हेयर ट्रान्सप्लान्टमा नेपालकै अग्रणी- ‘अरोगिन हेल्थ केयर’

-



     साजन सुवेदी    
     भाद्र १७ गते २०७९ मा प्रकाशित



काठमाडौ, १७ भदौ । सुन्दर र आकर्षक देखिन मन पराउनु मानवीय स्वभाव नै हो । कुनैपनि व्यक्तिको व्यक्तित्वमा उसको अनुहार, बोलीचाली, व्यवहार र व्यक्तित्व मात्र नभई कपालको पनि उत्तिकै भूमिका हुन्छ । अझ नारीहरुका लागि त कपाललाई गहनाकै रुपमा परिभाषित गरिन्छ । स्वस्थ र मिलेको कपालले नारी मात्र नभई पुरुषलाई पनि आकर्षक र आत्मविश्वासी बनाउँछ । कपाल झरेर चिन्तित भएका समुदायलाई गुणस्तरीय तथा भरपर्दो सेवा प्रदान गर्नका लागि कर्पोरेट क्लिनिकको अवधारणाबाट स्थापना भएको संस्था हो -अरोगिन हेल्थ केयर प्रा.लि.।

संस्थाका सञ्चालक प्रितम राज नेपालसहित अन्य ३ जनाको अवधारणामा २०७३ सालमा स्थापित यो संस्था काठमाडौंको विशालनगरमा ४ रोपनी क्षेत्रफलमा अवस्थित छ । नेपालमा मेडिकल टुरिजम विकास गर्ने र व्यवसायमार्फत् नेपालमा उपलब्ध सेवा विदेशमा चिनाएर विदेशीहरुलाई आकर्षित गरी देशको अर्थतन्त्रमा टेवा पुगोस् भन्ने उद्देश्यले चार जना युवाले यो संस्था स्थापना गरेका हुन् ।

शुरुमा कपाल प्रत्यारोपणमै केन्द्रित गर्नेगरी कर्पोरेट क्लिनिकका रुपमा शुरुवात भएको यो कम्पनीले अहिले ग्राहकहरुको मागलाई ध्यानमा राखेर ओपीडी, फिजियोथेरापी, दन्त चिकित्सा तथा चर्मरोगको उपचार सेवा थप गरी सञ्चालन गरिरहेकाे छ । यसबाहेक कम्पनीले चलाएको माइन्ड क्लिनिकमा मानिसहरुको निकै आकर्षण रहेको सञ्चालक नेपाल बताउँछन् ।

४ जनाको अवधारणाबाट स्थापना भएपनि यो संस्था केही समययता सञ्चालक प्रितम राज नेपालले अगाडि बढाइरहेका छन् भने बाँकी तीनजना भने आ आफ्नै क्षेत्रमा काम गरिरहेका छन् ।

आफ्नै काम गर्ने हुटहुटी

२०७२ सालमा भारतबाट पढाई सकेर फर्केपछि हालका सञ्चालक प्रितम राज नेपाल एउटा बीमा कम्पनीमा सहायक व्यवस्थापकको रुपमा काम गरिरहेका थिए । सँगै पढेर फर्केका अन्य तीन जना साथीसँग गहनापोखरीको एउटा क्याफेमा चिया खाँदै गर्दा आफैंले केही गर्नुपर्छ भन्ने विचार आदान प्रदान भयो । यसैक्रममा नेपालमा मेडिकल टुरिजम अर्थात् स्वास्थ्य पर्यटनको सम्भावना छ र यसैसँग सम्बन्धित क्षेत्रमा हात हाल्न सके व्यक्तिगत मात्र नभई देशकै अर्थतन्त्रमा टेवा पुग्छ भन्ने कुरामा चारै जनाको एकमत भयो ।

केही वर्षपछि विदेशीहरु स्वास्थ्यसम्बन्धी कुनै विषयको उपचार नेपालमा सहज, सुलभ र गुणस्तरीय रुपमा हुन्छ भनेर ढुक्क होउन् र उपचारका लागि नेपाल आउन् भन्ने हिसाबले कर्पोरेट क्लिनिकको परिकल्पना गरियो ।

टोलीमा चार्टर्ड एकाउन्टेन्सी गरेका, आमसञ्चार विषय पढेका, चिकित्सा क्षेत्रका र व्यवस्थापन/बजारीकरणमा आफ्नो औपचारिक पढाई पूरा गरेका एक एक जना समावेश भएकाले जुनसुकै व्यवसाय गरे पनि ज्ञानको दायरा फराकिलो हुने पक्का थियो । एउटा व्यवसायका लागि आवश्यक सबै प्रकारको विज्ञता टोलीमा रहेकोले जुनसुकै व्यवसायमा हात हाले पनि त्यसलाई दक्षतापूर्वक सञ्चालन तथा विस्तार गर्न सकिने आतेमविश्वास थियो उनीहरुमा ।

यसरी बन्यो अवधारणा

टोलीकै सदस्यमध्ये केहीको कपाल झर्ने समस्या आएकोले उनीहरु स्वयं पनि यो प्रत्यारोपणका लागि इच्छुक थिए । तर त्यतिबेलासम्म नेपालमा एकाध यस्ता सेवा दिने संस्था खुले पनि गुणस्तरको ग्यारेन्टी थिएन । यस हिसाबले यसै विधाका विज्ञ चिकिसकहरु समावेश गरेर यसकै लागि मात्र समर्पित संस्था खोल्नेमा सबै एकमत भए ।

विभिन्न अनुसन्धान गर्दै जाँदा चारै जना नेपालमा यो सेवा फाट्टफुट् मात्र चलनमा रहेको तर गुणस्तर र भरपर्दो हिसाबले कसैले पनि नगरेको पाइएकोले यसैमा केन्द्रित क्लिनिक शुरु गर्ने निर्णयमा पुगे । यसको लागि सम्भाव्यता अध्ययन तथा अनुसन्धानका गर्न उनीहरु पटक पटक भारतका विभिन्न नाम चलेका अस्पतालदेखि यसैमा वर्षौंदेखि काम गरिरहेका चिकित्सकहरु सँग परामर्शका लागि पुगे । त्यसपछि कपाल प्रत्यारोपणका क्षेत्रमा भारतकै प्रतिष्ठित कम्पनी डीसीएक्ससँगको सहकार्यमा नेपालमा अरोगिन हेल्थकेयरको स्थापना भयो ।

‘त्यतिबेला नेपालमा कपाल प्रत्यारोपणमा विज्ञता हासिल गरेकाले नभई जुनसुकै विधाका चिकित्सकले कपाल प्रत्यारोपण गर्ने गरेकाले त्यसले राम्रोभन्दा अझ नराम्रो नतिजा आउने सम्भावना प्रबल थियो । त्यसैले हामीले कपाल प्रत्यारोपणमै विशेषज्ञता हासिल गरेका चिकित्सक तथा नर्सहरुमार्फत् नेपालमै पहिलोपटक समर्पित कपाल प्रत्यारोपण संस्था अरोगिनको स्थापना गरेका हौं’, सञ्चालक नेपालले भने ।     

जसरी टर्कीमा मेडिकल टुरिजमका कारण थुप्रै विदेशीहरु उपचार गराउन जान्छन् र उपचार सकेर नफर्कुनेजेल त्यहाँको होटल, रेस्टुरेन्टहरुर चल्छन्, त्यसरी नै नेपालमा पनि यसै प्रकारका सेवा सुविधा विकास गर्ने र अन्तरराष्ट्रिय रुपमा चिनिने उद्देश्य कम्पनीको रहेको छ ।

सञ्चालक नेपालका विचारमा यसका लागि एउटा संस्थाको प्रयासले नपुग्ने र अरोगिनजस्तै भरपर्दो र गुणस्तरीय सेवा प्रदान गर्ने अन्य थुप्रै कम्पनीहरु खुल्नु जरुरी हुन्छ । मेहनत र लगनशीलताका साथ ब्राण्ड सिर्जना गरेर अन्तरराष्ट्रिय रुपमा विश्वास दिलाउन केही समय पक्कै लाग्ने तर दत्तचित्त भएर लागेमा एक दिन यसले अवश्य मूर्तरुप लिने उनको विश्वास छ । 

हाल कम्पनीले सोही उद्देश्य अनुरुप काम गरिरहेको र आउँदा केही वर्षमा नेपालमा मेडिकल टुरिजममार्फत् विदेशी मुद्रा आर्जन गर्ने कम्पनीको लक्ष्य छ । ‘विदेशीले नेपालको प्राकृति सुन्दरता हेरेर फर्कँदै गर्दा कपाल प्रत्यारोपणको गुणस्तरीय सेवा लिएर आफ्नो देश फर्किउन् र यसमार्फत् नेपालमा पर्यटन तथा चिकित्सा पर्यटन दुवैको विकास होस् न भन्ने हाम्रो उद्देश्य हो’, सञ्चालक नेपाल थप्छन् ।  

पहिले आफैंले प्रत्यारोपण, सकारात्मक नतिजापछि सेवाको शुरुवात

अरोगिनका संस्थापकमध्येकै केही सदस्यले शुरुमा आफैंले कपाल प्रत्यारोपण गरेर त्यसको गुणस्तर र परिणामको प्रत्यक्ष अनुभव गरेपछि सोचेजस्तै प्रभावकारी नतिजा आएकोले गुणस्तरमा सम्झौता नगरी सेवा दिन सके यो व्यवसाय दिगो हुनेमा उनीहरु ढुक्क भए । 

प्रत्यारोपणको गुणस्तरका लागि र सकेसम्म धेरै घाउहरु नबसुन् भन्ने हिसाबले प्रत्यारोपण अघि, प्रत्यारोपणका बेला तथा प्रत्यारोपणपछि चाहिने सबै सामानहरु विदेशी नै प्रयोग गरिने कम्पनीका व्यवस्थापक जानुका बिष्टले जानकारी दिइन् ।

प्रतिक्रिया सकारात्मक

पहिलेदेखि नै कपाल प्रत्यारोपणमा केन्द्रित भएकाले कम्पनीले खुलेको १२ महिनाभित्रै राम्रै व्यापार गर्न सफल भयो । सामायतया: सक्नेले सामान्य उपचारका लागि पनि लाखौं रुपैयाँ खर्च गरेर भारत सिंगापुर लगायत देशमा जाने चलन रहेकाले अरोगिनबाट नै कम खर्चमा विदेशको जस्तै र गुणस्तरीय सेवा पाएकाले शुरुवाती अवस्थामा नै यहाँबाट सेवा लिनेहरु सन्तुष्ट रहेको र उनीहरुबाट सकारात्मक प्रतिक्रिया पाएको नेपाल सम्झन्छन् ।

हाल कपाल प्रत्यारोपणका लागि भारत वा अन्य देश जाने चलन लगभग हटिसकेको छ । कुनै पनि सेवा देशमै उपलब्ध हुनुपर्ने साथै मानिसहरुको विश्वास जितेर काम गर्न सक्नुपर्ने नेपाल बताउँछन् ।

‘कुनै एउटा ठूलो कम्पनी आएर देशको कुल गार्हस्थ उत्पादन बढ्ने भन्ने हुँदैन । साना साना धेरै कम्पनीकहरुको योगदान पनि देशको अर्थतन्त्रका लागि निकै लाभदायक हुन्छ’, उनी भन्छन् । यसका लागि राष्ट्रले पनि साना उद्योग व्यवसाय फस्टाउने वातावरण तथा नीति तय गर्नुपर्ने आवश्यकता उनले देखेका छन् ।

कोभिडका बेला असहज तर काम बन्द भएन

व्यवसाय गर्दै जाँदा जुन बेला जे परिस्थिति पनि आउन सक्ने तर त्यस्तो बेलामा हिम्मत हार्न नहुने नेपाल बताउँछन् । कोभिडका बेला थुप्रै महिना कपाल प्रत्यारोपणका लागि मानिसहरु नआउँदा पनि घर भाडा मात्रै तिरेर भए पनि धैर्यताका साथ बसेको र पछि विस्तारै सहज हुँदै गएपछि व्यवसाय पुन: लयमा फर्केको उनी सम्झिन्छन् ।

त्यसबेला राष्ट्रबैंकले दिएको सहुलियतपूर्ण ऋणले व्यवसाय टिकाइराख्न सहज भएको थियो । हाल ७ वर्षअगाडि गरेको लगानीको आठ गुणा बढी मूल्याङकनमा जानसक्ने गरी संस्थाले आफूलाई उभ्याएको उनको दावी छ ।

कलेज पढ्नेदेखि ७० वर्षका सम्मका ग्राहक

अरोगिनबाट कपाल प्रत्यारोपण गराउनेमा उमेरका हिसाबले कक्षा ११ पढ्ने लगभग १८ वर्षदेखि ७० वर्षको ज्येष्ठ नागरिक समेत रहेका छन् । यसबाहेक पेशागत हिसाबले हेर्दा सरकारी, प्रहरी सेवा, निजामति, विद्यार्थी, बैंक तथा वित्तीय संस्थाका उच्च पदस्थ कर्मचारी, कलाकार लगायतका व्यक्तिहरुले पनि सेवा लिएर सन्तुष्टि व्यक्त गरेको कम्पनीको दावी छ ।

कम्पनीका  व्यवस्थापक  बिष्टका अनुसार यसरी कपाल प्रत्यारोपणका लागि आउने सबैजना आफ्नो व्यक्तित्व र शारीरिक छबिलाई माया गर्ने र कपाल नभएका कारण आफ्नाे पेशा वा दैनिक जीवनमा असर परेको महसुस गरेकाहरु थिए । प्रत्यारोपणपछि अधिकांशले नतिजा राम्रो भएको र आफ्नो दैनिक कामकाज र मानिसहरुसँगको घुलमिलमा नै आत्मविश्वास बढेको प्रतिक्रिया दिएको उनी बताउँछिन् । हालसम्म काठमाडौं बाहेक पोखरा, बिराटनगर र बुटवलबाट ५ हजारभन्दा बढी ग्राहकहरुले सेवा लिइसकेका छन् ।

कपाल प्रत्यारोपण र अन्य सुविधा

अरोगिन हेल्थ केयरमा कपाल प्रत्योपण मात्र हुँदैन । यो मेडिसिटी अस्पतालको सिटी अफिस पनि हो । मेडिसिटी अस्पतालमा फलो अपका लागि जानुपर्ने बिरामीले यहीँबाट नै उपचार गराउन सक्छन् । यहाँ अर्थोपेडिक तथा डेन्टल क्लिनिकका साथै माइन्ड क्लिनिक पनि चलिरहेको छ ।  अन कल ओपीडीको व्यवस्था पनि रहेको छ । छालासम्बन्धी रोगका लागि पनि सेवा उपलब्ध गराइएको छ ।

यसबाहेक बाहिरबाट आएर होटेलमा बसेर उपचार गराउनुपर्ने र कहाँ कुन डक्टरलाई देखाउने भन्ने थाहा नभएका हरुका लागि पनि फोनको माध्यमबाटै यहाँभित्रै बेडको व्यवस्था गरेर चिकित्सकको टोली तयार गरेर उपचार हुने गरेको छ । त्यसपछि बिरामीको रिपोर्ट हेरेर कुन डक्टरलाई देखाउनुपर्ने हो त्यहाँ लगेर उपचार गरेर ल्याउने सम्मको व्यवस्था रहेको सञ्चालक नेपाल बताउँछन् ।

यसका लागि संस्थाले धेरै अस्पतालसँग सम्झौता गरेर बिरामीलाई पालो कुर्नु नपर्ने व्यवस्था गरेको छ । यसबाहेक यसैको भगिनी संस्थाका रुपमा अस्पतालपछिको सेवा लिन चाहनेका लागि अरोगिन केयर होम पनि सञ्चालनमा आइसकेको छ ।

एकै पटक भुक्तानी गर्न नसक्नेलाई किस्ताबन्दी सुविधा

कपाल प्रत्यारोपण आफैंमा महँगो सेवा भएकोले एकै पटक भुक्तानी गर्न नसक्नेका लागि किस्ताबन्दी सुविधा पनि उपलब्ध  छ । अरोगिनले गुणस्तरमा सम्झौता नगर्ने साथै नयाँ प्रविधिबाट सेवा दिने भएकाले लागि नबिल बैंकसँगको सहकार्यमा किस्ताबन्दी सुविधा दिइरहेको छ ।

 सञ्चालक नेपालका अनुसार यो सुविधा शून्य प्रतिशत ब्याजदरमा धितोरहित हुने र ग्राहकले १८ महिनासम्म बढीमा २ लाख रुपैयाँसम्मको सुविधा लिएर कपाल प्रत्यारोपण लगायतका सेवा लिन पाउँनेछन ।

‘पैसा हुनेले सेवा लिँदा एकमुष्ट भुक्तानी गर्ने भए पनि यसको आवश्यकता जोकोहीलाई पर्ने भएकाले हामीले १८ महिनाको किस्ताबन्दी सुविधा ल्याएका हौ’, सञ्चालक नेपाल भन्छन् ।

विश्वकै अब्बल प्रविधि अरोगिनमा मात्र उपलब्ध

विगत ३ वर्षदेखि अरोगिनमा कपाल प्रत्यारोपणको विश्वकै अत्याधुनिक र पेटेन्टयुक्त बीईएसटी ‘बेस्ट’ प्रविधिबाट सेवा दिइँदै आएको छ । पछिल्लोपटक नेपालमा अरोगिनमा मात्र उपलब्ध सेवा एफयूईको विश्वमै पेटेन्ट भएको र हालसम्मकै शत प्रतिशत नतिजा दिने प्रविधियुक्त भएको व्यवस्थापक बिष्टको भनाइ छ ।

उनी भन्छिन्, ‘विश्वमै कपाल प्रत्यारोपणको एफयूटी र एफयूई गरी दुई प्रविधि हुन्छ र त्यसमध्ये बेस्ट प्रविधि एफयूई अन्तर्गतको सबैभन्दा सुधारिएको र शत प्रतिशत नतिजा दिने संस्करण हो । साधारण एफयूई, डीएचटी पनि एफयूई अन्तर्गत नै आउँछन् तर यिनीहरुको नतिजा ७० वा ८० प्रतिशत मात्र हुन्छ ।

गुणस्तरमा सम्झौता नगर्ने हिसाबले अरोगिनले बेस्ट प्रविधिबाटै प्रत्यारोपण गर्न जोड दिँदै आएको छ । तर शतप्रतिशत नतिजा नचाहिने हरुका लागि भने साधारण एफयूई, डीएचटी सेवा पनि उपलब्ध भने रहेको छ ।

अबको ५ वर्षमा कम्पनीको योजना

अबको पाँच वर्षमा नेपालका मुख्य मुख्य शहरहरुमा अरोगिनको पूर्ण चिकित्सक टोलीसहितको कपाल प्रत्यारोपण केन्द्र विस्तार गरिसकिने र हाल सोही अनुरुप काम भइहेको संचालक नेपाल बताउँछन् । त्यतिबेला नेपालका कुनै पनि मुख्य शहरका व्यक्तिहरुले गुणस्तरीय कपाल प्रत्यारोपणका लागि काठमाडौं जानुपर्ने अवस्था समेत नरहने उनको विश्वास छ ।

के हो कपाल प्रत्यारोपण ?

कुनै पनि व्यक्तिको सामान्यतया: आफ्नै टाउकोको पछाडिपट्टी रहेको बलियो र नझर्ने कपाललाई जरैसमेत उखेलेर ल्याई दक्ष चिकित्सकद्वारा झरेको ठाउँमा रोप्ने प्रक्रियालाई हेयर ट्रान्सप्लान्ट वा कपाल प्रत्यारोपण भनिन्छ । कपाल प्रत्यारोपणमा फेलोशिप गरेर आएका चर्मरोग चिकित्सामा एमडी गरेका अनुभवी चिकित्सकद्वारा आफ्नै कपाल रोपिने भएकाले अरोगिनमा कपाल प्रत्यारोपण गराउँदा कुनै प्रकारको स्वास्थ्य जटिलता नआउने कम्पनीको दावी छ । चिकित्सक टोलीको अनुभव र दक्षतामा कुनै पनि सम्झौता नगरिने र विश्वकै अत्याधुनिक प्रविधिबाट कपाल प्रत्यारोपण गराइने भएकाले हालसम्म सेवाग्राहीबाट गुनासो नआएको व्यवस्थापक बिष्टको भनाइ छ ।

प्रत्यारोपण गरेको कपाल झर्दैन

‘पछाडिको भागको कपालमा अंकुशे जरा हुने भएकाले जरासहित रोप्दा त्यो झर्ने सम्भावना हुँदैन’, व्यवस्थापक बिष्ट भन्छिन् । उनका अनुसार विशेषगरी पुरुषहरुको टाउकोको पछाडिको भाग तथा दाह्री प्राकृतिक रुपमा कहिले पनि नझर्ने भएकाले त्यस्तो ठाउँको कपाल लगेर झरेको ठाउँमा रोपिने हो । नझर्ने गुण बोकेको कपाल जरैसमेत लगेर रोपिने हुनाले यो जीवनपर्यन्त रहने उनले बताइन् ।

अरोगिनले हालसम्म कपाल प्रत्यारोपण मात्र नगरी अन्यत्र प्रत्यारोपण गरेर बिग्रिएकाहरुको ‘करेक्सन’ गर्ने अर्थात् मिलाउने सेवा पनि दिँदै आएको छ । सस्तो देखेर गुणस्तरको ख्याल नगरी प्रत्यारोपण गराएकाहरुले पनि अरोगिनमा आएर आवश्यकता अनुसार गुणस्तरीय सेवामार्फत् करेक्सन सेवा लिन सक्छन् ।