पोखराको सराङकोट र हेमजामा पहिरोमा परी ४ जनाको मृत्यु, ६ घाइते

-



     सफल आवाज    
     असार २६ गते २०७७ मा प्रकाशित



पोखराको सराङ्कोट र हेमजामा पहिरोमा ४ जनाको मृत्यु भएको छ । अविरल वर्षापछि आएको पहिरोले ६ जना घाइते छन् ।
पोखरा १८, सराङ्कोट गोठादीका टंकबहादुर थापाको घर पहिरोमा पर्दा ३ जनाको मृत्यु भएको हो । सो घटनामा ६ जना घाइते भएका हुन् । घाइतेको उपचारार्थ मणिपाल शिक्षण अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायव उपरीक्षक सुवास हमालले जानकारी दिए । उनका अनुसार पहिरोमा परी ज्यान गुमाएकाहरुको सनाखत हुन बाँकी छ ।

टंकबहादुरको घरमा गएराति बर्थ डे पार्टी थियो । जसमा थप मानिस पनि पहिरोमा परेको आशंका छ । अन्य हराइरहेको आशंकामा प्रहरीले खोजीकार्य जारी राखेको छ । टंकबहादुरको घर माथिको सडक भत्किँदै आएर पहिरोले घर बगाएको हो ।

उता, पोखरा २५, हेमजामा ७० वर्षीया हिमकला अधिकारीको मृत्यु भएको छ । बिहीबार साढे २ बजे घर पछाडिबाट आएको पहिरोले घरको गारो भत्किँदा च्यापिएर अधिकारीको मृत्यु भएको हो ।