नाडा इभि चौतारीमा आज ‘प्रविधि र इकोसिस्टम’ का बारेमा छलफल हुने

-



     सफल आवाज    
     असाेज ७ गते २०७९ मा प्रकाशित



काठमाडौं, ७ असोज । बिहीबारदेखि शुरु ‘नाडा इभि एक्स्पो २०२२’ को ‘नाडा इभि चौतारी’ मा आज विद्युतीय सवारीका प्रविधि र इकोसिस्टमका बारेमा छलफल हुने भएको छ ।

नेपाल अटोमोबाइल डिलर्स एसोसियशन नाडाले बेला ‘नाडा इभि एक्स्पो २०२२’ चलिरहँदा दैनिक दिउँसो २ बजेदेखि ४ बजेसम्म नाडा इभि चौतारी सेमिनार गर्न लागेको हो । यो सेमिनार यूएसएआईडीको सहकार्यमा सञ्चालन हुने आयोजकले जनाएको छ ।

आजदेखि ९ गतेसम्म चल्ने सेमिनारमा प्रत्येक दिन अलग अलग विषयमा विज्ञहरुद्वारा छलफल हुने तालिका अनुसार आजको चौतारीको विषय ‘इभि टेक्नोलोजी एण्ड इकोसिस्टम’ रहेको छ । आजको चौतारीमा विद्युतीय सवारीको प्रविधि के हो, यसका अन्य अवयव र सम्बन्धित क्षेत्र कुन कुन हुन् भन्नेबारेमा विस्तृत छलफल तथा अन्तरक्रिया हुने नाडा अध्यक्ष ध्रुब थापाले बताए ।

नाडाका महाप्रबन्धक राम राज प्रताप भण्डारीका अनुसार भोलि दोस्रो दिन इभि फाइनान्सिङ अर्थात् विद्युतीय सवारी व्यवसायका लागि आवश्यक लगानी र आइतबार तेस्रो दिन विद्युतीय सवारीलाई प्रोत्साहन गर्न सरकारी नीति के कस्तो छ र ती नीतिहरुमा आवश्यक थपघट गर्ने वा नयाँ नीति ल्याउने बारेमा छलफल तथा अन्तरक्रिया हुनेछ ।