इन्फ्रास्ट्रक्चर आइडिया हन्ट-२०२२ आयोजना गर्दै परिसंघ

-



     सफल आवाज    
     भाद्र ६ गते २०७९ मा प्रकाशित



काठमाण्डौं, ६ भदौ । नेपाल उद्योग परिसंघले इन्फ्रास्ट्रक्चर आइडिया हन्ट २०२२ आयोजना गर्ने भएको छ । व्यापारका नयाँ क्षेत्र, सम्भावना र सम्भाव्यता पहिल्याउन आयोजना गर्न लागिएको यो कार्यक्रममा सहभागिताका लागि आफ्नो आइडिया पठाउन परिसंघले आवेदन खुलाएको छ। 

आइडिया स्टुडियो नेपालसँगको सहकार्यमा यो सम्मेलन आगामी भदौ २३ गते हुने नेपाल इन्फ्रास्ट्रक्चर समिट २०२२ को चौथो संस्करण अन्तर्गतको एउटा कार्यक्रम रहेको परिसंघले जनाएको छ ।

आइडिया स्टुडियो नेपालका अनुसार पूर्वाधार विकासका लागि नवीनतम बिजनेस आइडिया भएका नेपालभित्र र विदेशमा रहेका नेपालीलाई प्रोत्साहन र अवसर प्रदान गर्ने लक्ष्यका साथ आवेदन फारम खुला गरिएको हो ।

हाल राष्ट्रले भोग्नुपरेका सामाजिक-आर्थिक अवरोधहरू समाधान गर्न यो कार्यक्रमबाट मद्दत मिल्ने अपेक्षा आयोजकको छ । इन्फ्रास्ट्रक्चर फर ग्रोथ भन्ने नाराका साथ काठमाडौंमा आयोजना हुने दुई दिने कार्यक्रममा शीर्ष तीन बिजनेस आइडियाले क्रमशः नगद १ लाख ५० हजार,  १ लाख र ५० हजार रुपैयाँ नगद पुरस्कार पाउने बताइएको छ । 

आयोजकका अनुसार इन्फ्रास्ट्रक्चर आइडिया हन्ट कुनै पनि व्यक्ति तथा उद्यमको कुनै पनि चरणमा रहेका कम्पनीहरू, स्टार्टअपहरू, स्केलअप गर्ने तयारीमा रहेका स्टार्टअपहरू, विद्यार्थीहरू र भविष्यका उद्यमीहरू लागि खुला रहेको छ । 

यो सम्मेलनमा आयोजकले नेपाल सरकार, निजी क्षेत्र लगायत, विदेशी, थिंक ट्याङ्कहरू र लगानीकर्ताहरू लगायत एक हजार जनाभन्दा बढीको सहभागिताको अपेक्षा गरेका छन् । आवेदन दिनका लागि आगामी बिहीबार (भदौ ९ सम्म) नेपाल इन्फ्रास्ट्रक्चर समिट २०२२ को वेबसाइटमार्फत फाराम भर्न सकिनेछ।