स्याङ्जामा पहिरो, ३ घरपरिवार विस्थापित

-



     सफल आवाज    
     असार २८ गते २०७७ मा प्रकाशित



अविरल वर्षापछि स्याङ्जाका विभिन्न ठाउँमा पहिरो गएको छ । पहिरोमा गल्याङ र वालिङमा गरी ३ घरपरिवार विस्थापित भएका छन् । मानवीय क्षति भने टरेको छ ।

गएराति करिब ११ बजे गल्याङ नगरपालिका वडा ७ कर्पुदीकी ६६ वर्षीय तीलमाया थापाको घर पहिरोले भत्किएको हो । ढुंगामाटोले बनेको टिनको छानो भएको २ तले कच्ची घर अविरल वर्षा कारण पूर्व पट्टीको पर्खाल भत्किएको थियो ।

पहिरोले घरका भाँडावर्तन, लत्ताकपडा, अन्न लगायत गरी करिब ५ लाख ७७ हजार बराबरको क्षति भएको प्रहरीको अनुमान छ ।

घरमा बस्दै तीलमायासहित २ जनालाई छिमेकी लोकबहादुर थापाको घरमा स्थानान्तरण गरिएको छ ।

यसैगरी, गएराति २ बजे वालिङकै वडा ७ पैदी बस्ने भोजराज दमैको घर पछाडिबाट बारीको कान्लो भत्कन गई घरमा क्षति पुगेको छ ।

खरको छानो भएकोकाठले बनेको कच्ची गोठ पूर्ण रुपमा भत्किएर करिब ४० हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ । सो पहिरोमा मानवीय क्षति भने टरेको छ ।

उता, वालिङ नगरपालिका वडा २, सिलडाँडाकी ३३ वर्षीया चीत्रमाया दमैको घरमा पनि पहिरोले क्षति पुर्‍याएको छ । शनिबार राति साढे ९ बज चीत्रमायाको घरअगाडि आँगन पहिरो जाँदा चारकोठाको एकतले पक्की घर जोखिममा रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता प्रहरी नायव उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए ।

। घरका ५ जना सदस्यलाई नजिकैको देउराली प्राविमा अस्थायी बसोबासको लागि सारिएको छ ।