मुक्तिनाथ कृषि कम्पनीले एकैपटक ल्यायाे ८ सहायक कम्पनी

-



     सफल आवाज    
     भाद्र १५ गते २०७९ मा प्रकाशित



काठमाडौं, १५ भदौ । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले एकैपटक ८ वटा सहायक पब्लिक कम्पनीहरु सञ्चालनमा ल्याएको छ । संस्थाले आफ्नो चौथो स्थापना दिवसको अवसरमा कृषि क्षेत्रमा विशिष्टकृत वस्तु तथा सेवाहरु उपलब्ध गराउने लक्षसहित एकैपटक ८ वटा सहायक पब्लिक कम्पनीहरु औपचारिक रुपमा सञ्चालनमा ल्याएको हाे ।

यसरी सञ्चालनमा आएका कम्पनीहरुमा मुक्तिनाथ सिड बैङ्क लि., मुक्तिनाथ फर्टिलाइजर बैङ्क लि., मुक्तिनाथ नर्सरी बैङ्क लि., मुक्तिनाथ लाइभस्टक बैङ्क लि., मुक्तिनाथ हर्बल बैङ्क लि., मुक्तिनाथ फूड बैङ्क लि., मुक्तिनाथ एग्रो मेशिनरी कम्पनी लि. र मुक्तिनाथ ट्रेडिङ लि. रहेका छन् ।

देशको कुल गार्हस्थ उत्पादनमा सबैभन्दा ठूलो हिस्सा ओगटेको कृषि क्षेत्रको समग्र विकासका लागि वित्तीय र गैरवित्तिय सेवाहरु प्रदान गरी कृषि चक्र बनाउने उद्देश्यले मुक्तिनाथ विकास बैंकको प्रमुख लगानीमा मुक्तिनाथ कृषि कम्पनीको स्थापना भएको संस्थाका कार्यकारी अध्यक्ष भरतराज ढकालले सफल आवाजलाई जानकारी दिए ।

कम्पनीले आफ्नो स्थापनाकाल देखि नै निरन्तर रुपमा राष्ट्रिय तथा अन्तराष्ट्रिय व्यावसायिक साझेदार, कम्पनीहरु तथा फर्महरु, कृषक समूह, सहकारीहरुसँग सहकार्य गर्दै कृषिको मूल्य श्रृंखला विकासका लागि व्यवस्थापकीय भूमिका निर्वाह गर्ने प्रयत्न गरिरहेको छ ।

यसका लागि कम्पनीले ‘गाउँको उत्पादन शहरमा, शहरको पुँजी गाउँमा’  र ‘संवृद्धिको आधार कृषि, कृषिको आधार प्रविधि’ भन्ने मूल मन्त्रलाई सार्थक तुल्याउन ‘कृषकसँग मुक्तिनाथ’  र ‘उपभोक्तासँग मुक्तिनाथ’ अभियानको शुरुवात गरी सोही अनुसारका कार्यक्रमहरु गर्दै आइरहेको कार्यकारी अध्यक्ष ढकालको भनाइ छ ।

के गरिरहेको छ मुक्तिनाथ कृषि कम्पनीले ?

कम्पनीले आफ्नो उद्देश्य अनुसार हाल कृषकहरुलाई आवश्यक गुणस्तरीय उत्पादनका साधनहरु जस्तै मल, बिउ, रोग किरा नियन्त्रक, औजारउपकरण सहित कृषि परामर्श सेवा, अनुसन्धान, विकास र प्रविधि प्रसारको साथै कृषि उत्पादनहरुको खरीद सुनिश्चितता गरी राष्ट्रिय र अन्तराष्ट्रिय बजारीकरण सम्बन्धी कार्यहरु गर्दै आइरहेको छ ।

हालसम्म कम्पनीले ६२ वटा जिल्लाहरुमा विभिन्न व्यवसायिक साझेदारहरुको माध्यमबाट कम्पनीको वस्तु तथा सेवाहरु प्रवाह गरेको छ । यसका लागि लागि पोखरा, बुटवल र चितवनमा प्रादेशिक कार्यालयहरु सञ्चालनमा रहेको र यो वर्ष इटहरी, चन्द्रनिगाहपुर, सुर्खेत र धनगढीमा प्रादेशिक कार्यालयहरु स्थापनको अन्तिम चरणमा पुगेको कार्यकारी अध्यक्ष ढकाल बताउँछन् ।

कसरी काम गर्छन् सहायक कम्पनीले ?

सहायक कम्पनीहरुमा मुक्तिनाथ कृषि कम्पनीको ८०% र सर्वसाधारणबाट २०% लगानी रहने र हरेक सहायक कम्पनीहरुले कृषि र सम्बन्धित क्षेत्रको लागि विशिष्टकृत वस्तु तथा सेवाहरुको उपलब्ध गराउने कम्पनीले जनाएको छ ।

बीउ बैंकले गुणस्तरीय बीउ प्रवर्द्धन, मल बैंक मलको दिगो मल व्यवस्थापन, नर्सरी बैंकले जुनसुकै समयमा रोपणको लागि आवश्यक तयारी बिरुवाहरु उपलब्धता, लाइभस्टक बैंक पशुपक्षीजन्य उत्पादनहरुको उत्पादकत्व वृद्धि, हर्बल बैंकले प्राकृतिक अर्थतन्त्रको विकास, फुड बैंकले देशको समृद्धिको लागि, मेशिनरी कम्पनीले नेपालमा उपयोगी औजार/उपकरण उत्पादन, र ट्रेड्रिङ्ग कम्पनीले एकै ठाँउबाट कृषक र उपभोक्ताहरुलाई आवश्यक सामाग्रीहरु वितरणका काम गर्ने कम्पनीले जनाएको छ ।

सबै कम्पनीका नाममा बैंक शब्द किन ?

बैंक तथा वित्तीय संस्थाहरुले वित्तीय मध्यस्थकर्ता भूमिका निर्वाह गरी वित्तीय पहुँच र परिचालनका साथै युवाहरुको रोजगारीका लागि विविध क्षेत्र निर्माणमा योगदान गरे झैं नेपालमा कृषि जस्तो बृहत् र महत्वपूर्ण क्षेत्रको विकासका लागि संस्थागत रुपमा गैरवित्तीय वस्तु तथा सेवाहरुमार्फत कृषि मध्यस्थकर्ताको भुमिका निर्वाह गरी युवाहरुलाई कृषिमा आकर्षित गराउँदै कृषिको समग्र मूल्य श्रृंखला विकासमा व्यवस्थापकीय भुमिका स्थापित गर्न सहायक कम्पनीको नामाकरणमा बैंक शब्द राखिएको कार्यकारी अध्यक्ष ढकालले जानकारी दिए ।

यी सहायक कम्पनीहरु मार्फत कृषि क्षेत्रको विकासका लागि एकीकृत रुपमा निजी क्षेत्रले निर्वाह गर्नुपर्ने भूमिकामा मद्दत पुग्ने कम्पनीको बुझाई छ । यसबाहेका यो अभियानले निजी लगानीकर्ताहरुलाई संस्थागत रुपमा कृषिमा लगानी गर्नको लागि मार्गदर्शन हुने भन्दै विभिन्न सरकारी तथा गैरसरकारी क्षेत्रबाट स्थापित भई सञ्चालन गर्न गाह्रो भइरहेका विभिन्न कम्पनी, उद्योग तथा फर्महरुलाई पनि सहायक कम्पनीहरुमा समाहित गरी सञ्चालन गर्न सक्षम हुने कम्पनीको दावी छ ।