३ ओटा विद्युतीय कार खरिद गर्दै आयल निगम

-



     सफल आवाज    
     कार्तिक २० गते २०७९ मा प्रकाशित



काठमाडौं, २० कात्तिक । नेपाल आयल निगमले कार्यालय प्रयोजनका लागि विद्युतीय कार खरिद गर्ने भएको छ । निगम नेपालमा पेट्रोलियम पदार्थको बिक्री वितरण गर्ने एक मात्र संस्था भएकोले निगमले विद्युतीय कार खरिद गर्नुलाई सकारात्मक रुपमा हेरिएको छ ।

निगमले ३ वटा विद्युतीय कार खरिदको लागि टेन्डर आह्वान गरेकोमा सहभागी मध्ये बीवाईडी न्यू इ ६ खरिद गर्ने निर्णय भएको हो । निगमले १ करोड ७२ लाख ५० हजार रुपैयाँमा ३ ओटा बीवाईडी न्यू इ६ कार खरिद गर्ने निर्णय गरेको हो ।

सरकारले विद्युतीय साधनको प्रयोग बढाउँदै पेट्रोलियम पदार्थको आयात घटाउने रणनीति बनाएकाले निगमले पनि सोही अनुरुप निर्णय गरेको हुनसक्ने आकलन गरिएको छ । नेपाल विद्युत प्राधिकरण लगायत विभिन्न संस्थाहरुले यसअघि नै कार्यालय प्रयोजनका लागषि विद्युतीय सवारी साधन किनेर प्रयोगमा ल्याउँदै आएका छन् ।  

निगमले खरिद गर्ने भएको बीवाईडी ई६ नेपालमा उपलब्ध मध्ये सबैभन्दा धेरै रेन्ज दिने विद्युतीय गाडी भएको दावी गरिएको छ । यसमा ७२ किलोवाट आवर क्षमताको बीवाईडी ब्लेड ब्याट्री दिइएको छ जसलाई सिंगल चार्जमा ५२१ किलोमिटर चलाउन सकिन्छ ।