सिरहाको कमला नदीमा झोलुङ्गे पुल निर्माण सुरु

-



     सफल आवाज    
     भाद्र २३ गते २०७९ मा प्रकाशित



सिरहा, २३ भदौ । सिरहा नगरपालिका–१३ मल्हनियाँदेखि धनुषाको जनकनन्दनी गाउँपालिका–६ कठाल गाउँ जोड्नेगरी कमला नदीमा झोलुङ्गे पुल निर्माण सुरु भएको छ । १ हजार ५ सय मिटर लम्बाइको उक्त झोलुङ्गे पुल नेपालकै लामो हुने दावी गरिएको छ ।

यसअघि सबैभन्दा लामो झोलुङ्गे पुल १ हजार ४ सय ५६ मिटरको कञ्चनपुरको दोधारा चाँदनीस्थित महाकाली नदीमा निर्माण गरिएको छ । तराई–मधेसको लाइफलाइन मानिएको हुलाकी सडकअन्तर्गत रहेको कमला पुल २०६८ सालमा निर्माण गर्न पप्पु कन्स्ट्रक्सन र लुम्बिनी बिल्डर्सले ठेक्का पाएको थियो । काम समयमा नसकाएपछि उक्त कम्पनीविरुद्ध स्थानीयले आन्दोलन समेत गरेका थिए ।

त्यसपछि सपना–उमा एण्ड थानी जेभी बत्तीसपुतलीसँग २१ करोड ५१ लाखमा पुल बनाउन गत असारमा सम्झौता गरिएको थियो । निर्माणमा संलग्न इन्जिनियर उपेन्द्र देवकोटाका अनुसार दुई वर्षभित्र निर्माण पूरा गर्ने गरी सम्झौता भएको हो । अहिले सिराहा नगरपालिका–१३ मल्हनियामा निर्माणको काम धमाधम भइरहेको छ ।