ईभी कम्पनीहरु कम मूल्य र धेरै रेन्ज दिने सलिड स्टेट ब्याट्रीतर्फ आकर्षित

-



     सफल आवाज    
     कार्तिक ७ गते २०७९ मा प्रकाशित



काठमाडौं, ७ कात्तिक । कम मूल्यमा बढी रेन्ज दिने सलिड स्टेट ब्याट्री निर्माण गरिएको छ । विद्युतीय कारको माग बढेसँगै विश्वभर ईभी उत्पादनमा प्रयोग हुने ब्याट्रीको नयाँ नयाँ खोज भइरहेकामा हाल यस प्रकारको ब्याट्रीको निर्माण भएको हो ।

लिथियम आयन ब्याट्रीभन्दा छोटो समयमा चार्ज हुने, रेन्ज धेरै पाउन सकिने र आगलागी हुने समस्या करिब शून्य प्रतिशतमा झर्ने भएकाले ठूला अटोमोबाइल कम्पनीहरु सलिड स्टेट प्रविधिप्रति आकर्षित हुँदै गएका छन् ।

हालै जर्मन कार निर्माता कम्पनी मर्सिडिज बेन्ज र ताइवानी ब्याट्री उत्पादक प्रोलोजियमबीच सलिड स्टेट ब्याट्रीको अनुसन्धान र विकासका लागि सम्झौँता भएको छ । यसले विद्युतीय कार प्रविधिमा नयाँ हलचल ल्याउने अपेक्षा गरिएको छ ।

प्रोलोजियमले बनाउने शतप्रतिशत सिलिकन अक्साइड एनोड सलिड स्टेट ब्याट्रीमा ऊर्जा घनत्व प्रतिकेजी २९५ देखि ३३० वाट आवर हुने बताइएको छ । अहिलेसम्म टेस्लाले बनाएको ४६८० मोडलको ब्याट्रीमा मात्र ३०० प्रतिकेजी वाट आवर ऊर्जा घनत्व रहेको छ ।

विश्वकै ठूलो ब्याट्री उत्पादक सिएटीएलले बनाउँदै गरेको एमथ्रीपी फस्फेट प्याकमा प्रतिकेजी १६० वाट ऊर्जा घनत्व रहेको छ । यो टेक्नलोजीको ब्याट्रीमा महंगो लिथियमको सट्टा सिकनको प्रयोग हुने भएकोले धेरै सस्तो हुने आकलन गरिएको छ ।

प्रोलोजियमले पेरिस अटो शोमा प्रदर्शन गरेको सलिड स्टेट ब्याट्रीको सन् २०२३ को सुरुवातबाट परीक्षण हुने बताइएको छ । कम्पनीका अनुसार सलिड स्टेट ब्याट्रीले लिथियम आयन ब्याट्रीको दाँजोमा ७९ प्रतिशतसम्म बढी रेन्ज दिनेछ ।

नयाँ प्रविधिको यो ब्याट्री प्रयोग भएको कारले एक पटकको फुलचार्जमा १ हजार किलोमिटरसम्मको रेन्ज प्रदान गर्ने दावी गरिएको छ । यो ब्याट्रीलाई फास्ट चार्जरबाट चार्ज गर्दा जम्मा १२ मिनेटमा शून्यबाट ८० प्रतिशतसम्मको चार्ज गर्न सकिने बताइएको छ ।