ङादी ग्रुपको हकप्रद सेयरमा मागको ६७ प्रतिशतमात्र आवेदन

-



     सफल आवाज    
     भाद्र ८ गते २०७९ मा प्रकाशित



काठमाडौं, ८ भदौ । ङादी ग्रुप पावर लिमिटेडले गत साउन १८ गतेबाट निष्कासन गरेको १ करोड ६ लाख ३ हजार ९८६ कित्ता हकप्रद सेयरका लागि मागको ६७ प्रतिशतमात्र आवेदन परेको छ । सिडिएस एन्ड क्लियरिङ लिमिटेडका अनुसार उक्त सेयरका लागि आवेदन दिने अन्तिम म्याद भदौ ७ मंगलबार साँझ ५ बजे सम्म मागको ६७.१९ प्रतिशत अर्थात् ७१ लाख २५ हजार ५२६ कित्ताका लागि मात्र आवेदन परेको छ ।

कम्पनीले हाल कायम रहेको १ कित्ता बराबर नयाँ १.५ कित्ता सेयरको अनुपातमा हकप्रद सेयर बिक्रीमा ल्याएको थियो । कम्पनीले हकप्रद सेयर निष्कासनको प्रयोजनका लागि गत असार २० गते बुकक्लोज गरेको थियो । असार १९ गतेसम्म नेपाल स्टक एक्सचेन्जमा सेयर कारोबार गरी कायम भएका सेयरधनीहरु यो हकप्रद सेयरमा आवेदन दिन याग्य ठहरराइएको थियो ।

सेयरधनीहरुले सिद्धार्थ क्यापिटल, सिद्धार्थ बैंक विराटनगर, विरगञ्ज, पोखरा, बुटवल, नेपालगञ्ज, धनगढी र सुर्खेत शाखाबाट आवेदन दिन सक्ने सुविधा रहेको थियो । साथै नेपाल धितोपत्र बोर्डबाट स्वीकृति लिएका सि(आश्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था, मेरोसेयर वेबपेज र एपमार्फत् पनि आवेदन लिइएको थियो ।

हाल कम्पनीको चुक्ता पुँजी ७० करोड ६९ लाख ३२ हजार ४०० रुपैयाँ रहेको छ भने हकप्रद सेयर बिक्रीपछि १ अर्ब ७६ करोड ७३ लाख ३१ हजार रुपैयाँ पुग्ने कम्पनीले जनाएको छ ।