चौरजहारी घटना नियोजित घटाइएको निष्कर्ष

-



     सफल आवाज    
     असार ३० गते २०७७ मा प्रकाशित



अन्तरजातीय बिहेको विवादमा ६ जनाका ज्यान जाने गरी गत जेठ १० मा भएको रुकुम पश्चिमको चौरजहारी हत्याकाण्ड नियोजित रुपमा घटाइएको संसदीय छानविन समितिले निष्कर्ष निकालेको छ ।

समितिले आक्रमणको नेतृत्व वडाध्यक्षले गरेको र घटनाको अनुसन्धानमा प्रहरी प्रशासनको अनुसन्धान फितलो देखिएको पनि निष्कर्ष निकालेको छ ।

सो घटनाको छानविन गर्न गत जेठ २६ मा प्रतिनिधि सभा बैठकबाट देवेन्द्र पौडेल नेतृत्वमा नौ सदस्यीय संसदीय विशेष छानबिन समिति गठन गरिएको थियो । समितिले मंगलबार सभामुख अग्नि सापकोटालाई छानबिन प्रतिवेदन बुझाउने जनाएको छ ।

समितिका एक सदस्यका अनुसार सो घटना जातीय भेदभावमा आधारित रहेको र नियोजित रुपमा भएको हो ।

जाजरकोटको भेरी नगरपालिका–४ का नवराज विक आफ्ना साथीहरुसहित चौरजहारी नगरपालिका–८ सोती गाउँकी मल्ल थरकी युवतीलाई बिहे गरेर ल्याउन भनी गएको बखत आक्रमणमा परी नवराजसहित उनका ६ जनाको मृत्यु भएको थियो ।

उनीहरुको शव भेरी नदीमा फेला परेको हो ।