धौलागिरी लघुवित्तको आईपीओका लागि ६५ गुणा बढी आवेदन

-



     सफल आवाज    
     श्रावण २९ गते २०७९ मा प्रकाशित



काठमाडौं, २९ साउन । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत साउन २४ गते जारी गरेको आईपीओका लागि मागभन्दा लगभग ६५ गुणा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले आज साँझ ५:०३ बजे अद्यावधिक गरेको तथ्याङ्क अनुसार उक्त आईपीओका लागि १९ लाख ५२ हजार ४६० जनाले आवेदन दिएका छन् ।

उनीहरुले २ अर्ब १७ करोड २१ लाख ५७ हजार रुपैयाँ बराबरको २ करोड १७ लाख २१ हजार ५७० कित्ता सेयरका लागि आवेदन दिएका हुन् ।

लघुवित्तले मंगलबार साउन २४ गतेदेखि सर्वसाधारण लगानीकर्ताका लागि ३ करोड ३१ लाख रुपैयाँ बराबरको प्रतिकित्ता रु १०० अंकित मूल्य भएको ३ लाख ३१ हजार कित्ता साधारण सेयर निष्कासन गरेको हो । उक्त परिमाणको सेयरका लागि आवेदन दिने आज अन्तिम दिन हो ।

यसरी जारी ३ लाख ३१ हजार कित्ता सेयरमध्ये १६ हजार ५५० कित्ता सामूहिक लगानी कोषका लागि र ५ हजार १५५ कित्ता कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ । त्यसपछि बाँकी हुन आउने ३ लाख ९ हजार २९५ कित्ताका लागि भने सर्वसाधारणले आवेदन दिन पाउने व्यवस्था गरिएको छ ।

लगानीकर्ताले घटीमा १० तथा बढीमा १ हजार कित्तासम्मका लागि नेपाल धितोपत्र बोर्ड सेबोनबाट अनुमति पाएका सि-आस्वा सदस्य रहेका बैंक, वित्तीय संस्था,  मेरो सेयरको वेबपेज तथा एपमार्फत् आवेदन दिन सकिने व्यवस्था मिलाइएको छ । कम्पनीले सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटललाई नियुक्त गरेको छ ।