करेन्ट लागेका साथीलाई बचाउन लाग्दा झण्डै आफैं सिद्धिएको : उपसचिव पाेखरेल

-



     आरजू विष्ट सल्यानी    
     असाेज २ गते २०७९ मा प्रकाशित



नेपाल सरकारको उपसचिव, ईश्वरीप्रसाद पोखरेल नेपाली राजनीतिक तथा प्रशासनिक क्षेत्रमा शिक्षा सेवाका माध्यमबाट धेरै चिरपरिचित व्यक्तित्व हुन् । प्रशासनिक क्षेत्रमा हुने गरेका बेथितिका बारेमा एक्लै प्रश्न उठाउँदै माइतीघर मण्डलामा उभिएर ब्यानर समाएर सच्चिन अनुनय गर्ने उनै हुन् ।

विद्राेही स्वभावका उनका बारेमा सरकारी जागीर, घरगृहस्थ र शिक्षादीक्षा तथा सामाजिक दायित्वका विषयमा नेपाली सञ्चारजगतले धेरै प्रश्न गर्दै आएको छ । तिनै उपसचिवले आफ्ना विगतका ऐतिहासिक कालखण्डको घटनावली स्मरण गर्दा कहाली लाग्दो कालको साक्षात्कार गर्न पुगेको विवरण पनि प्रस्तुत गरेका छन् ।

एउटै व्यक्ति पटक पटक मृत्युको सन्निकटतासित साक्षात्कार गर्ने, दुर्घटनामा पर्दा पनि आजका मितिसम्म सकुशल बाँची रहनु तथा मानवीय पेसा र कर्ममा थकानरहित लगावमा रहीरहनु कम आश्चर्यको कुरा हाेइन। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका उपसचिव ईश्वरीप्रसाद पोखरेल एक अनुपम उदाहरण हुन् ।

मानव जीवनको हरेक क्षण, जनशक्तिको प्रयोग र विशेषताको महत्वलाई बुझेर पेसागत कर्म र धर्ममा दत्तचित्त हुँदैँ २०४४ असौजदेखि २०५३ कार्तिकसम्म सुर्खेतमा माध्यमिक तहमा शिक्षण पेसा गरेका थिए । नेपाल शिक्षा सेवाको अधिकृत पदबाट सेवा प्रारम्भ गरेका पोखरेल अर्घाखाँची, गुल्मी र कपिलवस्तु जिल्लामा ११ वर्ष विद्यालय निरीक्षक रहे । २०६४ श्रावणदेखि शिक्षा सेवाको केन्द्रीय कार्यालय सानोठिमी तथा क्षेत्रीय कार्यालय पोखरा र अन्तमा संघीय मन्त्रालयमा कार्यरत हुँदै २०५३ कार्तिक, मंसीरदेखि शिक्षा सेवाको अधिकृत पदमा प्रवेश गरी, २०६९ श्रावणदेखि उपसचिवमा बढुवा भई, २०८० बैशाखबाट उपसचिव पदबाट नै अवकाशमा जाँदैछन् ।

निवृत्त जीवनको संघारमा रहेर पनि जनशक्ति विकास नीति निर्माण गर्न र मुलुकको साझा दस्तावेज बनाउने बहसका लागि मन्त्रालयमा शिर्षस्थ नेतृत्वको अगुवाइमा विभिन्न क्षेत्रका सरोकारवाला निकाय तथा पदाधिकारी सम्मिलित समितिहरु गठन गराए।

पछिल्लो समय मन्त्रालयमा जनशक्ति विकास योजना तथा समन्वय शाखाको मान, शान र कामका लागि निरन्तर संघर्ष गरी स्वदेशभित्र नै जनशक्ति विकासका लागि विभिन्न कामकाजका मापदण्ड तथा कार्यविधि निर्माण र निर्धारणमा प्रत्यक्ष संलग्न हुँदै आएका मन्त्रालयका क्रियाशील उपसचिव पोखरेलसंग सफल आवाजले गरेको फरक प्रसंगकाे संवादको सम्पादित अंश यहाँ प्रस्तुत गरिएकाे छ।

बाल्यकालका अविस्मरणीय कुराहरु कस्ता छन् ?

मेरी हजुर आमा, आमा र अग्रज फूपू दिदीहरु सधैँ भन्नुहुन्थ्यो, तीन वर्षको उमेर आसपास हुँदा कुपोषण, सुकेनास वा कुनै असाध्य विमारीले हो, स्वाँ स्वाँ र फ्वाँ फ्वाँ गर्दै चलायमानहीन भएको रे ? मेरो शरीरलाई रातभरी तुलसीमठमा राखेर तुलसी पानी खुवाउँदै विदा गर्न खोजिएको थियो रे ? तर रातारात दुरदराजका वैद्य कहाँ पुगेर पिताजीले बिहानी पख दुई शिशी रातो झोल ल्याएर खुवाउन थालेपछि ( २०२५) सालमा काल दाजुले चटक्क छाडी जानु भएको रे ।

स्मरणमा बाल्यकाल कसरी बित्यो ?

मेरा सात फूपूको भदा र दुई पिता, काकाको साहिलो छोरो साह्रैँ चकचके र जिद्दी स्वभावको थिएँ । २०२७ सालको पुष, माघको महिना हुनुपर्दछ, मौसम साह्रै चिसो । माइती आएकी चेली पनि कामकाजमा जोडतोडले सहभागी हुने चलन रहेछ क्यार ! घरमा कोही नभएर हो वा अन्य कुनै कारणले हो ? घाँस काट्न गएकी र रुखमा चढेकी फूपूका पछि लागेर ५-६ वर्षको फुच्चे रुँदै रुँदै त्यँही पुगेछु । आजका बालबालिकाको जीवन सम्झिँदा उतिबेला हामी कसरी हुर्कियौँ होला ? भन्ने मात्र स्मरण हुन्छ । यसरी ठूलो परिवारमा खेल्दै, नाच्दै जीवनको बाल्यकाल बिताउने मौका पाएँ ।

चकचके हुँदाकाे समयकाे भुल्नै नसकिने कुनै घटना याद छ ?

किन नहुनु नि ? चकचके भदा रुँदै घाँस काटिरहेको रुख मुनि पुगेर रोइरहँदा, फूपू हकारेर बाबु टाढा जा भनी फकाउने तर मचाहिँ नमान्ने । फूपू आफै रुखबाट झर्ने तरखर गर्दै हुनुहुन्थ्यो क्यार, अचानक हँसियाको बीड फुत्किएर मेरो टाउकोमा हँसियाको पारो गड्यो । त्यसपछि के के भयो ? कसरी फूपू रुखबाट झर्नु भो, मेरो उद्धार कसरी गर्नु भो ? मैले कुनै चाल पाइनँ । मलाई होस आउँदा घ्यूमा मरिचको धूलो मिसाएर तातो तातो पारी टाउँकोमा खन्याएर उपचार हुँदै थियो । भाग्य भनौँ त्यही घ्यूको महिनौँको उपचार भनौँ वा काल दाजुको सदासयता कुनै अपाङ्ग नभएर, नसा वा मानसिक समस्याबाट मुक्त भई सकुशल बाँचियो । मलाई लग्छ, बाल्यकालको सबैभन्दा कहाली लाग्ने क्षण त्यही हो ।

बाल्यकालीन पारिवारिक अवस्था बित्यो ?

मेरो तथा समकालीन समाजको बाल्यकालीन समय तथा अवस्था विचित्रको थियो । हजुर आमा र आमा दुवै एकै समयमा सुत्केरी हुने प्रतिस्पर्धाको चलन थियो । ठूला सन्तानले साना भाइ, बहिनी स्याहार्ने र सुत्केरीहरुको रेखदेख गर्ने बाध्यता हुन्थ्यो । फूपू र काकाहरु तथा भदा भदैहरुको समवय र दौँतरी त्यतिबेलाको विशेषता नै थियो । गुल्मीको पहाडी जीवन हुनाले गोठालागिरी, खरबारीमा अधिक समय बित्दथ्यो ।

बाल्यकालीन समयमा खेल तथा मनोरञ्जनको सुविधाहरु कस्तो हुन्थे ?

खेलका साधन र मनोरञ्जनका आधार केही पनि उपलब्ध थिएनन् । डण्डी बियो, कपड्डी, एक खुट्टा उचालेर कोठा कोठामा राज्य हान्ने खेल, ढुङ्गा थुपारेर ढलाउने खेल, ढुङ्गामा कपेर गोटी चाल्ने (चेस) जस्ता खेलहरु गोठालागिरी गर्दैँ खेलिन्थ्यो । खेलका नियमका बारेमा कुनै शिक्षण, प्रशिक्षण थिएन, ठूलाले खेलेको हेरेर पुस्तान्तरण हुन्थ्यो । हाम्रा फूपूहरुकाे हातमा ससाना ढुङ्गा लिएर कसले नदी तार्ने ? कसले खोल्सी तार्ने ? कसले टाढा पुराउने, पारी तार्ने जस्ता अघोषित प्रतिस्पर्धा चलिरहन्थ्यो ।

खेल खेल्दा कुनै घटनामा परेको सभ्झना छ ?

किन नहुनु नि ? एउटा नमिठो घटना सम्झिरहन्छु । २०३१ साल असार महिनामा हुनुपर्दछ, मेरी ठूली कान्छी फूपू ( पछि विवाह भई भारतको आसाममा पुग्ने) ले प्रतिस्पर्धामा ढुङ्गा हिर्काउनु र म दौडेर त्यही बाटोमा आउनु एकसाथ परेछ । ढुङ्गा मेरो टाउकोमा बजारियो । लडेर खरबारीमा पाँच सात पटक पल्टावारी खाँदैँ १५÷ २० मिटर जति तल खसेँ । सबै उपस्थितहरु बीचमा रुवावासी चल्यो, अड्डिएको स्थानबाट उद्धार गरी घर पुराइएछ, घरेलु उपचार, तातो घ्यू र मरिजको प्रयोगले तन्दुरुस्त पारियो । त्यतिबेला पनि काल दाजुले मलाई छाडिदिए । यतिबेला चाहिँ टाउकाका ठूला ठूला चोटका खतलाई नेपाली टोपीले ढकनीको काम गरिरहन्छ ।

त्याे बेलाकाे अवश्था सुकिलाेमुकिलाे थियाे वा कस्तो रह्यो ?

तत्कालीन समाज र आर्थिक हैसियतमा अरुलाई हेर्दा हाम्रो घर हुनेखाने र सम्पन्न नै थियो । तर घर छाडेर भाग्नेसंग आर्थिक र सामाजिक हैसित जाँदो रहेनछ । एक्लो शरीर मात्र हुँदोरहेछ । त्यसैले २०३३ साल असौज अन्तिमदेखि २०३४ चैत्रसम्म ( भारतीय रेलवे स्टेशन छितौनीमा म्यानेजर सिंहथरका कुनै भगवान तुल्य महामानवको माया, ममता र आदर्शपनको संरक्षणमा २०३३ कार्तिक–जेष्ठ २०३४ भारतीय भूमिको आसाम बस्दै आएका स्वर्गीय फूपाजु भीमलाल ज्ञवाली र फुपू दिदी राधिका ज्ञवालीको संरक्षणमा २०३४ श्रावणदेखि २०३४ चैत्रसम्म) का बीचमा २०३३ असौज शुरुको एक महिना तथा २०३४ असार बीचको एक महिना गरी झण्डै दुई महिना जुन किसिमको नारकीय, पशुत्व र सडक बालबालिका जस्तो जीवन भोगियो । त्यो बखत पनि कालदेवताले कहिल्यै आक्रमण गर्नु भएन, छुनु भएन र सकुशल जीवन बाँचिरहने काल दाजीले दिनुभयो । यसरी बाल्यकालीन जीवन साधारण अवस्थामा सुविधै सुविधा, सहृदयीको संरक्षकत्वमा सुरक्षित तथा आफ्नो बालपन र जिद्दीपनमा भाग्दाचाहिँ आरोह अवरोह र सबै खालको अनुभव संगाल्दै बित्यो ।

कुनै अप्रिय लागिरहने घटना त भएन ?

२०३५ साल श्रावणदेखि २०४१ को जेष्ठसम्म मेरो पठनपाठन भारतको दिल्लीमा संस्कृत महाविद्यालयमा भयो । साँच्चैँ चञ्चलता र अस्थीरताको कुरा गर्दा म जति चकचके पृथ्वीमा अरु को पो होला र ? २०३५ फाल्गुणमा हुनुपर्दछ । बाल्यकालको चञ्चलताले दिल्लीको बकौलीस्थित गुरुकूलमा करेन्ट लागेर फ्याँ फ्याँ परेको बेला आश्रमका स्वामीजीको दृष्टि र ईश्वरकाे अनुकम्पाले आश्रमकै मेन स्वीच अफ गरेर प्राण बाँच्याे ।

अर्काे २०३६ साल श्रावणको महिना हुनु पर्दछ, मध्य दिल्लीको एक सन्यास आश्रममा बिजुलीको करेन्ट लागेर फ्याँ फ्याँ परेका साथीलाई बचाउन उनको खुट्टा तान्दा आफै झण्डै सिद्धिएको । आश्रमका स्वामी सन्यासीज्यूले थाहा पाएर मेन स्वीच बन्द गरी दुवैको प्राण पखेरु फिर्ता आएको थियो । यी दुवै घटनापछि झण्डै दुई दुई हप्ता आराम गर्नु परेको थियो । यी दुवै घटनाबाट बचाउन कालदाजुले कृपा गरेकै हुन् ।