पल्सर एन२५० नेपाली बजारमा आउँदै

-



     सफल आवाज    
     भाद्र ३१ गते २०७९ मा प्रकाशित



काठमाडौं, ३१ भदौ । पल्सर एन२५० छिट्टै नेपाली बजारमा उपलब्ध हुने भएको छ । नेपालको लागि बजाजको आधिकारिक बिक्रेता हंशराज हुलास चन्द एण्ड कम्पनी प्रालिले उक्त नेकेड स्पोर्टस् मोडल नेपालमा बिक्री गर्ने भएको हो ।

हालसम्म नेपालमा पल्सरर सिरिजमा सबैभन्दा ठूलो इन्जिन भएको २२० एफ मोडल उपलब्ध रहेकामा पल्सर एन २५० नेपालमा उपलब्ध हुने पल्सर सिरिजको सबैभन्दा ठूलो इन्जिन भएको मोटरसाइकल बन्ने भएको छ ।

यो मोटरसाइकलले नेपाली बजारमा सुजुकी जिक्सर २५० र यामाहा एफजेड २५ सँग सिधा प्रतिस्पर्धा गर्ने कम्पनीको भनाइ छ । यसबारेमा एचएच बजाजका निर्देशक अभिमन्यू गोल्छा भन्छन्, ‘केही दिनभित्रै हामी एन २५० मोटरसाइकल बिक्री सुरु गर्दैछौं । अहिल्यै मूल्यको विषय टुङ्गिएको छैन । उत्कृष्ट मूल्य अफर गर्ने छौं ।’

५ स्पीडको गियरबक्सयुक्त बजाज पल्सर एन २५० मा २४९ सीसी सिगंल सिलिन्डर, ४ स्ट्रोक, एसओएचसी, २ भल्भ, आयल कुल्ड, एफआई इन्जिन रहेको छ । उक्त इन्जिनले अधिकतम ८७५० आरपीएममा २४.५ पीएस पावर जेनेरेट गर्छ भने ६५०० आरपीएममा २१.५ एनएम टर्क प्रदान गर्ने कम्पनीको दावी छ ।