बालबालिकाको स्थितिपत्र सार्वजनिक

-



     सफल आवाज    
     असार २३ गते २०७७ मा प्रकाशित



पोखरा वडा–९ का बालबालिकाको अवस्था समेटिएको पुस्तक बालबालिका स्थितिपत्र विमोचन गरिएको छ ।

बालमैत्री स्थानीय शासन वडा समन्वय समिति वडा ९ ले प्रकाशन गरेको पुस्तकको पोखरा महानगरपालिका प्रमुख मानबहादुर जिसी, उपप्रमुख मञ्जुदेवी गुरुङ र वडा ९ अध्यक्ष रामराज लामिछानेले सोमबार विमोचन गरेका हुन्।

महानगर प्रमुख जिसीले प्रत्येक अभिभावकले आफ्नो घरमा बालमैत्री वातावरण बनाउनु पर्ने बताए । उनले अभिभावकको आनीबानी, आचारणलाई बालबालिकाले पछ्याउने हुँदा बालबालिकासँग राम्रो व्यवहार गर्नुपर्ने बताए।

उपप्रमुख गुरुङले बालबालिका राष्ट्रको भविश्य भएको उल्लेख गर्दै उनीहरुलाई सही तरिकाले लगानी गरेमात्र त्यसको प्रतिफल राम्रो आउने बताइन्।

वडाध्यक्ष लामिछानेले बालबालिकाको स्थितिपत्रले बालबालिकासम्बन्धी नीति, योजना बनाउन सहयोग पुग्ने बताए । पुस्तकमा बालबालिकासम्बन्धी विभिन्न ४३ वटा सूचकांकलाई समावेश गरेर पुस्तक प्रकाशन गरिएको सम्पादक भावना श्रेष्ठले बताइन्।

कार्यक्रममा वडा सदस्य राममाया मानन्धर, वडासचिव लोकदर्शन रेग्मी, वडा ९ बाल क्लबका सचिव सुशन श्रेष्ठले पनि बोलेका थिए।