अब मोटरसाइकलमा मोबाइल होल्डर राखेर चलाए कारबाही

-



     सफल आवाज    
     भाद्र १५ गते २०७९ मा प्रकाशित



काठमाडौं, १५ भदौ । अब दुईपाङ्ग्रे सवारीसाधनमा मोबाइल ‘होल्डर’ अथवा मोबाइल ‘स्ट्यान्ड’ राखेर चलाएको खण्डमा कारबाही हुने भएको छ । महानगरीय ट्राफिक महाशाखाका अनुसार मोटरसाइकल कम्पनीबाट बनेर आएको भन्दा बाहेक पाटपूर्जा परिवर्तन गर्नेर थप्ने क्रम बढेको र यो नियम विपरीत भएकोले कारबाही गर्ने निर्णय भएको हो ।

अहिले राइड सेवा दिने दुईपाङ्ग्रे सवारीसाधनले विभिन्न किसिमका मोबाइल स्ट्यान्ड राख्दै सेवा दिँदै आएका छन् । यसबाहेक भ्लग बनाउने हिसाबले पनि युवा वर्गमा मोटरसाइकलमा मोबाइल होल्डर तथा क्यामरा होल्डर राख्ने चलन बढेको छ । प्रहरीले मोबाइल स्ट्यान्डका कारण विकृति र दुर्घटना पनि बढेको भन्दै कारबाही गर्ने भएको हो ।

कानूनमा भएको कुरा लागू गरेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता राजेन्द्रप्रसाद भट्टले जानकारी दिए । उनले भने, ‘सवारीसाधन चलाउँदा कम्पनीबाट जडित भएर आएको बाहेक कुनै पनि समान तथा पार्टस् थप्न नपाइने व्यवस्था कानूनमा छ’ सोही कानूनलाई हामीले कार्यान्वयनमा ल्याउन खोजेका हौं ।’

भट्टका अनुसार अब कुनै पनि सवारीमा मोबाइल स्ट्यान्ड लगायत स्वरुप परिवर्तन गरेको पाइए २ हजारदेखि २० हजारसम्म कारबाही हुनेछ । यसबाट राइड सेयरिङ सेवामा आबद्ध चालक तथा कम्पनीहरु प्रत्यक्ष रुपमा प्रभावित हुने देखिएकाे छ ।