गरिमा क्यापिटलको सीईओमा भट्टराई नियुक्त

-



     सफल आवाज    
     भाद्र १ गते २०७९ मा प्रकाशित



काठमाडौं, १ भदौ । गरिमा क्यापिटल लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा निर्मल भट्टराई नियुक्त भएका छन् । कम्पनीको गत साउन २९ गते बसेको सञ्चालक समितिको ५२औं बैठकले निर्मल भट्टराईलाई आज भदौ १ गते देखि लागू हुनेगरी प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

भारतबाट चार्टर्ड एकाउन्टेन्सी (सीए) गरेका नवनियुक्त सीईओ भट्टराईले गरिमा क्यापिटलको स्थापनाकाल देखि नै विभिन्न ओहदामा रहेर काम गर्दै यसअघि गरिमा क्यापिटल लिमिटेडको निमित्त प्रमुख कार्यकारी अधिकृतको कार्यभार सम्हाल्दै आएकाे प्रमुख सञ्चालन अधिकृत अशोक सुवेदीले जानकारी दिए ।

नेपाल धितोपत्र बोर्डबाट अनुमतिपत्र प्राप्त मर्चेन्ट बैंकर गरिमा क्यापिटल लिमिटेडले हाल लगानी व्यवस्थापन सेवा तथा निक्षेप सदस्य ( डिम्याट तथा मेरोशेयर खाता सम्बन्धी) सेवा प्रवाह गर्दै आएकोमा अब निकट भविष्यमा नै आवश्यक अनुमतिपत्र प्राप्त गरी मर्चेन्ट बैंकरले प्रदान गर्न सक्ने अन्य सम्पूर्ण सेवाहरु प्रदान गर्ने योजनामा रहेको बताइएको छ ।

यी सेवाहरुमा निष्कासन तथा बिक्री प्रबन्धक, धितोपत्र प्रत्याभूति, शेयर रजिष्ट्रेशन, संस्थागत परामर्श, सामूहिक लगानी कोष प्राइभेट इक्विटी फण्ड, भेन्चर क्यापिटल फण्ड, हेज फण्ड लगायत अन्य फण्डहरुको व्यवस्थापन गर्ने कम्पनीले जनाएको छ ।

गरिमा क्यापिटल लिमिटेडका सेवाहरु गरिमा विकास बैंक लिमिटेडका सम्पूर्ण शाखा कार्यालयहरुको सहजीकरणमा सम्बन्धित ग्राहकसम्म पुगेको र संस्थाले अझ परिस्कृत र ग्राहकमैत्री तवरबाट आफ्ना सेवाहरु प्रवाह गर्नका लागि विभिन्न नविनतम प्रविधिहरुको प्रयोग गर्दै अगाडि बढ्ने योजना बनाएको प्रमुख सञ्चालन अधिकृत अशोक सुवेदीको भनाइ छ ।