आनबहादुरका २ छोराबुहारी र नातिनी पहिरोमा परेपछि गाउँ नै शोकमा

-



     सफल आवाज    
     असार ३० गते २०७७ मा प्रकाशित



तनहुँको ऋषिङ गाउँपालिका–८ पल्ट्याङ भैँसीकिलीका आनबहादुर थापाको परिवारका ५ जना सदस्य पहिरोमा बिलाएपछि पूरै गाउँ शोकाकूल बनेको छ । जीवनको सबैभन्दा अप्रिय बनेको सो घटनामा आनबहादुरका २ जना छोरा, २ बुहारी र १ नातिनीको सोमबार राति परेको पहिरोले ज्यान हरेर लगेको हो ।

श्रीमतीसँगै नजिकैको छुट्टै घरमा सुतेकी आनबहादुर र श्रीमती ज्योतिमायाको भने ज्यान जोगियो । उनीहरु सुतेको पुरानो घर पहिरोले केही भत्काए पनि उनीहरु घाइते मात्र बने । तर नजिकैको नयाँ घरमा सुतेका छोराबुहारी र नातिनी भोलिपल्ट नउठ्ने गरी सुतेको सुतेयै भए ।

केही दिनदेखि परेको अविरल वर्षाका कारण छिमेकीले घरमा नसुत्न सुझाएका थिए । तर पुर्खादेखिको थातथलो उनलाई छोडी जान मनले मानेन । र, भीषण वर्षाका बाबजुद पनि उनीहरु डरै डरैले सुतेका थिए ।

राति १२ बजेतिर अकस्मात पहिरो झर्दा आनबहादुर र श्रीमतीको ज्यान जोगिए पनि नजिकैको नयाँ घर पूरे भत्किँदा ५ जनाको ज्यान गुमेको ऋषिङ गाउँपालिकाका प्रवक्ता विजय दरैले बताए । दरैले भने, नसोचेको घटना भयो, गाउँ पूरै शोकाकुल छ ।

सोमबार दिनभरजसो प्रहरी, सेना र स्थानीयको लगातार प्रयासपछि पहिरोमा पुरिएका पाँचै जनाको शव बाहिर निकालिएको थियो । घाइते आनबहादुर ज्योतिमायाको पोखरामा उपचार भइरहेको छ ।

उता, व्यास–९ माझफाँटमा पनि पहिरोले पुरिएर एकै परिवारका तीन जनाको निधन भएको छ । केशरबहादुर थापाको घर पहिरोले पुरिँदा उनकी ४० वर्षीया श्रीमती कमला थापा, छोराहरु २४ वर्षीय मनोज र छोरी २१ वर्षीया अन्जना थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए । पहिरोमा अझै २० वर्षीय छोरा राजेश बेपत्ता छन् । उनी विदेश जाने योजना बुनेर बसेपनि पहिरोमा परी इहलिला समाप्त पारे ।

सोमबार रातिकै पहिरोमा परी माझफाँटकी ७० वर्षीया मैतकुमारी घती र म्याग्दे गाउँपालिका–६ बेलौतेडाँडाकी १७ वर्षीया किशोरी लक्ष्मी विकको निधन भएको छ ।

उता, व्यास नगरपालिका–११ ओडारेका पदम चेपाङ पहिरामा बेपत्ता भएका छन् । उनको उद्धारका लागि जिल्ला प्रहरी कार्यालयबाट ६ जनाको टोली खटिएको डीएसपी तिमिल्सिनाले जानकारी दिए।

ऋषिङ गाउँपालिकाले पहिरोमा पुरिएर ज्यान गुमाएकाका परिवारलाई सोमबार १ लाख रुपैयाँ राहत रकम उपलब्ध गराएको छ ।