बीमा ब्रोकर (दलाल) सम्बन्धी सम्बन्धी निर्देशिका, २०७८ जारी गरेको थियो ।निर्देशिका जारी गरेको १ वर्षपछि भने नेपालमा पुनर्बीमा ब्रोकर खुल्न थालेका हुन् ।
लाइसेन्सको माग गर्दै आवदेन दिएका कम्पनीमध्ये समितिले जेबी बोडा इन्स्योरेन्स एण्ड रि इन्स्योरेन्स, हब रि इन्स्योरेन्स ब्रोकरलाई लाइसेन्स दिएको छ । यस्तै एलियन्ट रि इन्स्योरेन्स ब्रोकर्स प्रालि, फेडेरल रि इन्स्योरेन्स ब्रोकर्स प्रालि, ग्लोबल इन्स्योरेन्स एण्ड रि इन्स्योरेन्स ब्रोकर्स प्रालिले पनि लाइसेन्स पाएका छन् ।
यस्तै ट्रष्ट इन्स्योरेन्स ब्रोकर्स प्रालि, एसटिसी रि इन्योरेन्स ब्रोकर, शुभ रि इन्स्योरेन्स सर्भिसेज र एवान रि इन्स्योरेन्स ब्रोकरलाई समितिले लाइसेन्स दिएको छ । समितिबाट वैशाख १७ गते लाइसेन्स पाएको फेडेरल रि इन्स्योरेन्सले प्रथम साधारणसभा समेत बोलाइसकेको छ । निर्देशिकाअनुसार पुनर्बीमा ब्रोकर कम्पनीको अवधि एक आर्थिक वर्षको हुने छ ।
पुनर्बीमा दलाल कम्पनी सञ्चालन गर्न बीमा समितिले ५ करोड रूपैयाँ चुक्ता पुँजी तोकेको छ । समितिद्धारा जारी निर्देशिकामा बीमा व्यवसाय सञ्चालन गर्न सञ्चालित संगठित संस्थाको अधिकृत पुँजी कम्पनीमा १० करोड रूपैयाँ हुनुपर्ने व्यवस्था छ ।
सोमध्ये पुँजीको ५० प्रतिशत रकम चुक्ता पुँजीको रूपमा कायम गर्नुपर्ने व्यवस्था छ । उक्त पुँजीमध्येबाट अधिकृत पुँजीको २५ प्रतिशत रकम समितिबाट एआर मार्क गराई वाणिज्य बैंकको मुद्दती खातामा राख्नुपर्ने व्यवस्था छ ।
बीमा कम्पनीले जोखिम हस्तान्तरण गर्ने प्रक्रियालाई पुनर्बीमा भनिन्छ । निर्जीवन बीमा कम्पनीहरूले आफ्नो नेटवर्थको अधिकतम ५ प्रतिशत र जीवन बीमा कम्पनीहरूले ०.३ प्रतिशतमात्रै जोखिम लिन पाउने नियामक निकाय बीमा समितिको व्यवस्था छ ।
सोभन्दा बढीको जोखिम बीमा कम्पनीहरूले पुनर्बीमा गर्नुपर्छ । कम्पनीहरूले पुनर्बीमा गराउनको लागि पहिला ब्रोकरमा जान्छन् । ती पुनर्बीमा दलाल कम्पनीहरूले पुनर्बीमा कम्पनी खोजिदिन्छन् । र, बीमा कम्पनीहरूले आफ्नो कम्पनीमा भएको जोखिम ती पुनर्बीमा कम्पनीलाई हस्तान्तरण गर्छन् । तर, नेपालमा पुनर्बीमा ब्रोकर कम्पनी खुल्न नसक्दा बीमा कम्पनीहरूले विदेशी पुनर्बीमा ब्रोकरमार्फत पुनर्बीमा गर्दै आएका थिए ।








नारायणगढ (चितवन), ५ मङ्सिर। चार दशकदेखि मुलुकमा सनातन वैदिक धर्मको प्रवर्द्धन तथा धार्मिक पर्यटन विकासको…
चितवन, ५ मङ्सिर। प्रहरीले ४४३ किलो लागूऔषध गाँजासहित दुई जना भारतीय नागरिक पक्राउ गरेको छ…
काठमाडौं, ५ मंसिर। पछिल्लो एक साताको अवधिमा नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ।…
काठमाडौं, ५ मङ्सिर। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।… 




