चिनियाँ ‘क्याब्रियो’ कार ७२ घन्टामा १ लाख थान बुकिङ

-



     सफल आवाज    
     असाेज २३ गते २०७९ मा प्रकाशित



काठमाडौं, २३ असोज । चिनियाँ कम्पनी वुलिङले चिनियाँ बजारमा सार्वजनिक गरेको एउटा विद्युतीय कार ७२ घण्टामा १ लाख थान बुकिङ भएको छ । यो उक्त कम्पनीको सबैभन्दा सानो कन्भर्टिबल विद्युतीय कार हो जसको बुकिङको आँकडाले विश्वलाई अचम्मित बनाएको छ ।

चिनियाँ ब्राण्ड एसएआईसी र वुलिङ तथा अमेरिकी कम्पनी जनरल मोटर्सको संयुक्त लगानीमा स्थापना भएको वुलिङ कम्पनीले यो कार सन् २०२१ को शांघाई अटो शोमा पहिलो पटक प्रदर्शन गरेको थियो । हाल कम्पनीले ‘क्याब्रियो’ कन्भर्टिबल मिनी कार चीनमा १४ हजार डलर तोकेर बिक्री सुरु गरेको हो । यो संसारकै सबैभन्दा सस्तो र सानो कन्भर्टिबल विद्युतीय कार भएको कम्पनीको दावी छ ।

वुलिङ मिनीसँग मिल्दो जुल्दो क्याब्रियो कन्भर्टिबल कारमा नयाँ डिजाइनको डे टाइम रनिङ लाइट, सिटको पछाडि दिइएको रोलबार, ढोकाको तल्लो भाग आवश्यकता अनुसार राख्न र झिक्न मिल्ने बनाइएको छ ।

यसमा २६.५ किलोवाट आवर क्षमताको एलएफपी ब्याट्री दिइएको कम्पनीले जनाएको छ । यो ब्याट्री ग्वान्जाओ ग्रेट पावर इनर्जी एण्ड टेक्नोलोजी कम्पनीले उत्पादन गरेको हो । उक्त ब्याट्रीले सिंगल चार्जमा २८० किलोमिटर रेन्ज दिने सिएलटीसी परीक्षणले प्रमाणित गरेको छ ।

वुलिङको दावी अनुसार यसमा हाइ स्ट्रेन्थ स्टीलको प्रयोग गरिएको छ । साथै, सुरक्षाको लागि दुई एयरब्याग, अटोमेटिक लकिङ, एबीएस, इबीडी जस्ता फिचर उपलब्ध रहेका छन् ।