टोयोटाले ल्यायो दोस्रो विद्युतीय कार, सिधा प्रतिस्पर्धी टेस्ला

-



     सफल आवाज    
     कार्तिक १३ गते २०७९ मा प्रकाशित



काठमाडौं, १३ कात्तिक । टोयोटाले आफ्नो दोस्रो विद्युतीय कार बीजेड ३ सार्वजनिक गरेको छ । हालै चिनियाँ बजारमा सार्वजनिक भएको यो मोडलमा चिनियाँ कम्पनी बीवाईडीको ब्लेड ब्याट्री राखिएको छ ।

बीवाईडी र टोयोटाबीच संयुक्त लगानीमा नयाँ मोडल उत्पादन गर्ने सहमति अनुरुप टोयोटाको यो मोडलमा बीवाईडीको ब्लेड ब्याट्री प्रयोग गरिएको हो । टोयोटाको बीजेड ३ सेडान कार रहेको र यसको सिधा प्रतिस्पर्धा टेस्ला मोडल ३ सँग हुने कम्पनीको भनाइ छ । टोयोटा बीजेड ३ को लम्बाई टेस्ला मोडल ३ भन्दा अलि बढी रहेको छ ।

टोयोटाले यसअघि पहिलो मोडलका रुपमा बीजेड४एक्स बजारमा ल्याएको थियो । उक्त गाडीमा बीवाईडीको ब्याट्री प्रयोग गरिएको थिएन । तर हाल आएको टोयोटाको इटिएनजीए प्लेटफर्ममा बनेको बीजेड ३ मा बीवाइडीको ब्लेड लिथियम आइरन फस्फेट ब्याट्री प्रयोग गरिएको छ ।

टोयोटाको दावी सही निस्किएमा यो ब्याट्री १० वर्षपछि पनि ९० प्रतिशत क्षमता दिन सक्षम हुनेछ । टोयोटाले ब्लेड लिथियम आइरन फस्फेट ब्याट्री राखेर २ फरक क्षमतामा यो गाडी उत्पादन गरेको छ ।

यसको स्ट्याण्डर्ड भेरियन्टमा ५० किलोवाट आवर र लङ रेन्ज मोडलमा ६५ किलोवाट आवर क्षमताको ब्याट्री राखिएको छ । क्षमताका हिसाबले ५० किलोवाट आवरले एक पटक चार्ज गरेपछि ५१७ तथा ६५ किलोवाट आवरले ६१६ किलोमिटर रेन्ज प्रदान गर्ने सिएलटीसीको परीक्षणले पुष्टि गरेको छ ।