मेलम्ची र इन्द्रावतीमा अस्थायी पुल, गुड्न थाले गाडी

-



     सफल आवाज    
     असाेज १४ गते २०७९ मा प्रकाशित



सिन्धुपाल्चोक, १४ असोज । मेलम्ची र इन्द्रावती नदीको दुई ठाउँमा अस्थायी पुलको व्यवस्था गरिएको छ । गत वर्षको बाढीले पक्की पुल बगाएपछि स्थानीयलाई आवतजावतमा कठिनाई हुँदै आएको थियो ।

गत वर्षको असारमा मेलम्ची र इन्द्रावती खोलामा आएको बाढीले यी दुई स्थानका लगायत सात ओटा पक्की पुल र ११ वटा झोलुङ्गे पुल बगाएको थियो । अहिले नगरपालिकाले मेलम्ची र इन्द्रावती नदीमा ह्युमपाइप राखेर अस्थायी रुपमा यातायात आवतजावत गर्नसक्ने बनाएको हो । नगरपालिकाले बिहीबार इन्द्रावती नदीमा ह्युमपाइप राख्ने काम सम्पन्न गरेको हो ।

आज बिहानैदेखि यहाँ यातायातका साधन सञ्चालनमा आएका बताइएको छ । नगरपालिकाले वडा नं ११ फट्टे मेलम्ची नदीमा एक हप्ताअघि नै ह्युमपाइप राखेर यातायात सञ्चालन गरिसकेको इञ्जीनियर राजु दंगालले जानकारी दिए।

अस्थायी पुल बनेपछि दुवाचौरका व्यापारी जितु भारतीले अब सहजै सामान मेलम्चीबाट ल्याएर बेच्न सकिने भन्दै खुसी व्यक्त गरे । त्यस्तै सामान ढुवानी गर्ने सवारी चालक रमेश श्रेष्ठले गाडी चलाएर कमाइ गरी किस्ता तिर्न सहज हुने विश्वास व्यक्त गरे ।

यसअघि बाढी आएपछि ह्युमपाइप निकालिएको थियो । चाडपर्व नजिकिएसँगै यातायातका साधन सहज आवातजावातका लागि ह्युमपाइप राखिएको नगरप्रमुख आइतमान तामाङले बताए ।

ह्युमपाइप राखेपछि मेलम्ची, पाँचपोखरी थाङपाल, इन्द्रावती र हेलम्बु गाउँपालिकाका नागरिकको यात्रा सहज भएको छ । मेलम्ची बजार आउनका लागि पहिले इन्द्रावती पुल र फट्टेको पुल हुँदै झण्डै १५ मिनेटमा पुग्नेमा घण्टौँ समय लाग्ने गर्दा सास्ती भएको थियो।

अस्थायी पुल राखेपछि मेलम्ची बजारमा व्यापार बढ्ने व्यवसायी एवं उद्योग वाणिज्य सङ्घ मेलम्चीका अध्यक्ष पुस्कर धितालले बताए । हेलम्बु, मेलम्ची र पाँचपोखरीको गरी पाँच सय ५१ घर बाढीले बगाएको थियो भने पाँच हजार चार सय रोपनी खेतीयोग्य जमिन बगर बनेको थियो। बाढीबाट २६ जनाको मृत्यु भएको थियो ।