बन्दले काठमाडाैं उपत्यका सुनसान, लेखनाथमा भेटियो शंकास्पद वस्तु

-



     सफल आवाज    
     भाद्र ७ गते २०७९ मा प्रकाशित



काठमाडौ, ७ भदौ । अमेरिकी सहयोग निकाय मिलिनियम च्यालेन्ज कर्पाेरेशन (एमसिसी) तथा नागरिकता विधेयक संसदबाट पारित गरेको विराेध लगायतका माग राखेर ४ राजनीतिक दलले गरेकाे नेपाल बन्दको प्रभाव बिहानैबाट देशभरी परेकाे छ। ठाउँ ठाउँका केही सवारीसाधनहरुमा ताेडफाेड र आगजनी गरिएकाे प्रहरीले बताएकाे छ ।

बन्दका कारण काठमाडाैं उपत्यका तथा प्रदेशका राजधानीहरु सुनसान देखिएका छन् । सडकमा दुईपांग्रे सवारी साधन न्यून चलेका छन् भने सार्वजनिक सवारी ठप्प भएका छन् ।

बन्दले पाेखरा पनि सुनसान देखिएकाे छ । मुख्यबजार महेन्द्रपुल, चिप्लेढुंगा, न्युरोड, पृथ्वीचोक, बगर, विरौटा, हेम्जा, लेखानाथका पसलहरु बन्द भएका छन् । माेटरसाइकल र निजि सवारी हल्का चलेका छन । भित्री सडकमा रहेका पसलहरु फाट्टफुट्ट खुलेका छन् । चाेक चाेकमा प्रहरी परिचालन गरिएकाे छ । पर्यटकीय क्षेत्र लेकसाइड पनि सुनसान छ ।

लेखनाथमा शंकास्पद बस्तु भेटियो

पोखरा महानगरपालिका वडा नम्बर २७ मा शंकास्पद वस्तु भेटिएको प्रहरीले बताएकाे छ । लेखनाथकाे राजमार्गमा साे वस्तु भेटिएको कास्कीका प्रहरी प्रमुख एसपी अजय केसीले बताए । नेपाली सेनाले अनुसन्धान गरेर डिस्पोज गर्ने काममा लागेकाे बताइएकाे छ ।

सरकाविरुद्ध आन्दोलनमा उत्रिएकाे विप्लव नेतृत्वको नेकपा, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, आहुति नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी र कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी समाजवादी पार्टीले संयुक्त रूपमा आज नेपाल बन्दको घोषणा गरेका हुन्।

सरकारले ‘राष्ट्रघाती’ एमसीसी सम्झौता पारित गरेको, नेपाल कम्युनिस्ट पार्टीसँग भएको ३ बुँदे सहमति उल्लंघन गरेको, नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवलगायतका नेता र कार्यकर्ताविरुद्ध पक्राउ पुर्जी जारी गरेको विरोधमा चार कम्युनिस्ट पार्टीले बन्द आह्वान गरेका हुन् ।

टिपरमा आगजनी, ४ जना नियन्त्रणमा

दाङको घोराही उपमहानगरपालिका–३ मा टिपरमा आगजनी भएको छ । बन्दकर्ताले बिहान साढे ४ बजे बबई खोलाको पुन नजिकै आगजनी गरेको जिल्ला प्रहरी कार्यालय, दाङले जानकारी दिएको छ । घोराहीबाट लमहीतर्फ जाँदै गरेको रा १ ख १६९४ नम्बरको टिपरमा आगजनी भएको हो ।