कास्कीमा भेटियो लोपोन्मुख राजगोमन

-



     सफल आवाज    
     असार ३१ गते २०७७ मा प्रकाशित



विश्वमै दुर्लभ प्रजातिअन्तर्गतको राजगोमन (किङ कोब्रा) कास्कीको घाचोकमा भेटिएको छ । यसलाई काली नाग भनेर समेत चिनिन्छ ।

माछापुच्छे« गाउँपालिका वडा ३, घाचोकको टुटुङ्गास्थित स्वास्थ्यचौकी नजिक देखिएको राजमोगन संरक्षणका लागि सरोकारवाला जुटेका छन् । राजगोमन पुष्टि भएपछि संरक्षणमा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप), सर्प संरक्षण समाज, स्थानीय संरक्षणमा जुटेका हुन् ।

एक्यापका संरक्षण अधिकृत ऋषि बरालले सर्पको गुँड फेला परेपछि सोही स्थानमा संरक्षण गर्न निगरानीका लागि ‘क्यामेरा ट्राप’ राखिएको र वरिपरि तारजाली लगाइएको जानकारी दिए । उनका अनुसार राजगोमनले अण्डा पारेर बच्चा कोरल्ने एकमात्र सर्प प्रजाति हो ।

यहाँ भेटिएको सो सर्प करिब १० फिट लामो छ । यसले ६० दिनदेखि ९० दिनभित्रमा बच्चा कोरल्छ । पतकरबीचमा गुँड सुरक्षा गर्ने र बच्चा कोरल्नु १० दिनअघि सर्पले गुँड छाडेर जाने गर्दछ ।

कास्की जिल्लामा सर्वप्रथम सन् २०१६ मा पहिलोपटक दाङसिङमा कोब्राको गुँड भेटिएको थियो। सन् २०१७ मा धम्पुसफेदी, सन् २०१८ मा पुनः धम्पुसमा भेटिएको थियो। किङकोब्राको मुख्य आहारा नै अन्य प्रजातिका सर्प र मुसा हुन्।

यो सर्प लजालु स्वभावको हुन्छ । अण्डा कोरल्ने समयमा भने बढी आक्रामक हुने भएकोले यसलाई जिस्क्याउन नहुने संरक्षकर्ता बताउँछन् । यो सर्पको लोपोन्मुख प्रजातिअन्तर्गत ‘साइटिस टु’ मा पर्दछ।’