साढे १३ अर्ब लागतमा सेती र मादी खोलामा आकर्षक पुल निर्माण गरिने

-



     सफल आवाज    
     भाद्र १५ गते २०७९ मा प्रकाशित



काठमाडौं, १५ भदाै । सरकारले पृथ्वी राजमार्ग विस्तारका क्रममा सेती खोला र मादी खोलामा आकर्षक पुल निर्माण गर्न प्रक्रिया अघि बढाएको छ । चार लेनमा सडक विस्तार भइरहेकामा पुल पनि सोही चौडाइमा निर्माण गर्न लागिएको सडक विभागले जनाएको छ ।

मादी खोलामा चार लेनको नयाँ पुल बनाउन प्रक्रिया अघि बढिसकेको विभागका महानिर्देशक अर्जुनजङ्ग थापाले बताए। उनका अनुसार हाल रहेको पुल पुरानो भइसकेको र आयु कम भएको छ । नयाँ निर्माण गर्दा आधुनिक प्रविधिसँगै हेर्दा आकर्षक पुल निर्माण गर्न लागिएको हो ।

यी दुई स्थानमा पुल निर्माणका लागि दातृ निकाय (एशियाली विकास बैंक) बाट ‘नो अब्जेक्सन लेटर’ आइसकेको छ । उनले भने, “उताबाट स्वीकृति आएपछि काम सुरु गरिनेछ ।” सो योजनाको अवधि आव २०८५÷८६ सम्म रहेको छ । ठेक्का अङ्कअनुसार योजनाको लागत रु १३ अर्ब ६२ करोड छ ।

मुग्लिन–पोखरा सडक योजना (पूर्वी खण्ड) अर्थात् आबुखैरेनीबाट–जामुने भज्याङसम्मको निर्माणको ठेक्का चाइना कम्युनिकेशन कम्पनी लिमिटेडलाई दिइएको थियो । सो ठेक्काको सम्झौता विसं २०७८ वैशाख २ गते भएको थियो । कूल ४१ दशमलव ४५ किमीमध्ये एक दशमलव ५२ किमी सहरी क्षेत्र र गैरसहरी क्षेत्रमा ३९ दशमलव ९३ किमी छ ।

पहिलो ठेक्कामा वित्तीय प्रगति मोबिलाइजेसन पेश्कीसहित १५ प्रतिशत थियो । सो सडक चार लेनमा विस्तार गरिने भए पनि बजारमा थप दुई लेन ‘सर्भिस लेन’ निर्माण गरिने सडक विभागले जनाएको छ । पश्चिम खण्ड (जामुने भज्याङदेखि पोखरा पृथ्वीचोकसम्म) निर्माणको ठेक्का चिनियाँ कम्पनी ‘एनहुई केयुयन हाइवे एण्ड ब्रिज’ कम्पनी लिमिटेडलाई विसं २०७८ जेठ ३ गते दिइएको थियो ।

जम्मा ३८ दशमलव ८८ किमीमध्ये १८ दशमलव ५९ किमी सहरी क्षेत्र र २० दशमलव २९ किमी गैरसहरी क्षेत्र छ । सो खण्डमा एक दशमलव आठ किमी सडकमा माटो काटी सडक विस्तार गर्नुपर्नेछ । पर्यटकीय नगरी पोखरा जाने स्थानमा बन्न लागेका पुलले यहाँको सौन्दर्यता थप गर्ने अपेक्षा गरिएको छ ।

विभागले पछिल्ला वर्ष शहरी क्षेत्रमा आकर्षक पुल निर्माण गर्दै आएको छ ।