बागमती प्रदेशले असोजदेखि लाइसेन्समा ७० प्रतिशत अंक प्रणाली लागू गर्ने

-



     सफल आवाज    
     भाद्र २१ गते २०७९ मा प्रकाशित



काठमाडौ, २१ भदौ । बागमती प्रदेश श्रम तथा यातायात मन्त्रालयले असोज १ गतेदेखि सवारी चालक अनुमतिपत्रको परीक्षामा ७० प्रतिशत अंक ल्याउँदा पास हुने व्यवस्था लागू गर्ने भएको छ ।

यो व्यवस्था सवारी चालक अनुमतिपत्र परीक्षा निर्देशिका, २०७७ बनेको झन्डै दुई वर्षपछि कार्यान्वयनमा आउने भएको हो । केही समयअघि सातै प्रदेशका यातायात मन्त्रीबीच ७० प्रतिशत अंक प्रणाली लागू गर्ने सहमति भएको थियो ।

सोमबार संघीय भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद ईस्तियाक राईको नेतृत्वमा सातै प्रदेशका यातायात मन्त्री सहित बसेको बैठकले सवारी चालक अनुमतिपत्र परिक्षा निर्देशका २०७७ सबै प्रदेश कार्यालयहरुले अनिवार्य कार्यान्वयन गर्ने निर्णय गरेको निर्णय अनुसार बागमती प्रदेशमा पनि लागू हुने भएको मन्त्रालयले  जनाएको छ ।

यातायात व्यवस्था विभागले करिब १ वर्ष लगाएर जारी गरेको लाइसेन्स परीक्षा निर्देशिकामा १०० पूर्णाङ्कमा ७० अंक ल्याए ट्रायल परीक्षा पास हुने प्रावधान राखिएको छ । यो व्यवस्था गण्डकी प्रदेशले यसअघि नै कार्यान्वयनमा ल्याइसकेको छ ।