
काठमाडौँ, ३० साउन । देशभित्र उल्लेख्य रुपमा बिजुली उपलब्ध हुन थालेपछि विद्युतीय सवारी साधन प्रयोग गर्ने र यसप्रति चासो देखाउनेको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ ।
सरकारले पनि पछिल्लो समयमा विद्युतीय सवारी साधन प्रवर्द्धनमा विशेष व्यवस्था गरेको छ । नीतिगत रुपमा प्रष्टता तथा बिजुलीको सहज उपलब्धताका कारण पेट्रोलियम सवारी साधन छाड्दै क्रमश: विद्युतीय सवारी साधनको प्रयोगमा उपभोक्ताको आकर्षण बढेको तथ्य एवम् तथ्याङ्कले पनि देखाएको छ ।
यातायात व्यवस्था विभागको हालैको एक तथ्याङ्कअनुसार मुलुकभर झण्डै ४० लाख सवारी साधन दर्ता भएका र तीमध्ये डेढ प्रतिशत बराबर मात्रै विद्युतीय सवारी साधन मुलुकभर सञ्चालनमा रहेको पाइएको छ । यसैगरी पछिल्लो पाँच वर्षको अवधिमा झण्डै १४ हजार विद्युतीय सवारीसाधन भित्रिएका भन्सार विभागको तथ्याङ्क छ ।
यो आँकडा आर्थिक वर्ष २०७४/७५ मा ५ हजार २ सय ३९, आव २०७५/७६ मा ४ हजार ७ सय ४५, आव २०७६/७७ मा ५ सय ७५ देखिएको छ । यस्तै आव २०७७/७८ मा विद्युतीय सवारी साधनको आयात घटेर २ सय ६१ मा सीमित भएको छ । सो आवमा तत्कालीन अर्थमन्त्री युवराज वडाले विद्युतीय सवारी साधनमा अत्यधिक मात्रामा कर वृद्धि गरेपछि विद्युतीय सवारी साधनको आयातमा अत्यधिक गिरावट देखिएको हो ।
तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले विद्युतीय सवारी साधनमा लाग्दै आएको करको दायरा घटाएसँगै विद्युतीय सवारीसाधनको आयात क्रमश बढ्न थाले पनि अघिल्लो आवको नकारात्मक प्रभावले काम गरि नै रह्यो । आव २०७८/७९ को एक वर्षको अवधिमा १ हजार ८०७ विद्युतीय सवारी साधन नेपाल भित्रिए ।
नीतिगत अस्थिरताका कारण मागअनुसार नै विद्युतीय सवारी साधन आयातमा नकारात्मक असर पर्न गयो । तत्कालीन अर्थमन्त्री डा खतिवडाको नीतिका कारण ओरालो लागेको आयातमा क्रमश सुधार भइरहेका बेला विदेशी मुद्राको सञ्चितिमा असर परेको भन्दै सरकारले केही कडाइको बन्दोबस्त गर्यो । उक्त कडाईको म्याद आगामी भदौ १४ सम्म कायम छ । तर आयात प्रतिबन्धको सूचीमा विद्युतीय गाडीलाई राखिएको छैन ।
विद्युतीय सवारी साधनको आयातको विवरण
डिजेल तथा पेट्रोलबाट चल्ने सवारी साधन आयातमा रोक लगाएसँगै पछिल्लो समय विद्युतीय गाडी आयातमा वृद्धि भए पनि अपेक्षित नतिजा देखिएको छैन । भन्सार विभागका अनुसार आव २०७८/७९ को तथ्याङ्कअनुसार आयात प्रतिबन्धको असर विद्युतीय सवारीमा परेको छ ।
तथ्याङ्कअनुसार सो आवमा सबैभन्दा धेरै विद्युतीय सवारी साधन चीनबाट भित्रिएका छन् । चीबाट एक सय किलोवाटका एक सय ६७ र एक सय ५० देखि दुई सयसम्म किलोवाट क्षमताका छ सय ९६ गरी ८ सय २३ गाडी नेपाल भित्रिएका छन् ।
चीनपछि भारतबाट धेरै विद्युतीय सवारी साधन नेपाल भित्रिएका छन् । भारतबाट सय किलोवाट क्षमताका ६ सय ९६, दक्षिण कोरियाबाट १ सय किलोवाट क्षमताका १ सय ३२ र फ्रान्सबाट एक सवारी साधन भित्रिएका छन् ।
यस्तै बेलायतबाट सयदेखि १ सय ५० किलोवाट क्षमताका १३, दक्षिण कोरियाबाट सयदेखि २ सय किलोवाट क्षमताका ५२, जापानबाट ७८, बेलायतबाट ४ गाडी नेपाल आएका छन् । बेलायतबाट २ सयदेखि ३ सय किलोवाट क्षमताका ४ र ३ सय किलोवाट क्षमताभन्दा माथिका २ विद्युतीय सवारी साधन नेपाल भित्रिएका छन् ।
एक वर्षको अवधिमा विभिन्न देशबाट रु पाँच अर्ब बढीका चार पांग्रे विद्युतीय सवारी साधन भित्रिएका छन् । विभागको विवरणअनुसार एक वर्षको अवधिमा विद्युतीय सवारी साधन आयातमा मात्रै ५ अर्ब पाँच करोड ३२ लाख ५० हजार बाहिरिएको छ ।








नारायणगढ (चितवन), ५ मङ्सिर। चार दशकदेखि मुलुकमा सनातन वैदिक धर्मको प्रवर्द्धन तथा धार्मिक पर्यटन विकासको…
चितवन, ५ मङ्सिर। प्रहरीले ४४३ किलो लागूऔषध गाँजासहित दुई जना भारतीय नागरिक पक्राउ गरेको छ…
काठमाडौं, ५ मंसिर। पछिल्लो एक साताको अवधिमा नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ।…
काठमाडौं, ५ मङ्सिर। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।… 




