
कैलाली, ७ असोज । अर्थमन्त्री जनार्दन शर्माले सुदूरपश्चिम प्रदेशमा बिमाको पहुँच अभिवृद्धि गरिनुपर्ने खाँचो औंल्याएका छन् । बीमा समिति सुदूरपश्चिम प्रदेश कार्यालयको धनगढीमा शुक्रबार शुभारम्भ गर्दै मन्त्री शर्माले बीमाका दावी, भुक्तानीका कुरामा धेरै गुनासा तथा असन्तुष्टि रहेको बताए । उनले भने, ‘अहिले नेपालभर समग्रमा बीमाको पहुँच ४१.२ प्रतिशत छ । सुदूरपश्चिम प्रदेशमा १९.१७ प्रतिशत मात्रै छ । यसलाई वृद्धि गरिनुपर्छ ।’
देशभरी विभिन्न बीमा कम्पनीका ३ हजार ३ सय ६६ शाखा सञ्चालनमा रहेकामा सुदूरपश्चिममा ३ सय २७ मात्रै भएको उनको भनाइ थियो । ‘अहिले बीमा संस्थानले दिएको प्रत्यक्ष बीमा सन्दर्भका रोजगारी १२ हजार ३१ को सङ्ख्यामा रहेको तर सुदूरपश्चिम प्रदेशमा ६ सय ८७ मात्रै रहेको छ’, मन्त्री शर्माले भने, ‘यसबाट सुदूरपश्चिम प्रदेश बीमाको पहुँचबाट अलि टाढाजस्तो देखिएको छ ।’
उनले लगानीको जोखिम न्यूनीकरण गर्ने मुख्य काम बीमाको रहेको स्पष्ट पार्दै बीमाद्वारा ठूला विपत्तिको जोखिम पनि न्यूनीकरण गर्न सकिने बताए । लगानीकर्ता, प्रयोगकर्ता तथा उत्पादनकर्तालाई ढुक्क भएर आफ्नो क्षेत्रमा काम गर्ने वातावरण बनाउने बीमाको मुख्य उद्देश्य रहेको उनको विचार थियो ।
कार्यक्रममा प्रदेश सरकार आर्थिक मामिलामन्त्री प्रकाशबहादुर रावलले विभिन्न जोखिमको व्यवस्थापनमा बीमाले ठूलो सहयोग गरेको बताए । उनले भने, ‘सबै क्षेत्रमा यो बीमा जानु पनि जरुरी छ ।’ भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनिता चौधरीले जोखिम अन्त्य गर्न बीमालाई व्यापकरुपमा लैजान प्रदेश सरकार तयार रहेको बताइन् ।
बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले जोखिम न्यूनीकरण गर्ने संयन्त्रको रुपमा बीमालाई लिनुपर्ने धारणा व्यक्त गर्दै भने, ‘यो काम प्रदेश सरकारबाट सुरु हुनुपर्दछ ।’






काठमाडौं, ९ मङ्सिर । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको आयात तथा बिक्री वितरण…
काठमाडौं, ९ मङ्सिर । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चार महिना (कात्तिक मसान्त) सम्ममा…
प्योङयाङ, ९ मङ्सिर । उत्तर कोरियाले स्विट्जरल्यान्डको कूटनीतिक कार्यालय प्रमुख सिल्भेन एस्टियरलाई ४८ घण्टाभित्र देश…
जियुक्वान (चीन), ९ मङ्सिर । चीनले पहिलो पटक विदेशी अन्तरिक्ष यात्रीलाई समेत सहभागी गराउँदै बुधबार दुई… 



