साउनमा ६२ करोडभन्दा बढीका बिजुली गाडी आयात

-



     सफल आवाज    
     भाद्र ८ गते २०७९ मा प्रकाशित



काठमाडौँ, ८ भदौ । चालु आर्थिक वर्ष २०७९/८० को पहिलो महिना साउनभर नेपालमा विभिन्न देशबाट ६२ करोड १६ लाख ८३ हजार रुपैयाँ बराबरका २११ थान विद्युतीय सवारी साधन आयात भएका छन् ।

भन्सार विभागले हालै सार्वजनिक गरेको आर्थिक वर्ष २०७९/८० साउन मसान्तसम्मको वैदेशिक व्यापार तथ्याङ्कमा उक्त आँकडा उल्लेख गरिएको छ ।

तथ्याङ्कअनुसार साउन महिनाभरी आएका २११ विद्युतीय गाडीहरु चीन, भारत, दक्षिण कोररिया तथा अमेरिका गरी ४ देशबाट आएका पाइएको छ । तीमध्ये सबैभन्दा बढी भारतबाट १२५ थान १०० किलोवाट क्षमता सम्मका विद्युतीय गाडी ल्याइएको छ जसको मूल्य ३४ करोड ९ लाख ८७ हजार रुपैयाँ रहेको छ । यी विद्युतीय गाडीमा कार जीप तथा भ्यानमात्र समावेश गरिएको छ । अन्य तीनपाङ्ग्रे वा मोटरसाइकल र स्कुटरजस्ता दुई पाङ्ग्रे सवारी गणना गरिएको छैन ।

त्यसपछि कोरियाबाट १०० किलोवाट क्षमतासम्मका ४२ तथा १०० देखि २०० किलोवाटसम्ममा २ गरी ४४ ओटा विद्युतीय कार/जीप/भ्यान भित्रिएका छन् । यी सबै सवारीको मूल्य समग्रमा  १६ करोड ५८ लाख १२ हजार हुन आउँछ ।

यसैगरी चीनबाट १०० किलोवाट क्षमतासम्मका बिजुली गाडी मात्र आयात भएका पाइएको छ जसको मूल्य ९ करोड २१ लाख ५ हजारर तथा सङ्ख्या भने ३८ रहेको छ ।

यसपछि अर्को देश अमेरिकाबाट १०० देखि २०० तथा २०० देखि ३०० वाट क्षमताका २-२ गरी ४ ओटा बिजुली गाडी आएका छन् । यीमध्ये १०० देखि २०० किलोवाट क्षमताका दुई गाडीको ९६ लाख ९६ हजार रुपैयाँ परेको छ भने २०० देखि ३०० किलोवाट क्षमतायुक्त बाङ्की २ गाडीको मूल्य १ करोड ३१ लाख ४२ हजार रुपैयाँ रहेको छ ।

पछिल्लो पाँच वर्षमा झण्डै १४ हजार भित्रिए

पछिल्लो पाँच वर्षको अवधिमा झण्डै १४ हजार विद्युतीय सवारीसाधन भित्रिएका भन्सार विभागको तथ्याङ्क छ । यो आँकडा आर्थिक वर्ष २०७४/७५ मा ५ हजार २ सय ३९, आव २०७५/७६ मा ४ हजार ७ सय ४५, आव २०७६/७७ मा ५ सय ७५ देखिएको छ ।

यस्तै आव २०७७/७८ मा विद्युतीय सवारी साधनको आयात घटेर २ सय ६१ मा सीमित भएको छ । सो आवमा तत्कालीन अर्थमन्त्री युवराज वडाले विद्युतीय सवारी साधनमा अत्यधिक मात्रामा कर वृद्धि गरेपछि विद्युतीय सवारी साधनको आयातमा अत्यधिक गिरावट देखिएको हो ।

तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले विद्युतीय सवारी साधनमा लाग्दै आएको करको दायरा घटाएसँगै विद्युतीय सवारीसाधनको आयात क्रमश बढ्न थाले पनि अघिल्लो आवको नकारात्मक प्रभावले काम गरि नै रह्यो । आव २०७८/७९ को एक वर्षको अवधिमा १ हजार ८०७ विद्युतीय सवारी साधन नेपाल भित्रिएका थिए ।